यहाँ स्थित उपल्लो मुस्ताङको लोमान्थाङ—४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ वटा भेडाच्यांग्रा क्षति भएको छ । हिमचितुवाको आक्रमणमा परी ७ भेडाच्यांग्रा घाईते भएको राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
उपल्लो मुस्ताङ स्थित लोमान्थाङ गाउँपालिका—४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लाृमान्थाङ—४ चुमजुङमा रहेको च्याग्रा खोरमा शनिबार राति हिमचितुवाले पशुचौपया माथि आक्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार स्थानीय पशुपालक गुरुङको तीन सय १५ वटा भेडाच्यांग्रा रहेको खोरमा हिमचितुवाले आक्रमण गर्दा १० वटा च्यांग्रा र ११ वटा भेडा क्षति भएको हो ।
एक्याप लोमान्थाङको विवरण अनुसार हिमचितुवाले च्यांग्रा खोरमा आक्रमण गर्दा पीडित गुरुङका वयस्क भेडा ४ वटा र ७ वटा भेडाका पाठापाठी क्षति भएको छ । यसरी क्षति भएका १० च्यांग्रा मध्ये ७ वटा वयस्क च्यांग्रा र ३ वटा मध्यम वयस्क च्यांग्रा क्षति भएको हो । यसैगरी हिमचितुवाको आक्रमणबाट वयस्क च्यांग्रा ५ वटा र वयस्क भेडा २ वटामा क्षति पुगेको एक्याप प्रमुख पौडेलको भनाई छ ।
हिमचितुवाको आक्रमणबाट भेडाच्यांग्रा क्षति भएको सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि,प्रहरी र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिक लगायतको टोली आईतबार बिहान घटना स्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार पीडित पशुपालकको च्यांग्रा खोर ग्याबिन तारको घेराबार भित्र रहेको अवस्थामा हिमचितुवाले आक्रमण गरी भेडाच्यांग्रा क्षति पु¥याएको हो । हिमचितुवाको आक्रमणबाट २१ वटा भेडाच्यांग्रा क्षतिको प्रारम्भिक मूल्य मूल्यांकन गर्दा चार लाख ५५ हजार क्षति भएको जनाईएको छ ।
यसअघि गत फागुन ११ गते उपल्लो मुस्ताङको लोमान्थाङ—४ किम्लिङमा स्थानीय पशुपालक किसान मिङमर गुरुङको खोरमा हिमचितुवाले आक्रमण गर्दा ९ वटा च्यांग्रा क्षति भएको थियो भने ९ वटा च्यांग्रा घाईते भएका थिए ।
यसैगरी मुस्ताङको तल्लो क्षेत्र स्थित घरपझोङ गाउँपालिका—२ मार्फामा हिमचितुवाले स्थानीय सन्तोष परियारको खोरमा दुई पटकसम्म आक्रमण गर्दा तीन दर्जन बढी च्यांग्रामा क्षति पुगेको थियो ।
एक्याप लोमान्थाङले हिमचितुवाले भेडाच्यांग्रा क्षति पु¥याएको स्थानमा हिमचितुवाको निगरानी गर्न तीन वटा सिसी क्यामेरा जडान गरिएको जनाएको छ । मुस्ताङमा चालु आर्थिक वर्ष एक्याप लोमान्थाङ र जोमसोमले मुस्ताङका पाँच वटै पालिकाहरुका हिमचितुवाको बासस्थान रहेको सम्भावित स्थानमा हिमचितुवा गणनाका लागि सिसी क्यामेरा जडान गरेको छ ।
मुस्ताङमा एक्यापले हिमचितुवा तथा अन्य वन्यजन्तु पीडित किसानहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु विभागबाट उपलब्ध हुने वन्यजन्तुको क्षति राहत उपलब्ध गराउने गरेको एक्यापको भनाई छ । यहाँ वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम क्षति भएका पशुचौपायको क्षति मूल्यांकन गरी पीडित पशुपालकहरुलाई राहत उपलब्ध गराईने गरिएको छ । पछिल्लो समय विभागबाट वन्य जन्तु क्षति राहत उपलब्ध ढिलाई हुने भएकाले एक्यापले आन्तरिक कोषबाटै व्यवस्था गरेर पीडित पशुपालकहरुलाई राहत उलब्ध गराउने गरिएको एक्याप प्रमुख पौडेलको भनाई छ ।
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा मानव र हिमचितुवाको द्धन्द बढ्दै जान थालेको छ । हिउँ चितुवाले स्थानीय पशुपालकहरुको गोठ खोर भित्र पसेका आक्रमण गर्ने र उच्चलेंकको चरनक्षेत्रम पशुचौपाया क्षति बनाउने घटनाहरु बढ्दै जान थालेको छ । हिउँ चितुवाको जोखिमका कारण पशुपालक व्यवसायनै संकटमा पर्न थालेको न्याम्डोका पीडित च्यांग्रा पालक घ्याचो गुरुङले बताउँनुभयो ।
यसैगरी जलवायु परिवर्तनको असरका कारण उच्चलेंकमा घाँसको अभाव हुँदा हिउँ चितुवाको आहारा प्रजाती बेसी झर्ने गरेकाले त्यसलाई पछ्याउँदै हिउँ चितुवा बस्ती नजिक आउने गरेको पाईएको छ । पछिल्लो केही वर्ष यता हिउँ चितुवा मुख्य राजमार्ग सडक र बस्ती नजिक देखा पर्न थालेको छ ।
मुस्ताङमा हिउँ चितुवाले स्थानीय किसाले पालेका याकचौरी,भेडाच्यांग्रा र घोडाहरु माथि आक्रमण गरेर क्षति तुल्याउने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली