मार्फा र पृथ्वी यातायात व्यवसायीबीच सहकार्य , आजदेखि सेवा सुरु

मुस्ताङ, १ असोज ।

 मुस्ताङका यातायात व्यवसायी र पृथ्वी राजमार्ग बस कम्पनीका यातायात व्यवसायीबीच सहकार्य भएको छ । मुस्ताङमा यातायात व्यवसायीको रुपमा नयाँ यातायात कम्पनी दर्ता भएसंगै दुई यातायात व्यवसायीबीच नयां ढंगले सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरी सहकार्य गरिएको हो ।

 मुस्ताङमा मार्फा यातायात सेवा कम्पनी दर्ता भई नयाँ सेवा सुरु गरिएपछि पृथ्वी यातायात पनि यसमा जोडिएको मार्फा यातायात सेवा प्रा.लि.का प्रवन्धक सुनदेवी रसाईलीले जानकारी दिनुभयो । मुस्ताङ,पोखरा र काठमान्डौं यात्रा गर्ने सेवाग्राहीका लागि भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गर्न दुबै यातायात कम्पनीले मिलेर आजदेखि सेवा संञ्चालनमा आएको प्रवन्धक रसाईलीको भनाई छ ।

 उहाँका अनुसार मार्फा यातायात कम्पनीबाट मुस्ताङ —काठमान्डौंका लागि ९ वटा र मुस्ताङ —पोखराका लागि ५ वटा सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याईएको छ । यसैगरी सहकार्य गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिको पनि  सुविधाजनक बसहरु रहेको उहाँको भनाई छ । लामो समयदेखि यातायात व्यवसाय सञ्चालन गर्दै आईरहेका व्यक्तिहरुको सहकार्य रहेकाले सेवाग्राहीको यात्रालाई थप विश्वशनीय तुल्याउने अपेक्षा गरिएको छ ।

 मार्फा यातायात सेवा कम्पनीका रुपमा सञ्चालन हुने सेवा अन्तर्गत मुक्तिनाथ—पोखरा बिहान ९ बजे डिलक्स बस छुट्ने र सोही समय पोखराबाट मुक्तिनाथका लागि सुविधा सम्पन्न एसी बस छट्ने छ । यसैगरी जोमसोम—पोखरा बिहान ७ बजे र ११ बजे बस छट्ने छ । सोही समय जोमसोमका लागि बस छुट्ने छन् ।

 यस्तै, मुक्तिनाथ —काठमान्डौ दिउँसो साँढे १ बजे र जोमसोम—काठमान्डौ दिउँसो ३ बजे बस छुट्ने छ । काठमान्डौबाट मुक्तिनाथ दैनिक साँझ ६ बजे बस छट्ने कार्यतालिका रहेको कम्पनीका प्रवन्धक रसाईली बताउँनुभयो ।

 पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनीका प्रवन्धक कृष्णप्रसाद पौडेलले मार्फा यातायात पृथ्वी यातायातबीच सहकार्य भएको बताउँनु भयो । सेवा प्रवाह,व्यवस्थापन र सेवा प्रवाहरुमा देखिने समस्या र चुनौतिहरुको समाधानका लागि मुस्ताङमा मार्फा यातायातले ,पोखरामा मार्फा र पृथ्वी दुबैले र काठमान्डौमा पृथ्वी राजमार्ग यातायातले सहजीकरण गर्ने उहाँको भनाई छ ।

 जोमसोम पुथाङ एयरपोर्टमा भएको सेवा शुभारम्भ कार्यक्रममा दुबै समितिले यातायात व्यवसायका रुपमा मात्रै नभई गुणस्तरीय सेवा प्रवाहमा समेत नयाँ ढंगले सहकार्य भएको बताईएको छ ।


प्रतिक्रिया