मुस्ताङमा मनोनयन दाखिला गरेका सबैको उम्मेदवारी कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ८ राजनीतिक पार्टीको उम्मेवार कायम भएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्म्ेदवार मनोयन फिर्ता गर्ने समयावधिसम्म यहाँ उम्मेदवार हुन मनोनयपत्र दाखिला गरेका व्यक्तिहरुले आफ्नो उम्मेदवारी कायमै राखेकाले ८ राजनीतिक पार्टीको निर्वाचन प्रतिस्पर्धा पक्का भएको हो ।

निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ता,दाबी बिरोध र नाम फिर्ता लिने पाउँने लगायतका कार्यतालिका सार्वजनिक गरेको थियो ।

 सोही कार्यतालिका अनुसार माघ ९ गते (आज) दिउँसो १ बजेसम्म प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुन मनोनयपत्र दाखिला फिर्ता लिन पाउँने व्यवस्था गरिएकोमा मुस्ताङमा उम्मेदवार हुन मनोनयपत्र दाखिला गरेका कुनै पनि राजनीतिक पार्टीका उम्मेदवारले नाम फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो ।

यहा मुख्य निर्वाचन अधिकृतको कार्यालय उम्मेदवार हुन मनोनयपत्र दाखिला गरेका राजनीतिक पार्टीका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकेको जनाएको छ । मुस्ताङमा नेकपा(एमाले),नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र मंगोल नेशनल अर्गानाईजेसन पार्टी प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन प्रतिस्पर्धा हुँनेछ ।

मुस्ताङमा एमालेबाट ईन्द्रधारा ढाडु बिष्ट, नेपाली काँग्रेसबाट योगेश गौचन थकाली, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट ङुटुक गुरुङ टाईगर,रास्वपाबाट अधितीय चन्द्र थकाली, राप्रपाबाट कमला लालचन,उज्यालो नेपालबाट डा. सुरेन्द्र शेरचन, आम जनता पार्टीबाट अजय बि.क. र मंगोल नेशनल अर्गानाईजेसनबाट यम बहादुर गुरुङले उम्मेदवार मनोनयपत्र दर्ता गराएका हुन् ।

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचन अधिकारी ज्ञवालीका अनुसार मुस्ताङमा एघार हजार ३२८ जना मतदाता रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया