जोमसोममा लोपोन्मुख पानी घट्ट स्तरोन्नति

यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोममा वर्षौवर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पानी घट्टको मर्मत÷सम्भार तथा स्तरोन्नति गरिएको छ । यहाँका महिलाहरुको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको सरक्षण गरी जलवायु समानुकुलित गराउने उद्देश्यले यहाँका जीर्ण अवस्थामा रहेको पानी घट्ट र भौतिक संरचनाहरु पूननिर्माण गरिएको हो ।

क्यानेडाली सरकार (सीएफएलआइ)को आर्थिक सहयोगमा अन्तराष्ट्रिय प्रकृति सरक्षण कोष नेपाल(आईसीयुएन)ले यहाँ स्थित पानी घट्टको मर्मत÷सम्भार तथा स्तरोन्नति योजना कार्यान्वयनमा ल्याएको हो । यसका कार्यका लागि घरपझोङ गाउँपालिका,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समुहको समन्वय र सहकार्यमा स्थानीय महिलाहरुको उपभोक्ता समुहले परम्परागत प्रयोगविहीन पानी घट्टको मर्मत÷सम्भार तथा स्तरोन्नति गरेको अन्तराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका  कार्यक्रम निर्देशक  युवराज गुरागाईले जानकारी दिनुभयो । निर्देशक गुरागाईका अनुसार जोमसोम अवस्थित प्रयोगविहीन अवस्थाको जीर्ण पानी घट्टको मर्मत÷सम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने गरी नौ लाख ३४ हजार लागतमा निर्माण सम्पन्न भएको बताउँनुभयो ।

सदिैंया वर्ष पहिले यहाँका अग्रज पुर्खाहरुले निर्माण गरेको परम्परागत पानी घट्ट यहाँको प्राचिन संस्कृति र ऐतिहाँसिक धरोहर भएकाले यसप्रकारको प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नु पर्ने जोमसोम महिला समुहकी अध्यक्ष भुवन शेरचनले उल्लेख गर्नुभयो । पछिल्लो आधुनिक प्रविधि युगमा मानिसहरु छिटो छरितो रुपमा काम गर्न चाहने भएपनि यहाँको पानी घट्टको आफ्नै फरक प्रकारको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताउँनुभयो ।

समुहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठुलो नभई संरक्षण र सम्वद्धनको पाटो महत्वपूर्ण भएकाले पानी घट्टको ईतिहाँसलाई जिवित राख्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

 वर्षौवर्षदेखि अलपत्र र प्रयोगविहीन अवस्थामा रहेको पानी घट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिव २०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले बताउँनुभयो ।

कुनै बेला यहाँ बिद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरुले यहाँका पानी घट्टमा अन्नबाली पिसेर खाने गरेको उपभोक्ता समितिकी अध्यक्ष प्रमिला थकालीले बताउँनुभयो । यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानी घट्टको पुरानो भौतिक सरचनाको पुननिर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र परम्परागत पानी घट्टको लागि चाहिने आवश्यक उपरकण लगायतको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

आधुनिक प्रविधिको प्रयोगमा भन्दा पानी घट्टमा पिसेको खानेकुरा स्वादिलो,पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ । पानी घट्टको मर्मत तथा स्तरोन्नतिसंगै यहाँका नागरिकहरुले उवा,जौ,फापर,मकै,गहु र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथानेबाली पिसेर पिठो बनाउन प्रचलन रहेको छ ।

पछिल्लो समय प्रविधिको विकाससंगै यहाँका परम्परागत पानी घट्टहरु लोपोन्मुख अवस्थामा रहेको एक्याव जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।  मुस्ताङका अधिकाँश स्थानमा पानी घट्ट संस्कृति हराउँदै गईरहेको अवस्थामा एक्याप लगायतका संघसंस्थाहरुले यसप्रकारका पानी घट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्तको भनाई छ । यसप्रकारको पानी घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वाश गरिएको छ ।


प्रतिक्रिया