नेपाल—चीन उत्तरी कोरलानाकाबाट पहिलो पटक दशैं लक्षित भेडाच्यांग्रा भित्रन थालेका छन् । लोमान्थाङ—४ न्हेचुङ स्थित क्वारेन्टाईन चेक पोस्टका अनुसार कोरलानाकाबाट चार हुल भेडाच्यांग्रा नेपाल भित्रिएको हो ।
गतवर्षको भदौं ३१ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट कानुनी प्रावधान अनुसार तिब्बतबाट भेडाच्यांग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाईन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केशीका अनुसार भदौ ३१ गतेबाट लगातार तीनदिनसम्म कोरलानाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा चार सय १९ वटा भेडाच्यांग्रा नेपाल भित्रिएका हुन् ।
वरिष्ठ पशुचिकित्सक डा. केशीले भदौ ३१ गते च्यांग्रा एक सय ५५, असोज १ गते च्यांग्रा एक सय १८ , भेडा छयालिस र असोज २ गते च्यांग्रा सय वटा कोरलानाकाबाट नेपाल भित्रिएको जानकारी दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधी र स्थानीय ब्यापारीहरुले पशुपालन प्रयोजनार्थ भेडाच्यांग्रा नेपाल भित्र्याएका पशुक्वारेन्टाईन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीको भनाई छ । पोखरा कार्यालय अन्तर्गत पोखरा अन्तराष्ट्रिय विमानस्थल र कोरलानाकामा दुई वटा पशु क्वारेन्टाईन रहेको उहाँले बताउँनुभयो ।
क्वारेन्टाईन ऐन अनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालय अन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाईन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सातदिन अगावै पूर्व जानकारी गराईनु पर्ने प्रावधान रहेको छ । सोही नियम अनुसार लोमान्थाङका जनप्रतिनिधी तथा स्थानीय ब्यापारीहरुले कोरलानाका हुँदै तिब्बतबाट भेडाच्यांग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केशीको भनाई छ ।
कोरलानाकााबट पूर्व जानकारी गरी नेपाल भित्र्याईएका भेडाच्यांग्राहरुको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडाच्यांग्रा ब्यापारीहरुले पशु निरोगिताको प्रमाणपत्र पेश गरेपनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्यांग्राहरुको खोप लगाउन कार्य भएको वरिष्ठ पशु चिकित्सक डा. केशीको भनाई छ ।
चीनबाट नेपाल भित्रिएका भेडाच्यांग्राहरु अहिले लोमान्थाङ स्थित न्याम्डो र छोसेर चरनक्षेत्रमा स्थानीय भेडाच्यांग्रा बथानसंग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायाहरुलाई क्वारेन्टाईन ऐन अनुसार सातदिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुुमगन क्वारेन्टाईन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशुचिकित्सक डा. केशीले उल्लेख गर्नुभयो ।
बर्सेनि दशै—तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा हिमाली भेडाच्यांग्राको माग बढी हुने गर्छ । दशैका लागि मुस्ताङ,डोल्पा,मुगु र जुम्लाबाट भेडा च्यांग्रा बजार पु¥याईने गरिन्छ । मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयहरुले व्यवसायिक रुपमा च्यांग्रा पालन गर्ने गरेका छन् । यसवर्ष कोरलानाकाबाट वैधानिक रुपमा तिब्बतबाट भेडाच्यांग्रा नेपाल भित्रिन थालेपछि दशैका लागि भेडाच्यांग्रा केही सस्तिन सक्ने अपेक्षा गरिएको छ ।
यसैगरी नेपाल—चीन उत्तरी कोरलानाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको उनको नेपाल भित्रिएको पशु क्वारेन्टाईन कार्यालय पोखराका प्रमुख डा. गणेश केशीले जानकारी दिनुभयो । रसुवाको भोटेकोशीमा आएको विकाशकारी बाढीले केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि त्यहाँबाट पाँच कन्साईनमेन्ट भएका भेडाका उन मार्ग परिवर्तन भई कोरलानाकाबाट नेपाल भित्रिएका उहाँको भनाई छ ।
केरुङबाट कन्साईनमेन्ट भई आएका मध्ये दुई कन्साईनमेन्टको भन्सार जाँचपास भईसकेको र बाँकी तीन कन्साईनमेन्टको भन्सार जाँचपासको प्रक्रियामा रहेको वरिष्ठ पशु चिकित्सक डा. केशीले बताउँनुभयो । उहाँका एक कन्साईनमेन्टमा बीस हजार केजी भेडाको उनको रहेको र पाँचै कन्साईनमेन्टको विवरण एक लाख केजी भेडाको उन कोरलानाकाबाट नेपाल भित्रिएको वरिष्ठ पशु चिकित्सक डा. केशीले उल्लेख गर्नुभयो ।
पशु क्वारेन्टाईन कार्यालय पोखरा अन्तर्गतका दुई वटा क्वारेन्टाईन चेक पोस्ट क्वारेन्टाईन चेकपोस्ट (कोरलानाका)मा तीन जनाको स्थायी दरबन्दी छ । त्यहाँ एक जना पशु चिकित्सक कार्यालय प्रमुख (एक),पशु प्राविधिक (एक) र कार्यालय सहयोगी (एक) गरी तीन जनाको दरबन्दी छ । तर,हाल क्वारेन्टाईन चेकपोस्ट (कोरला)मा एक जना मात्रै पशु प्राविधिकलाई व्यवस्थापनमा खटाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली