मुस्ताङमा आज झाँकीसहित जलवायु सम्मेलन हुँदै

मुस्ताङमा आज झाँकीसहित ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ हुँदैछ । यसले मुस्ताङको रौनकता थपेको छ  । आयोजक घरपझोङ गाउँपालिकाको निमन्त्रणामा जलवायु सम्मेलनमा भाग लिन सात प्रदेशका ७५३ स्थानीय तह मध्ये ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधी टोली हिजै मुस्ताङ आईसकेकोका  घरपझोङ गाउँपालिकाको जलवायु रौनक गुल्जार बनेको हो ।

 विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु परिवर्तनको असर, प्रभाव ,अनुकुलन,जलवायु भावी कार्ययोजना र जलवायु न्यायका लागि हिमाल,पहाड र तराईका स्थानीय तहले भोग्नु परेका समस्या र चुनौतिहरु एकै मञ्चमा उभिएर अभिव्यक्त गर्न स्थानीय तहका जनप्रतिनिधी टोलीहरु मुस्ताङ आईपुगेका हुन् । सोमबार साँझसम्म सातै प्रदेशका  महानगर,उपमहानगर,नगर र गाउँपालिकाका जनप्रतिनिधि टोली गरी दुई हजार बढी अतिथिहरु सम्मेलन हुने गाउँपालिकामा आएका  प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा आएका स्थानीय तहका अतिथि जनप्रतिनिधीहरुका लागि घरपझोङ गाउँपालिकाका सय भन्दा बढी होटलहरुमा व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउँनुभयो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजना हुने ऐतिहाँसिक घरपझोङ जलवायु सम्मेलनको सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सम्मेलन व्यवस्थापनका लागि पालिका अन्तर्गतका पाँचै वडाहरुका गाउँसमाज,आमा समुह,युवाक्लव र अन्य संघसस्थाहरुलाई व्यवस्थापनका लागि कार्यविभाजन गरिसकिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो । उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिहरुका लागि बिहानको ब्रेक फास्ट,खाना र दिउँसोको खाजा सम्मेलन स्थलमा आमा समुहको टोलीले व्यवस्थापन गर्नेछन् । बेलुकीको खाना र बस्न गाउँपालिकाले तोकेको वडाहरुको होटलमा व्यवस्था मिलाई सकिएको उपाध्यक्ष थकालीले बताउँनुभयो ।

 जलवायु सम्मेलन २०८३ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न घरपझोङ गाउँपालिकाका पाँचै वडाहरुको सडक वस्तीसम्म लुङ्ता (ध्वजा) झुन्डाएर सजिसजाउ गरिएको छ ।  गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा  सडक बत्ती जडान गरी भिलिमिली पारिएको छ । सम्मेलन स्थल नजिक केही स्थानमा जलवायु सम्मेलनमा अतिथिहरुलाई हार्दिक स्वागत लेखिएका स्वागत गेटहरु निर्माण गरिसकिएको जनाईएको छ ।

सम्मेलनमा आगन्तुक अतिथिहरुको स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मी स्वंयसेवकहरु परिचालन गरिएको छ । खानेपानी र ईन्टरनेट, विद्युत सेवालाई समस्या नहुने गरी पूर्व तयारी थालिएको छ । यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ । जोमसोम कभर्ड हलमा हुने सम्मलनमा स्टेज ,साउण्ड सिस्टम,ब्यानार सजावट र सम्मेलन स्थललाई सजिसजाउ गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास संज्यालले जानकारी दिनुभयो । सम्मेलन स्थल भित्र २८ फिट उचाईको जलवायु परिवर्तनको असर सम्वन्धी जनचेतना झल्काउने पृथ्वी रोईरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । सूचना अधिकारी संज्यालले सम्मेलनमा भाग लिने स्थानीय तहका जनप्र्रतिनिधीहरुका लागि कभर्ड हलको ग्राउण्ड फ्लोर र चारैतिरको पाँच लियरको प्याराफिटमा राखेर सहभागी गराईने छ ।

 यसैगरी जलवायु सम्मेलन स्थलको भित्र र बाहिर कार्यक्रमको श्रव्य दृष्य  प्रत्यक्ष प्रशारण हेर्न एलईडी टिभी समेत जडान गरिएको सूचना अधिकारी संज्यालले बताउँनुभयो । मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार तथा मुस्ताङका अर्गानिक उत्पादनको प्रवद्र्धन गर्न पचास भन्दा बढी स्टलहरु राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो ।

 सम्मेलन नजिकिएसंगै घरपझोङ गाउँपालिकाको जोमसोम आसपास क्षेत्रमा सम्मेलनमा सहभागी हुन आउनेहरुरुको ब्यापक चहल पहल बढेको छ । सम्मेलनको संघीय वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा समुद्घाटन हुँनेछ । दुईदिन सम्म चल्ने जलवायु सम्मेलनले जलवायु परिवर्तनको असर सम्वन्धी जलवायु घोषणा पत्र जारी गर्नेछ ।

प्रतिक्रिया