असोज महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ, ३, कार्तिक ।

गत २३ र २४ भदौको जेनजी युवा आन्दोलनपछिको उत्पन्न विषम परिस्थितीका बावजुद हिमाली जिल्ला मुस्ताङमा असोजको एक महिना अवधिमा ७५ हजार ५९९ जना पर्यटकहरुले भ्रमण गरेका छन् । आन्दोलन र मौसम प्रतिकुलताले प्रभावित पारेको मुस्ताङको पर्यटन पून ः लयमा फर्किन थालेको छ ।

दसैं तथा तिहार पर्वको लामो बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शनसंगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको नेपाल—चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल,ठिनी र जोमसोम र मार्फा बस्तीसंगै यहाँको निलगिरी र धौलागिरी हिमऋखंला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरु मोहित नहुने त कुरै भएन ।

 पछिल्लो समय मुलुकमा जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितीमा समेत मुस्ताङको पर्यटन व्यवसाय चलाएमान भईरहेको यहाँको पर्यटक तथ्यांकले देखाएको छ । चालु आ.व.को असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याृलय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

यसै गरी जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आश्विन १७ देखि २० गतेसम्म वर्षा र हिमपात हुने प्रक्षेपणका कारण आशिंक रुपमा प्रभावित बनेको यहाँको पर्यटन त्यसपछि पून ः चलायमान भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २१ असोजदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा  बेनी—जोमसोम सडकमार्ग हुँदै  ४९ हजार ३७१ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाई छ । असोज महिनाको पछिल्लो १० दिनको अवधिमा  २८ हजार ७५९ आन्तरिक र ४ हजार १२४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाको भनाई छ । 

 जेनजी आन्दोलन र मौसम प्रतिकुलतापछि मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये आन्तरिक तथा बाह्य पर्यटक गरी १४ हजार ३८९ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये १३ हजार ९२९ जना आन्तरिक र ४५० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । असोज महिनामा मुस्ताङ भित्रिएका कुल पर्यटक संख्या मध्ये आन्तरिक तथा बाह्य गरी २० प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको पाईएको छ ।

यसैगरी गतवर्षको असोज महिनामा कुल ५९ हजार ८३१ जना आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । त्यसमहिनामा यहाँ ४७ हजार २९३ जना आन्तरिक र  १२ हजार ५३८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी १५ हजार ७६८ जना अर्थात (२०.८५) प्रतिशतले पर्यटक सख्या  घटेको देखिएको छ । मुस्ताङमा चालु आ.व.को साउनदेखि असोज मसान्तसम्ममा एक लाख १८ हजार ६८९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असोजसम्ममा ९१ हजार १२५ जना र २७ हजार ४६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

 गत आर्थिक वर्ष २०८१÷०८२मा आन्तरिक तथा बाह्य गरी ७ लाख ५ हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यसवर्ष ५ लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।


प्रतिक्रिया