रास्वपाका चर्चित सांसद : मिस नेपालदेखि गोल्डस्टार जुत्ताकी मालिकसम्म

यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा चर्चित सेलेब्रिटीहरू पनि पुगेका छन् । जसमध्येमा पर्छन् मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, चर्चित होस्ट रीमा विश्वकर्मा, रमेश प्रसाईंदेखि गोल्डस्टर जुत्ताकी मालिक विदुषी राणासम्म परेका छन् ।

बर्दियामा जन्मिएकी रीमाले सानै उमेरदेखि मिडियाकर्मीका रूपमा काम सुरु गरेकी थिइन् । नेपालका विभिन्न टेलिभिजनहरूमा काम गरिन् । तर नेपाल आइडल, कमेडी च्यापियन जस्ता रियालिटी सो होस्ट गरेपछि भने उनी एकाएक चर्चामा आइन् । केही फिल्ममा समेत उनले अभिनय गरेकी छन् । 

अभिनययात्रा सुस्ताउँदै गरेका बेला उनी कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टीबाट समानुपातिक उम्मेदवार बनेर राजनीतिमा होमिइन् । पार्टी रास्वपामा एकीकृत भएपछि उनी रास्वपाको समानुपातिक सूचीमा परिन् । तर केही समयमै उज्यालो नेपाल पार्टी रास्वपाबाट छुट्टिए पनि उनी भने रास्वपामै बसिन्  ।

एउटा कलाकारको रूपमा रिलमा विभिन्न पात्रका रूपमा अभिनय गरेकी रीमा अब संसदमा देखिने भएकी छन् । उनी दलित कोटाबाट रास्वपा सांसद बनेकी छन् । 

समानुपातिक निर्वाचन प्रणालीमार्फत नै मिस नेपाल अनुष्का श्रेष्ठ पनि यसपटक संसदमा देखिने भएकी छन् । २०१९ मा मिस नेपाल वल्र्डको उपाधि जितेकी अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा ब्युटी विथ पर्पस र मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन् ।  अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएकी अनुष्काले माकुसी नामक चकलेटको नेपाली ब्रान्ड पनि स्थापना गरेकी छन् । स्वदेशी उत्पादन र नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पुरयाउन काम गरिरहेकी थिइन् ।

रास्वपाको समानुपातिक सांसदमा अर्का चर्चित अनुहार रमेश प्रसाईं पनि रहेका छन् । प्रखर वक्ताका रूपमा परिचित उनी अब संसदमा देखिनेछन् । टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालका माध्यममार्फत सामाजिक मुद्दामा प्रश्न उठाउँदै आएका रमेश अब जवाफ दिनुपर्ने ठाउँमा पुगेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत रास्वपाबाट गोल्डस्टर जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणासमेत सांसद बनेकी छन् । व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा बोकेर भन्दा पनि भोलिको पुस्ताको आवाज लिएर संसदमा जाने उनको भनाइ छ । उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउने उनले उल्लेख गरेकी छन् । यसअघि उनीसँग राजनीतिक अनुभव छैन ।

यसबाहेक समीक्षा बाँस्कोटा, आशिका तामाङ, क्रान्तिशिखा धितालजस्ता अनुहार पनि अब संसदमा देखिनेछन् । तर लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुत भने छुटेका छन् । झन्डै दुईतिहाइ ल्याएको रास्वपाले संवैधानिक बाध्यताअनुसार ४८ जना महिला र नौ जना पुरुषलाई समानुपातिक सांसदको रूपमा निर्वाचित गराउनुपर्ने भएपछि उनी छुटेका हुन् । समानुपातिकतर्फ ४८ र प्रत्यक्ष निर्वाचित १३ गरी रास्वपाबाट ६१ जना महिला सांसद बनेका छन् । 


साभार ः शिलापत्र डटकम


प्रतिक्रिया