‘कानुन मिचेर काम गर्न सकिंदैन’ ः अध्यक्ष गुरुङ

जोमसोम ।।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले कानुन मिचेर काम गर्न नसक्ने स्पष्ट पारेका छन् । कहिलेकाही जटिल परिस्थितीमा विद्यमान कानुनलाई कुल्चेर कार्यसम्पादन गर्न खोज्दा जनप्रतिनिधिनै फस्न सक्ने भएकाले त्यसतर्फ आफु र गाउँपालिका सचेत रहेको बताएका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ मा कार्यसम्पन्न भएका कार्यहरुको जानकारी दिने र  नागरिकहरुको गुनासो, असन्तुष्टि र सुझावहरु सकलन गर्ने उद्देश्यले बिहिबार गाउँपालिका सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय तह संञ्चालन ऐन २०७४ को कार्यविधिको परिधिमा रहेर मात्रै आफु र गाउँपालिकाले कार्यसम्पादन गर्दैआईरहेको जानकारी दिनुभयो ।

 हरेक नागरिक र समुदायहरुको चाहना र योजना असिमित हुने र ती सबै पुरा नहुने अध्यक्ष गुरुङले बताउँनुभयो । कानुनको परिधि भित्र रहेर जनताका मागहरु संम्वोधन गर्नेतर्फ गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष गुरुङको भनाई थियो ।

अध्यक्ष गुरुङले गाउँपालिकाले कसैप्रति सत्रुता र कुनै गाउँप्रति नियतमा खोट  अनि आचरणमा फरक ढंगले सोच्ने नगरेको स्पष्ट पार्नुभयो । दलगत स्वार्थबाट माथि उठेर जनतासंग मिलेर सहकार्य गर्न सदैव तयार रहेको अध्यक्ष गुरुङले बताउँनुभयो । 

‘‘गाउँपालिका भगवान होईन, काम गर्दै जाँदा केही मानवीय कमीकमजोरी अवश्य हुन्छन्,’ अध्यक्ष गुरुङले भन्नुभयो,‘ त्यस्ता गल्ती र कमीकमजोरी रहेमा सच्चाएर अघि बढ्न सकिन्छ, यसलाई जनताले सहज रुपमा लिएर सुझावको रुपमा आउने कुराहरुले आफुहरुलाई सुधारोन्मुख दिशातर्फ अघि बढ्न प्रेरित गर्दछ ।’’

अध्यक्ष गुरुङले कागबेनीको बाढी घटनाको विषयमा आफुहरु जुध्दै लड्दै काम गरिहेको बताउँनुभयो । गाउँपालिकाले सीमित स्रोत साधनका बावजुद कागबेनी बाढी घटनालाई आत्मसाथ गरी अपेक्षित कामहरु गरिरहेको दावी गर्नुभयो । कागबेनी बाढी पीडित र यसक्षेत्रको पूननिर्माणकार्यमा तीन तहको सरकार भएकाले पालिकालाई मात्रै दोषारोपण गर्ने कार्य सान्दर्भिक नभएको अध्यक्ष गुरुङको भनाई थियो । कागबेनी बाढीबाट पीडित र यसक्षेत्रको पूननिर्माण लगायतका विषयमा गाउँपालिका सदैव जनतासंग सहकार्य र हातेमालो गर्न तयार रहेको अध्यक्ष गुरुङले स्पष्ट पारे ।

गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउँनुभयो । ‘कागबेनीमा कानुनी तथा नीतिगत समस्या छ,हामीले यहाँको वस्ती स्थान्तरण गर्ने प्रयास गरेका थियौं,’ अध्यक्ष गुरुङले भने,‘ यहाँ पालिकाले डीपीआर गर्ने भनेकोमा प्रदेश सरकारले मान्यता नदिने भनेपछि ब्यापक भयौ, तर यहाँको बाढी पीडितलाई पुनस्थापना गर्न डीपीआरको तयारी भएको छ ।’

स्थानीय सरकारको रुपमा गाउँपालिकाले गरेका समग्र कार्यसम्पादन किन र कस्का लागि भन्ने जानकारी दिन सार्वजनिक सुनुवाई आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो । सार्वजनिक निकायका पदाधिकारीहरु जनताको प्रतिनिधि भएको र निर्वाचित जनप्रतिनिधिमूलक संस्थाको रुपमा स्थानीय सरकारको रुपमा पालिकाको परिकल्पना भएको उहाँले उल्लेख गर्नुभयो । 

जनप्रतिनिधिहरुबाट नीति नियम र ऐन कानुनहरु निर्माण र यसले समग्र पक्षको विकास कार्यक्रम तर्जुमा हुने गरी सिङ्गो कर्मचारीको टोलीले कार्यसम्पादन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ । ‘जनताका प्रतिनिधिबाट भएका कार्यसम्पादन तथा सार्वजनिक खर्च व्यवस्थापन,सार्वजनिक सेवा प्रवाह लगायतमा नागरिकहरुले नजिकको सरकारप्रति धारणा के कस्तो छ ?, त्यो नागरिकको गुनासो र सल्लाह सुझावलाई समेट्ने गरी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी तुल्याउन सार्वजनिक सुनुवाईले टुल्सको रुपमा काम गर्नेछ,’ प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो,‘ जनताको गुनासो,धारणा र सुझावलाई बुझेर सुधारको बाटोतर्फ लाग्ने मार्गचित्र सार्वजनिक सुनुवाईले बोध गराउँछ, यसबाट बजेट र योजना सशोधन गर्ने ठाउँमा परिमार्जन गरी कार्यान्वयनमा लैजान सकिन्छ ।’’

  स्वतन्त्र निकायबाट भएको सार्वजनिक सुनुवाई कार्यक्रमले पालिकाको सुशासन समृद्धि र विकासको मार्ग पहिल्याउन निकै ठुलो योगदान दिने उहाँले बताउँनुभयो । सार्वजनिक सुनुवाई जनतासंग प्रत्यक्ष जोडिने माध्यम भएकाले विगतमा भए गरेका कमीकमजोरीलाई औल्याएर सुधारको बाटोतर्फ लाग्न मार्ग प्रसस्त गर्ने प्रशासकी अधिकृत अधिकारीले बताउँनुभयो ।

 वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सार्वजनिक सुनुवाईमा  छिरिङ आङ्ग्या गुरुङ,नानी गुरुङ,लक्ष्मी गुरुङ, लक्ष्मीकुमारी गुरुङ र मनवीर किसानले लगायतले प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जनता र गाउँपालिकाको समन्वय र सहकार्यले मात्रै पालिकाको विकासमा काम गर्न सकिने बताउँनुभयो, उहाँले बाहिरबाट हेदा आरोप ÷प्रत्यारोप लगाउन सजिलो हुने भएपनि त्यस ठाउँमा बसेर काम गर्न गारो हुने बताउँनुभयो । पूर्वअध्यक्ष गुरुङले कागबेनी बाढी ग्रस्त क्षेत्रको विकासमा काम गर्न गाउपालिकालाई अवसर र चुनौती दुबै रहेको बताउँनुभयो ।

 


प्रतिक्रिया