फालो पर्वः नमखु लेंकमा ठिनी गाउँको प्रकृति पुजा

 मुस्ताङको घरपझोङ गाउँपालिका—३ ठिनी गाउँमा बर्सेनि मनाईने फालो पर्व आईतबारदेखि सुरु भएको छ । बर्सेनि भदौ महिनामा मनाईने भएकाले यसप्रकारको पर्वलाई फालो पर्व भन्ने गरिएको हो । थकाली भाषामा भदौ महिनालाई स्थानीय भाषामा फालो भन्ने गर्छन ।

 तिन गाउँले थकालीहरुको उद्गम स्थल थाक ठिनी गाउँ ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक रुपले निकै महत्वपूर्ण गाउँको रुपमा परिचित छ । ठिनी गाउँमा तिनआखे राजा थर्कोचेनले राज्य चलाएको गाउँ हो । 

मुस्ताङको ठिनी गाउँमा दुईदिन सम्म विभिन्न कार्यक्रम गरी हर्षउल्लाशका साथ फालो पर्व मनाउने प्रचलन छ । पर्वको पूर्वसन्ध्यामा थाक ठिनी गाउँका स्थानीयहरुले  दुईदिनसम्म प्रकृति पुजा गरेपछि मात्रै फालो पर्व मनाउँने प्रचलन रहीआएको छ । यसैक्रममा ठिनी गाउँमा फालो पर्वको पूर्वसन्ध्यामा गाउँका आय लामाहरुद्वारा विशेष पुजा सम्पन्न गरेका छन् । गाउँका सबै स्थानीयहरुले  गाउँका आय लामाहरुबाट आर्शिवाद ग्रहण गरेका छन् । ठिनी गाउँको बाह्रवर्षे देवीको पुजा गर्ने पुजारीलाई ठिनी गाउँका थकालीले आय लामा भन्छन् ।

 यसवर्षको फालो पर्वको सुरुवाती चरणमा गाउँमा विशेष पुजा गरी ठिनी गाउँका स्थानीयहरु घोडासहित गाउँमा भेला हुन्छन् । आय लामामा सहभागी हुने तीन जना आय लामाहरुसहित घोडामा लावालस्कर तैनाथ स्थानीयको बिदाईका लागि गाउँका महिलाहरु क्याल्साङ गर्न खाँदा,फूलमाला र छयाङ रक्सीसहित पंक्तिवद्ध हुन्छन् ।

पर्वको पूर्वसन्ध्यामा प्रकृति पुजा गरेपछि मात्रै ठिनी गाउँमा धार्मिक परम्परा अनुसार फालो पर्वको सुभारम्भ गर्ने प्रचलन छ । आईतबार यो पर्वको विशेष पुजापाठको तयारी गरी ठिनी गाउँका स्थानीयहरु घोडा चढेर उकालो लागेका छन् ।

फालो पर्वको प्रारम्भिक पुजाआरधना गर्न हिमालको फेंदतर्फ लागेका स्थानीयहरुलाई गाउँका महिलाहरुको ठुलो समुहले धार्मिक परम्परा अनुसार आर्शिवाद दिएर स—सम्मान बिदाई गरेका छन् ।

फालो पर्वको पूर्व सन्ध्यामा घोडामा सवार गाउँका आय लामालाई अंग्रमोर्चामा राखेर गाउँका अन्य व्यक्तिहरु पछाडी÷पछाडी घोडामा सवार हुँदै मेसोकोन्दो पहाडको नमखुलेंकतर्फ प्रस्थान गरेका छन । गाउँका आय लामाहरु सहितको घोडाको लावालस्करहित ठिनी गाउँ माथिको नमखुलेंकमा गएर दुईदिनसम्म प्रकृति पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।

गाउँका आय लामा श्यामप्रसाद थकालीका अनुसार ठिनी गाउँमा बर्सेनि परम्परागत सांस्कृतिक पर्व फालो मनाउने गरिएको छ । बाह्रवर्षे देवीको प्रख्यात मन्दिरको समेत पुजारी रहनु भएका स्थानीय आय लामा थकालीले फालो पर्वको दुईदिन अघिनै निलगिरि हिमालसंगै जोडिएको मेसोकोन्दो पहाडको नमखुखर्कमा पुगेर विशेष प्रकृति पुजा गर्नुपर्ने प्रचलन रहेको बताउँनुभयो ।

ठिनी गाउँ माथिको उच्चलेंकमा घोडामा लावालस्कर सहित उकालो उक्लिएका ठिनी गाउँका नागरिकहरुले दुईदिनसम्म लेंकम बसेर पुजाआराधन गर्ने गर्छन ।

 फालो पर्वमा हिमालको देवीदेवतालाई साक्षात भगवानको रुपमा सम्झिदै गाउँमा कुनै अनिष्ठ नहोस्,रोगव्याधि नलागोस, अन्नबाली सप्रियोस, प्राकृतिक विपद्का घटना नहोस् र विश्वमा शान्ति छाओस भन्ने कामना गर्दै आय लामाहरुद्वारा प्रकृति पुजा गरिने आय लामा थकालीको भनाई छ । आय लामा थकालीका अनुसार पछिल्लो समय विपदजन्य घटनाहरु बढ्दै गईरहेको र रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले ठुलो धनजनको क्षति भएको स्मरण गर्नुभयो । आय लामा थकालीले देशमा कुनै त्यस्ता अप्रिय घटना र अनिष्ठ नहोस भनी हिमाललाई साक्षात भगवान सम्मmेर पुजाआराधना गरिने बताउँनुभयो ।

 फालो पर्वको पूर्वसन्ध्यामा हिमालको फेंदमा प्रकृतिदेवीको पुजा गर्न तीन जना आय लामासहित ठिनी गाउँका करिव पचास भन्दा बढी स्थानीयहरु घोडा चढेर नमखुखर्कतर्फ गईसकेको ठिनी गाउँका स्थानीय लक्ष्मी थकालीले जानकारी दिनुभयो । यसरी लेकमा पुजा गर्न हिडेका गाउँलेहरुले महिलाहरुले ससम्मान बिदाई गरेको उहाँको भनाई छ ।

 ठिनी गाउँमा लेंकमा पुजा गर्न गएका टोली दुईदिनपछि मात्रै पुजा गरेर गाउँ फर्कन्छन् । लेंकबाट पुजा गरी पुजा गर्न गएका टोली फर्किएर  आएपछि मात्रै त्यसको भोलीप्लटबाट औपचारिक रुपमा फालो पर्व सुरु हुन्छ । पर्वमा  याक नाच,जोगी नाच, तमाया नाच र सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिन्छ । पर्व दुईदिनसम्म् चलेपछि धार्मिक विधि र परम्परा अनुसार फालो पर्व समापन हुन्छ ।



प्रतिक्रिया