यहाँको पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिन यता दर्शनार्थी पर्यटकको उपस्थिती बाक्लिएको छ । औसत दैनिक तीनदेखि चार हजार संख्यामा दर्शनार्थी भक्तजनको उपस्थिती हुने गरेको मुक्तिनाथ मन्दिरमा बिहिबारदेखि दैनिक पन्ध्र हजार बढीले दर्शन गर्ने गरेको पाईएको छ ।
मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकुल याम भएपनि विगत वर्षको तुलनामा यसवर्ष मुक्तिनाथमा दर्शनार्थीको संख्या अकल्पनीय रुपमा वृद्धि भईरहेको छ । छिमेकी देश भारतमा गर्मी अत्यधिक बढेका कारण त्यहाँ शैक्षिक संस्थाहरु बन्द भएकाले भारतीय दर्शनार्थी पर्यटकको संख्या अपेक्षाकृत रुपमा बढ्न पुगेको हो । भारतमा एक महिने लामो विद्यालय र कलेजहरु गर्मीका कारण बिदा भएसंगै मुक्तिनाथमा भारतीय पर्यटकको रौनक वृद्धि भएको हो । बिदामा भारतीयहरु गर्मी छल्न मुक्तिनाथमा आएका हुन्।
सरकारी तथा सार्वजनिक बिदा परेका कारण मुस्ताङको मुक्तिनाथमा दर्शनार्थी पर्यटकहरुको संख्या वृद्धि भएको हो । मुक्तिनाथमा दर्शनार्थीको संख्या अकल्पनीय रुपमा बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । पछिल्लो चारदिन यता म्याग्दी हुँदै दैनिक दश देखि बाह्र हजारको संख्यामा पर्यटकहरु मुस्ताङ भित्रिने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरुको संख्या ठुलो भएकाले सुरक्षाकर्मीले व्यवस्थापनकार्यमा सहजीकरण गर्दैआईरहेको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
मन्दिर क्षेत्रमा हजारौं दर्शनार्थीको संख्याले मन्दिर परिसर पुरै खचाखच भरिएसंगै मन्दिरको दर्शनकार्य र सुरक्षा प्रवन्ध लगायतको व्यवस्थापन गर्न हम्मे परेको हो । मुक्तिनाथको दर्शन,अवान्छित क्रियाकलाप नियन्त्रण, पीक पकेटिङ र समग्र शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली निरन्तर खटिएको छ । मुक्तिनाथमा भक्तजन मैत्री दर्शन व्यवस्थाकार्यमा सहजीकरण गर्न ईलाका प्रहरी कार्यालय मुक्तिनाथका पन्ध्र जना सुरक्षाकर्मीसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट थप सुरक्षा बल परिचालन गरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
सडकमार्ग तथा हवाईमार्गबाट आउने लगायत अन्य स्थानबाट आउने पर्यटकहरु गरी दैनिक औसत पन्ध्र हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरेको प्रहरी स्रोतको भनाई छ । प्रहरी निरीक्षक सन्तोष बस्यालले मुक्तिनाथमा चार दिनको फेरोमा करिव पचास हजार बढीले दर्शन गरेको बताउनुभयो ।
मुक्तिनाथ मन्दिर परिसरको क्षमता करिव पाँच सयको हाराहारीमा भएपनि एकसाथै हजारौं दर्शनार्थी मुक्तिनाथ मन्दिरमा उपस्थित हुँदा मन्दिरको व्यवस्थापनकार्यमा मुक्तिनाथ विकास समिति र सुरक्षा निकायलाई हम्मेहम्मे परेको हो । मुक्तिनाथमा लगातार चारदिनसम्म परिसरमा तीन वटा लाईन मिलाएर सुरक्षाकर्र्मीले दर्शनकार्यमा सहजीकरण गरिरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटक मध्ये ७० प्रतिशत भारतीय दर्शनार्थी रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । छिमेकी देश भारतमा पनि गर्मीका कारण विद्यालय र कलेज बन्द भएकाले मुक्तिनाथमा दर्शनार्थीको संख्या अप्रत्याशित रुपमा बढ्न पुगेका व्यवस्थापक भुसालको भनाई छ ।
मुक्तिनाथ मन्दिर परिसरको क्षमता कम भएकाले यसको क्षमता बढाउने योजनामा समिति रहेको छ । हालै मात्रै मुक्तिनाथ विकास समितिले पूर्वाधार निर्माणका लागि पेश गरिएका चार वटा प्रस्ताव पुरातत्व विभागमा स्वीकृत भईसकेकाले जतिसक्दो छिटो मुक्तिनाथको भक्तजनमैत्री पूर्वाधार निर्माण गर्ने योजना रहेको व्यवस्थापक भुसालले जानकारी दिनुभयो ।
भारतबाट गर्मी छल्ने गरी मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ आईपुगेका भारतीय पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र अद्धितीय भूगोल नियालेर मोहित भएको पाईएको छ । भारतमा ४४ डिग्री सेल्सीयस तापक्रम हुँदा मुस्ताङको सन्तुलित मौसममा रहेर दर्शन गर्न पाउँदा गौरान्वित महशुस भएको भारतीय विद्यार्थी पर्यटकहरु बताउँछन् । भगवान बिष्णुको बासस्थान रहेको पावन भूमी प्रति भारतीयहरुको अगाध आस्था रहने भएकाले मुक्तिनाथ दर्शन भारतीय पर्यटकको एउँटै लक्ष्य रहेको छ । भारतमा एक महिना लामो गर्मी बिदा चलिरहेकाले मुक्तिनाथको दर्शन यात्रामा निस्किएको भारतीय पर्यटकको भनाई छ ।
काठमान्डौंकी डोपा शेर्पा पनि चार दिनको सरकारी बिदा परेकाले मुक्तिनाथको दर्शन गर्न आईपुगेको बताउँनुहुन्छ । मुक्तिनाथ दर्शनका लागि एक घण्टा लाईनमा उभिनु भएकी शेर्पाले आत्मशान्ति र जानअन्जानमा भएका गल्ती र कमिकजोरीबाट मोक्ष प्राप्त हुने जनविश्वासका कारण मुक्तिनाथ मन्दिरमा आईपुगेको बताउँनुभयो ।
मुक्तिनाथ स्थित रानीपौवा बसपार्क क्षेत्रमा भक्तजन सवार सवारी साधनको लस्करले पुरै बसपार्क क्षेत्र सवारी साधनले ढाकिएको छ । झन्डै २०० सवारी क्षमता भएको बसपार्कमा अहिले एक हजार बढी सवारी साधनहरु पार्किङ गरिएका छन् । जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
लगातारका चारदिन बिदा र भारतीय पर्यटकको उल्लेख्य उपस्थितीका कारण मुस्ताङका अधिकाँश होटलहरु पर्यटकले भरिभराउ भएका छन् । बिहिबारदेखि म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म सबै होटलहरुमा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुले भरिभराउ भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली