बाँजागाँजासहित मुस्ताङमा मनाईयो विश्व पर्यटन दिवस

मुस्ताङ, ११, असोज ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाईएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोम र लोमान्थाङले अलग अलग रुपमा आयोजना गरी शनिबार (आज) यहाँ विश्व पर्यटन दिवस मनाईएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा मुस्ताङको जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खाँदा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ—३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुहरुलाई बाँजागाजासहित स्वागत गरिएको  एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो ।

एक्याप जोमसोमको आयोजना तथा पुथाङ आमा समुह र जोमसोम महिला समुहको समन्वय र सहकार्यमा पर्यटन दिवस मनाईएको उहाँले बताउँनुभयो । पर्यटन दिवसका अवसरमा ईन्द्रबक्स गणका कलाकारहरुले बाँजागाजासहित हवाई मार्गबाट जोमसोम आईपुगेका पर्यटक यात्रुहरुलाई स्वागत गरिएको संरक्षण सहायक ओलीको भनाई छ । यसैगरी हवाई यात्रुहरुलाई यहाँ स्थित पुथाङ आमा समुह र जोमसोम महिला समुहका पदाधिकारी तथा सदस्यहरु लगायतले खाँदा र फूल अर्पण गरी स्वागत गरेका थिए । 

यहाँ आयोजित पर्यटन दिवसका अवसरमा पर्यटकहरुसंग सम्वाद,मुस्ताङका बारेमा जानकारी गराईएको थियो । यसैगरी एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सीमाना थासाङ—४ घाँसा स्थित एक्याप चेक पोस्टमा सडकमार्गबाट मुस्ताङ भित्रिदै गरेका पर्यटकहरुलाई स्वागत गरिएको थियो । एक्यापका प्रतिनिधि,आमा समुह,जनप्रतिनिधि लगायतले त्यहाँ पर्यटकहरुलाई स्वागत सत्कार गरेको संरक्षण सहायक ओलीको भनाई छ ।

 पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङमा पनि विदेशी पर्यटकहरुलाई स्वागत सत्कार कार्यक्रम आयोजना भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । यहाँ आयोजित कार्यक्रम स्थानीय पर्यटन व्यवसायी ,स्थानीय नागरिक,सुरक्षाकर्मी,जनप्रतिनिधि लगायतले दिवसमा सहकार्य गरेको उहाँले बताउँनुभयो । दिवसका अवसरमा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तब्यहरुका बारेमा जानकारी गराईएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

  जेनजी आन्दोलन प्रभावले विछिप्प बनेका मुस्ताङका पर्यटन व्यवसायीहरुमा यहाँको पर्यटन क्षेत्र पून ः चलायमान हुनेमा आशावादी रहेका छन्  । प्रतिकुल मौसम र जेनजी आन्दोलनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताईरहेको  अवस्थामा शुक्रबारदेखि पोखरा—जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । शनिबार समिट एयरलाईन्सको जहाजले तेस्रो मुलुकका पर्यटकहरु बोकेर तीन वटा उडान भरेको यहाँका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिनुभयो । यहाँ आईपुगेका विदेशी पर्यटकहरुलाई स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाहरुले विमानस्थलमा बाँजागाँजासहित स्वागत गरेको उहाँको भनाई छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले यहाँका पर्यटन व्यवसायीहरुमा आशाको संञ्चार पलाएको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया