मुस्ताङ,४,असोज ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल—चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तु वापत मुस्ताङ भन्सार कार्यालयले बिस दिनमै दुई अर्ब ५४ करोड ९३ लाख राजश्व संकलन गर्न सफल भएको छ । यो गतवर्षको अनुपातका एक तिहाई राजश्व मुस्ताङ भन्सार कार्यालयमा संकलन भएको हो ।
रसुवाको भोटेकोशी बाढीपछि अधिकाँश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी(इभी) गाडी र कन्टेनरहरु रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् । कोरलानाका स्थित लोमान्थाङ—४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका पाँच सय ६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिनुभयो । केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिले सम्मकै छोटो समयमा धेरै राजश्व संकलन भएको भन्सार प्रमुख चुडालको भनाई छ ।
नेपाल—चीनतर्फका प्रमुख ब्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ ।
रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गतेअघि चालु वर्षको साउन र भदौ नौ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख रुपैया मात्रै राजश्व संकलन भएको थियो । यस अवधिको चालिस दिनमा कोरलानाकाबाट भित्रिएका एक सय ६३ वटा विद्युतीय सवारी(इभी) गाडी र एक सय ३३ वटा मालवस्तु कन्टेनरहरुको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी तीन अर्ब ७ करोड ९३ लाख रुपैया राजश्व संकलन भएको छ । प्रमुख चुडालका अनुसार पहिलो साउन महिनामा छब्बिस करोड ३९ लाख मात्रै राजश्व मुस्ताङ भन्सार कार्यालयमा संकलन भएकोमा दोस्रो भदौ महिनामा दुई अर्ब ८१ करोड ५४ लाख रुपैया राजश्व संकलन भएको हो ।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी(इभी) गाडी (लिजी—न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा सत्र करोड ३४ लाख राजश्व संकलन भएको थियो । यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारी साधन(ईभी) गाडी नेपाल भित्रिदा एक अर्ब ९३ करोड ९७ लाख रुपैया राजश्व संकलन भएको भन्सार प्रमुख चुडालले बताउँनुभयो ।
यस्तै चालुवर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनरहरु कोरलानाका हुँदै नेपाल भित्रिएका थिए । मुस्ताङ भन्सार कार्यालय गत आव २०८२÷०८३ को बाह्र महिनामा ६ अर्ब ९२ करोड रुपैया राजश्व संकलन भएको थियो । त्यसवर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारी साधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली