स्थानीय सांस्कृतिक झाँकीसहित सुरु भयो कागबेनी यार्तुङ महोत्सव

जोमसोम—हिमाली क्षेत्रको पहिचान मौलिक धार्मिक,सांस्कृतिक, ऐतिहाँसिक कलासंस्कृति तथा स्थानीय परम्परागत भेषभुषाको संरक्षण सम्वद्धन एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा शुक्रबार देखि यार्तुङ महोत्सव सुरु भएको छ ।धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको मुख्य आयोजना र कागबेनी गाउँ समाजको सहआयोजनामा  यार्तुङ महोत्सव शुभारम्भ गरिएको हो ।

यार्तुङ पर्व हिमाली जिल्ल मुस्ताङमा बसोबास गर्ने गुरुङ,बिष्ट र लोवा समुदायका मानिसहरुले सदिंयौ वर्षदेखि हर्षउल्लासमय रुपमा मनाउने प्रचलन  रहँदै आएको छ  । यार्तुङको  शाब्दिक अर्थ यार भनेको बर्खायाम र तुङको अर्थ  पर्व मनाउने भन्ने बुझिन्छ । बर्खायाममा उवा र जौ लगायतका बाली थन्क्याएर खेतबारीमा फापर छर्ने काम सकिएपछि हिमाली जिल्लाका कृषकहरु फुर्सदिला हुन्छन् । यो पर्वले बर्खायाम सकिएर हिउँदयाम सुरु भएको समेत संकेत गर्छ । यार्तुङ पर्वको समयमा सधै झै आ—आफ्नो खेती किसान र पर्यटन व्यवसायमा व्यस्त हुनेलाई फुर्सदिलो महिनामा यार्तुङ पर्व मनाईने गर्छन । यार्तुङ पर्वको समयमा हिमाली समुदायका मानिसहरु आपसमा भेला हुने ,राम्रो लगाउने , मिठो खानाका परिकार बनाएर खाने र आपसमा रमाईलो गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ ।


सदिंयौदेखि मनाईदै आईरहेको सांस्कृतिक तथा धार्मिक पर्व यार्तुङले हिमाली सभ्यता र संस्कृतिलाई जोगाएर राख्न महत्वपूर्ण भूमिका खेलेको पाईन्छ । तर,पछिल्लो समय गाउँका धेरै जसो युवाहरु विदेशी पलायन हुने र गाउँमा भएका युवा पंक्ति समेत पाश्चात्य संस्कृति तर्फ उन्मुख हुने परिपाटीका कारण हिमाली क्षेत्रको मौलिकता संस्कृति , सम्यता र स्थानीय परम्पराहरु लोपउन्मुख हुने अवस्थामा छ ।

बर्सेनि मनाईने हिमाली धार्मिक तथा सास्कृतिक पर्व यार्तुङ पर्वमा हुने सांस्कृतिक ,धार्मिक र ऐतिहाँसिक संस्कृति समुत्थान तथा पुस्तान्तरणका लागि यसको सरक्षण तथा जगेर्ना गर्नुपर्ने भन्दै पछिल्लो ५ संस्करण वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक अनुदान सहयोग उपलब्ध गराएर यार्तुङ महोत्सवको लागि बजेट विनियोजन गर्ने गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा बर्सेनि वडास्तरीय रुपमा वारागुङ मुक्तिक्षेत्रका ५ वटै वडाहरुमा  आलोपालो यार्तुङ महोत्सव संञ्चालन गर्ने गरिएको छ । यसवर्ष छैठौं संस्करणको यार्तुङ महोत्सव कागबेनीमा सुरु भएको छ ।

 वडा स्तरीय रुपमा संञ्चालन हुने यार्तुङ महोत्सव अन्तर्गत यसवर्ष वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको पालो परेको हो । त्यहाँ ३ दिनसम्म यार्तुङ पर्व महोत्सव संञ्चालन हुनेछ । छैठौं कागबेनी यार्तुङ महोत्सवको गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्ग्लेङ गुरुङ ,उपाध्यक्ष ढिकी गुरुङ र वडाध्यक्ष कर्मा घ्याचो गुरुङले दीपप्रज्वलन गरी समुद्घाटन गरे ।


गाउँपालिका अध्यक्ष गुरुङले हिमाली क्षेत्रको संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्धनमा योगदान पू¥याउने उद्देश्यले गाउँपालिकाले स्थानीय गाउँहरुसंग सहकार्य गर्दै यार्तुङ महोत्सव संञ्चालन गर्दैआईरहेको जानकारी दिए ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले हिमाली क्षेत्रको मौलिकता र संस्कृति हराउँदै जान थाले यहाँका जातीय पहिचान समेत गुम्नसक्ने उल्लेख गरे । यार्तुङ समुद्घाटनमा गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ,वडाध्यक्ष कर्मा घ्याचो गुरुङ, वडासदस्य मेन्दोक गुरुङ र स्थानीय महिला अभियान्ता लक्ष्मी गुरुङले यार्तुङ पर्व र यसको गाम्भिर्यता माथि चर्चा गरेका थिए ।

 कागबेनीमा आयोजित छैठौं संस्करणको यार्तुङ महोत्सवमा गाउँपालिका अन्तर्गतका १९ वटा गाउँहरुको सहभागिता रहेन जनाईएको छ । महोत्सवमा साहशिक परम्परागत घोडा दौड प्रतियोगिता हुनेछ । घोडा चढीनै हिमाली क्षेत्रको मुख्य मौलिक संस्कृति भएकाले आफ्नौ मौलिक भेषभुषमा सजिएर घोडा दौड प्रतियोगिता संञ्चालन हुने महोत्सव आयोजक समितिका संयोजक युण्डुक गुरुङले जानकारी दिए । यसका अलावा अन्तर क्लव परम्परागत तारो खेल प्रतियोगिता हुनेछ । यसैगरी महिलाहरुका लागि डोरी तान्ने खेल हुनेछ भने अन्तर गाउँको क्लव स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता हुनेछ ।


 यार्तुङ महोत्सवमा सांस्कृतिक कार्यक्रम कन्सर्ट र डान्स पार्टी आयोजना हुनेछ । स्थानीय स्तरको मौलिक भेषभुषाहरुलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले फेसन शो को कार्यक्रम समेत गरिने जनाईएको छ । फेसन शोमा सबै सहभागी गाउँका फेसनर महिलाहरुले आफ्नो जातिय पहिचान झल्किने भेषभुषा अनिवार्य गरिएको छ ।

यार्तुङ महोत्सवका माध्यमबाट यहाँको धर्मसंंस्कृति र परम्परालाई उजागर गरी पर्यटन प्रर्वद्धन तथा यहाँको धर्म संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको यार्तुङ महोत्सव संयोजक युण्डुक गुरुङले उल्लेख गरे । 

शुक्रबारदेखि शुभारम्भ भएको यार्तुङ महोत्सवमा सहभागी हुने वारागुङ मुक्तिक्षेत्रका १९ वटै गाउँका खेलाडी तथा स्थानीय नागरिक कागबेनीमा ओईरिएका छन् । यस्तै यार्तुङ महोत्सव अवलोकनका लागि मुस्ताङको तल्लो क्षेत्र घाँसादेखि उपल्लो मुस्ताङका उल्लेख्य नागरिक महोत्सव अवलोकनका लागि कागबेनीमा भेला भएको आयोजकले जनाएको छ ।

यार्तुङ पर्व मुस्ताङको बाह्र गाउँ क्षेत्र र उपल्लो मुस्ताङको लोछोदिन क्षेत्रका समुदायले फरक÷फरक तिथिमा हर्षउल्लासका साथ मनाउने प्रचलन छ ।


प्रतिक्रिया