कागबेनी यार्तुङ महोत्सवमा विविध खेलकुदसंगै कन्सर्ट र डिजे डान्स पार्टी आयोजना हुने

जोमसोम— बर्खायामको खेतीपाती कामकाज सकेर फुर्सदिलो महिनामा यार्तुङ पर्व मनाईने गरिन्छ । यो पर्व मुस्ताङको बाह्रगाउँ र लोछोदिन क्षेत्रमा हर्षउल्लाषका साथ मनाईने प्रचलन छ ।

 सो पर्वका अवसरमा मुस्ताङको  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्र्तगत वडा नं. ४ ले साउन १८ गतेदेखि २० गतेसम्म छैठौं संस्करणको यार्तुङ महोत्सव २०८१ भव्य  र सभ्य रुपमा आयोजना गर्ने तयारी गरेको छ ।  गाउँपालिका अन्र्तगत वडा नं. ४ कार्यालयको मुख्य आयोजनामा स्थानीय गाउँसमाजको  सहकार्यमा महोत्सव आयोजना गर्ने तयारी गरिएको हो  ।

  गत वर्षको साउन २८ गतेको कागखोला बाढीले क्षतिग्रष्त बनाएको कागबेनी गाउँको आन्तरिक व्यवस्थापन तथा  मौलिक कलासंस्कृति एवं परम्परागत भेषभुषाको संरक्षण गर्दै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बृहत कागबेनी यार्तुङ महोत्सव २०८१  आयोजना गर्ने तयारी भईरहेको महोत्सव आयोजक समिति सदस्य युण्डुक गुरुङले जानकारी दिए ।

यसपटक चर्चित पप गायिका एवं द भ्वाईस अफ नेपाल गायन रियालिटी शो की जज  गायिका तृष्णा गुरुङ कन्सर्टका लागि गीत गाउन मुस्ताङ आमन्त्रण गरिएको छ ।

सो पप कन्सर्टको दौरानमा चर्चित पप गायिका गुरुङले मुस्ताङको चिसो मौसमलाई तताउँने भएकी छिन् । कन्सर्टको दौरानमाफेसन शो को कार्यक्रम राखिएको  छ । वडा स्तरीय रुपमा ५ जना स्थानीय फेसनरको सहभागी गराईने छ । फेसन शो कार्यक्रममा प्रत्येक समुहलाई नगद १० हजार रुपैया सम्मानसहित प्रदान गरिने छ ।  यो कन्सर्ट साउन १९ गते साँझ संञ्चालन हुनेछ ।  यस्तै डान्स (डिजे) पार्टी साउन २० गते साँझ कागबेनी स्थित समाजघरमा  हुने आयोजकले जनाएको छ ।

कागबेनी यार्तुङ महोत्सवमा बढी भन्दा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरिदै छ । महोत्सवमा घोडा दौड प्रतियोगिता,तारा खेल प्रतियोगिता,डोरी तान्ने खेल प्रतियोगिता र सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुँदैछ ।


प्रतिक्रिया