जोमसोम—पुर्वाधार विकास कार्यालय मुस्ताङको ५३ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित कुल बजेटको ४६ दशमलव ८८ प्रतिशत बजेट मात्रै खर्च भएको हो । कार्यालयका लागि चालु र पुँजिगत दुबैतर्फ गरी २५ करोड ९२ लाख बजेट विनियोजन भएकोमा १२ करोड १५ लाख बजेट खर्च भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष विनियोजित २४ करोड ९० लाख पुँजिगत बजेट मध्ये ११ करोड ६० अर्थात ४६ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको जनाएको छ । यस्तै, चालुतर्फ १ करोड २ लाख विनियोजित बजेट मध्ये ५४ लाख ४५ हजार अर्थात ५३ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको हो ।
कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको २२ करोड ५५ लाख बजेटमा ११ करोड १६ लाख अर्थात ४९ दशमलव ४९ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजन भएको ५५ लाख बजेटमा ४४ लाख ६ हजार अर्थात ८० दशमलव ११ प्रतिशत र संघीय सरकारबाट स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि विनियोजित १ करोड ८० लाख बजेटमा ६४ हजार अर्थात शून्य दशमलव ३६ प्रतिशत बजेट खर्च भएको हो ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठका अनुसार हिमाली जिल्लाको भौगोलिक अवस्था र निर्माण व्यवसायीहरुको चरम ढिलासुस्ती र लापारवाहीले पुँिजगत बजेट अपेक्षा गरेअनुरुप खर्च हुन नसकेको हो । निर्माणधिन योजनाको प्रकृयागत अवधि,न्यून जनशक्ति र सीमित श्रोतसाधनका कारण कार्यालय बजेट खर्च अनपेक्षित रहेको कार्यालय प्रमुख श्रेष्ठले स्पष्ट पारे ।
संघीय आयोजना अन्तर्गतको लेते—छयो जोड्ने संस्पेन्स पुलका लागि आएको बजेट निर्माण कम्पनीको लापारवाहीले बजेट फ्रिज भएको कार्यालयले जनाएको छ । उक्त पुलको डिजाईन फेल भएको निर्माण कम्पनीको भनाई छ । पुलका लागि २५ प्रतिशत भिओ वृद्धि गरिएको भएपनि निर्माण कम्पनीले पुलका लागि थप भिओ वृद्धि गर्न कार्यालयसंग माग गरेको छ । कानुनी जटिलताका कारण लेते—छयो पुलको भिओ वृद्धि हुन नसक्दा लेते—छयो पुल निर्माण अन्योल बनेको हो । यस्तै लेते—धम्पु पुलको पनि निर्माण कम्पनीले अनुकुल समयमा निर्माणको काम सुरु नगर्दा बजेट खर्च हुन नसकेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । प्रदेश सरकार अन्तर्गत निर्माणधिन घरपझोङ रिङरोड र मार्फा—छैरो जोड्ने पुल समेत निर्माण कम्पनीको ढिलासुस्तीले विनियोजित आवश्यक बजेट खर्च हुन नसकेको जनाईएको छ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङमा ११ जनाको दरबन्दी रहेपनि स्थायी २ जना र करारका ३ जना कर्मचारी मात्रै छन् । कार्यालयको लागि दरबन्दी अनुसारको कर्मचारी पदपूर्ती हुन नसक्दा समेत चालुतर्फको आधा बजेट फ्रिज हुन पुगेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता