गत भदौ २३ गते लोमान्थाङ गाउँपालिका केन्द्र विन्दु भएर गएको पाँच दशमलव ३ म्याग्नेच्युडको भूकम्पबाट प्रभावित विद्यालय तथा स्थानीय घरधुरीलाई मंगलबारदेखि बस्ने पाल वितरण गर्न सुरु गरिएको छ ।जिल्ला प्रशासन कार्यालय र लोमान्थाङ गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकारले प्रभावित विद्यालय तथा लोमान्थाङ गाउँपालिकाका पाँचै वडामा प्राथमिकताका आधारमा सय थान पाल वितरण गरिन लागिएको हो ।
गण्डकी प्रदेश सरकार वन तथा वातावरणमन्त्री नम्डु गुरुङको उपस्थितीमा मंगलबार लोमान्थाङ—२ छोसेरमा अवस्थित दिव्यदीप माध्यमिक विद्यालयलाई चार थान पाल वितरण गरिएको हो । भूकम्प प्रभावितलाई वितरण गरिंदै गरिएको पालमा दशदेखि पन्ध्र जनासम्म सुत्न क्षमता रहेको छ ।
यसैगरी प्रदेश सरकारद्वारा वितरण गरिन लागिएको अन्य ९६ थान पाल लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र पाचै वडाका वडाध्यक्षको रोहबरमा वितरण गर्ने गरी गाउँपालिकालाई हस्तान्तरण भएको हो ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले प्रदेश सरकारबाट प्राप्त पालहरु प्रभावित परिवारको प्राथमिकतामा राखेर वितरण गरिने योजना रहेको बताउँनुभयो । उहाँ अनुसार प्राप्त पालहरु बुधबारदेखि पाँचै वडाहरुमा वितरण हुने जानकारी दिनुभयो । यसअघि भूकम्प प्रभावित विद्यालय र स्थानीय घरधुरीहरुलाई गाउँपालिका संकलन गरेको लगत तथ्यका आधारमा वितरण गरिने कार्यक्रम रहेको छ ।
भूकम्प प्रभावितलाई बस्ने पाल वितरणमा लोमान्थाङ गाउँपालिका, सशस्त्र प्रहरी र प्रदेश सरकारको समन्वयमा वितरण गरिने जनाईएको छ । भूकम्पले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका पाँचै वडाहरुमा करिव ढुंगा र माटोले बनेका सयौ घरहरुमा क्षति पुगेको थियो ।
दिव्यदीप विद्यालयको छात्रावास भवन,शिक्षक आवास भवन र स्टोर भवन मा भूकम्पले क्षति गरी बस्न नमिल्ने भएको थियो । भूकम्पले विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि शिक्षक तथा विद्यार्थी कक्षा कोठा र पालमा बस्ने गरेका थिए । यसैगरी प्रभावित धेरैजसो घरधुरी पनि घर भत्किने डरले घर बाहिर पाल टाँगेर बसेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता