जोमसोमको अधकल्चो कभर्ड हल, जलवायु सम्मेलन रहरकी बाध्यता ?

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित निर्माणधीन अधकल्चो बहुउद्देश्य कभर्ड हल पूर्वाधारमा भदौ ३० र ३१ गते  स्थानीय तहहरुको सहभागीमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ सकियो । जलवायु परिवर्तनले स्थानीय तह र समुदायमा पारेको असर÷प्रभाव, जलवायु अनुकुलन,विपद पूर्व सूचना प्रविधी तथा जलवायु कार्ययोजना लगायतका एजेन्डामा देशका ७५३ स्थानीय तह मध्ये ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिले यहाँको सोही अधकल्चो र अलपत्र परेको कभर्ड हलमा बसेर छलफल तथा बहस पैरवी गरे ।

  व्यवस्थापन सहज बनाउन घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलन स्थल सोही जोमसोम स्थित कभर्ड हललाई छनौट गरेको थियो । सम्मेलनका माध्यमबाट लामो समयदेखि अलपत्र र अधकल्चो बनेको कभर्डको अवस्था देखाएर गाउँपालिकाले सरकारको ध्यानाकर्ष गर्न चाहेको थियो । 

तर, यतिठुलो सम्मेलनको आयोजना सम्पन्न हुँदा तीन वर्षदेखि अधकल्चो बहुउद्देश्यीय कभर्डहलको अलपत्र अवस्था देखाएर कभर्ड हललाई छिटोछिरितो सम्पन्न गर्नुपर्ने एउँटा माध्यम बनाईएको थियो । घरपझोङ गाउँपालिकाका अनुसार उक्त कभर्डहलको भौतिक प्रगति ५० प्रतिशत मात्रै छ ।

 जलवायु सम्मेलन गरिएको बहुउद्देश्यीय कभर्डहलको लागत ६ करोड ५८ लाख छ । संघ÷प्रदेश र स्थानीय तहको संयुक्त लागत साझेदारी निर्माणधीन जोमसोम कभर्डहलमा आउने सम्मेलनमा सहभागी अतिथिहरुलाई सोही अधकल्चो कभर्डहलको भौतिक दृष्यले पक्कै चिसो र खिन्नता समेत प्रकट गरे ।

 आव २०७६/०७७ सालमा निर्माण सुरु गरिएको कभर्ड हल एक स्थानीय तह एक खेलग्राम योजना सुरु गरिएको थियो । सुविधा सम्पन्न कभर्डहल पूर्वाधार निर्माण संघ,प्रदेश र स्थानीय तहको टुक्रे बजेटका कारण हालसम्म अधुरै अवस्थामा निर्माण सम्पन्न हुन विलम्व भईरहेको छ ।

 निर्माणधीन अधकल्चो कभर्ड हल योजना अनुसार ईनडोर खेलमैदान लगायत विभिन्न पूर्वाधार व्यवस्था गरी सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । संघ,प्रदेश र स्थानीय तहबाट समयमा बजेटको सुनिश्चितता नहुने र विनियोजन रकम न्यून भएकै कारण जोमसोम कभर्ड खेलग्राम  विगत ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन ।

 घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जिल्ला स्तरमा हुने खेलकुद संञ्चालन तथा बृहतप्रकार कार्यक्रम गर्न जोमसोम कभर्ड हल उपयुक्त हुने भएपनि बजेट अभावका कारण सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । संघीय मन्त्री ज्यूसहित सातै प्रदेशका स्थानीय तहका जनप्रतिनिधीहरुलाई कभर्ड हलको भौतिक अवस्था देखाएर उक्त पूर्वाधारतर्फ चाँसो जान्छकी भन्ने उद्देश्य रहेको अध्यक्ष लालचनले सुनाउँनुभयो ।

 ‘स्थानीय तहको सहभागीमा राष्ट्रिय स्तरको सम्मेलन गर्ने भएपछि जोमसोम कभर्ड हल बाहेक अन्य विकल्प थिएन, खुल्ला स्थानहरु सबै व्यवस्थापन गर्न मिल्ने कभर्ड हल क्षेत्रनै थियो ,’ अध्यक्ष लालचनले भन्नुभयो,‘ सम्मेलन त ग¥यौ,भाग्यवश वर्षा भईदिन र कार्यक्रम गर्न सक्यौं ।’ सम्मेलन हुँदा मौसम प्रतिकूल भईदिएको भए कार्यक्रम सम्पन्न गर्नसक्ने अवस्था नहुने अध्यक्ष लालचनले बताउँनुभयो ।

 प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतका अनुसार निर्माण सम्पन्न हुन नसकेको कभर्ड हललाई कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी रातारात व्यवस्थापन मिलाईएको थियो । जोमसोममा ठुलो कार्यक्रम गर्न अर्को ठाउँ नभएकाले कभर्डहललाई जतिसक्दो सरकारले प्राथमिकता दिने अपेक्षा गरिएको प्रशासकीय अधिकृत बस्नेतको भनाई छ ।


प्रतिक्रिया