छुटाउनै नहुँने गन्तव्य मुस्ताङको मार्फा

‘क्या राम्रो स्याउ बारी,मार्फा गावैमा’

‘हेर्दा राम्रो मार्फा गाउ,खाँदा मिठो मार्फा स्याउ’


   स्वर्गीय बशन्ती लालचनको शब्दरचना एवं गायिक ज्योति गुरुङको समधुर स्वरले लिपिवद्ध  मार्फा गाउको समग्र परिचय झल्काउने गीतको पंक्तिले मुस्ताङको मार्फा गाउँको वास्तविक तथ्य उजागर हुन्छ । मुस्ताङको मार्फालाई  सतही रुपमा आम नेपालीहरु परिचित गराउने यो गीतको योगदान मार्फा गाउँका लागि निकै महत्वपूर्ण बन्यो ।

मार्फाली स्रष्टा स्वर्गीय लालचनले पोखरामा बसेर आफ्नो पूख्यौली थातथलो मार्फाको धार्मिक,  कलासंस्कृति, सम्यता, मौलिकतालाई स्याउ खेती र मुक्तिनाथसंग जोड्दै पर्यटन प्रर्वद्धानात्मक शब्दमा उतारेकी थिईन । सर्वाधिक लोकप्रिय बनेको ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रेकर्डपछि मुस्ताङको मार्फा गाउँको चर्चा एकाएक चुलियो । साँच्चै गीतमा उदृद्ध गरिझै मार्फा गाउको पहिचान झल्काउने थुप्रै विशेषताहरु खोतल्नै पर्ने हुन्छ ।

मार्फा गाउँप्रति सर्वाधिक चर्चा परिचर्चा भईरहँदा यसको आन्तरिक ईतिहाँसलाई पछ्याउनै पर्ने हुन्छ । सदिंयौं वर्ष पहिले अहिलेको वस्ती मार्फा गाउँको रुपमा थिएन । मार्फा गाउ भएको स्थान केवल अग्लो पहाडको खोंच र रित्तो भिरालो सतह मात्रै थियो । रित्तो भिरालो सतहको केही तल खुल्ला चौर र बाँझो जमिनहरु उपयोगविहिन थिए । त्यहाँ अहिलेको जस्तो कुनै मानव वस्ती बसिसकेको थिएन ।

 सदिंयौं वर्षपहिले मुस्ताङको मार्फा बस्ती गाउँ जंगल र हिमालको जरामा अवस्थित थियो ।  मार्फाको पुरानो वस्ती ङेवासाङ,ध्वोङ,थल्चे र ध्यासोङ ।  चार वटा समुहमा विभाजित थियो त्यसले बेला अहिलेको मार्फा गाउँको वस्ती । त्यसबेला ति गाउबाट बेसी आउजाउ गर्ने ४ वटा गोरेटो बाटोहरु थिए । मार्फाली समुदायको त्यसबेला गाउ माथि थियो भने खेतबारी ,बनजंगल र पानी घट्ट सबै तल पथ्र्यो । ४ समुहमा विभाजित मार्फाली समुहरुले दाजुभाई मिलेर भोज भतेर (झोङ्जी) खाने प्रचलन थियो । यसरी दाजुभार्य खलकको झोङ्जी खाने क्रममा अनुकुलता खोज्दै धवाङ भन्ने स्थानमा मार्फालीहरुको एकिक्रित वस्ती निर्माण भयो । धवाङको पुरानो नाम हो तमाङ । तमाङको स्थानीय भाषामा  घोडा राख्ने ठाउँ (तबेला) लाई भन्ने गरिन्छ । घोडा खच्चड राख्ने तमाङलाई उच्चारण गर्दै जाँदा धवाङ रहन पुग्यो । पहाडको भिरालो स्थानमा बसेका उनीहरु सहजता खोज्दै केहीतल धवाङ भन्ने स्थानमा झरेपछि मार्फाली समुदायलाई खेतीपाती, बनजंगल र ढिकी जातो लगायतको कामकाजमा निकै सहज भयो । धवाङमा अन्नबाली लगाउनका लागि मार्फालीहरुले खेतीपाती विस्तार गरे ।

त्यतीले मात्रै मार्फालीहरु सीमित रहेनन् । त्यहाको भन्दा अझै थप सहजता र सुगम स्थान खोज्दै उनीहरु विकल्पको मार्ग पछ्याउन थाले । मार्फलीहरुले धवाङ वस्तीबाट तल जाने तल जाने अर्थात मरी जाने मरी जाने भन्न शब्दवली उच्चारण गथ्र्ये । मरीको शाब्दिक अर्थ बेसी हो । बेसीमा सिचाई,खेतीयोग्य खाली जमिन र वस्ती बस्न लायक देखिएपछि धवाङमा एकिकृत भएको मार्फाली वस्ती मरी (बेसी) झ¥यो ।  कालान्तरमा मरी नाम रहेको मार्फा गाउ अहिलेको बस्ती हो । मार्फाका ९२ वर्षीय स्थानीय पदमप्रसाद ज्वाहारचनले मार्फा गाउँ साविकको हिमालको जरामा रहेको वस्ती क्रमशः सर्दैसर्दै अहिलेको मार्फा  गाउँमा वस्ती स्थान्तरण भएको सुनाए ।

कालिगण्डकी नदीको पश्चिमतर्फको अग्लो भिरालो वस्तीमा स्थान्तरित वस्ती मार्फा धार्मिक,सास्कृतिक,ऐतिहाँसिक एवं स्याउको राजधानीले समेत निकै प्रसिद्ध छ । ढुंगा र माटोले बनेका शताब्दी पुराना ऐतिहाँसिक पम्परागत एक आपसमा जोडिएका पुराना घरहरुले मार्फा गाउको कलात्मक संस्कृतिले मार्फा गाउको सौन्दर्यतालाई उदाहरणीय रुपमा प्रस्तुत गरेको छ । पुराना ढुंगा र माटोले निर्मित परम्परागत घरहरुमा सदिंयौ वर्षदेखि लस्करी चाङपारी सजाईएका दाउराहरुले मार्फाको सास्कृतिक पहिचान र मौलिकतालाई जिवन्त तुल्याएको छ ।

सख्खर माटो बिच्याईएका परम्परागत घरहरुमा बिसुन सुकाउन र पानी नचुहियोस भन्ने उद्देश्यले पूर्वजहरुले घरको चारैतिर दाउरा पाँज्ने प्रचलन रहेको मार्फाकी स्थानीय कमला लालचनले जानकारी दिईन् । त्यसताका घरहरुको छतमाथि दाउरा पाँज्ने प्रचलनले आर्थिक सम्पन्नताको समेत परिचय दिने गरेको उनको भनाई छ । विभिन्न खोज अनुसन्धान तथा पर्यटक आर्कषणका लागि पुरानो परम्परागत घरहरुले पर्यटन प्रर्वद्धनमा टेवा पुगेको उनले सुनाईन् ।

 पछिल्लो विकशित हालको मार्फा गाउँमा अहिले करिव १५० जती घरधुरी छन् । कतिपय मार्फालीहरु वैकल्पिक व्यवसायका लागि जिल्ला छोडेर बेसी स्थान्तरण भईसकेका छन् । गाउँकै थातथलो धानेर बसेका मार्फालीहरुसंगै करिव ५०÷६० घरधुरी दलित समुदायहरुको पनि त्यहाँ बसोबास रहेको छ । त्यहाँ दलित समुदायहरुले मार्फाली बिष्ट समुदायहरुको धर्म कर्म र खेतीपाती लगायतको कामकाजमा सघाउने गर्दै आईरहेका छन् ।


 बेनी—जोमसोम सडकको पश्चिम सडक मार्गदेखि करिव ३ सय मिटर पर भिरालो सतहमा अवस्थित मार्फा गाउ घरपझोङ गाउँपालिकाको नमूना गाउ मध्येको अग्रस्थानमा पर्छ । ढुंगा र माटोले बनेका घरहरुबिचको गारेटो बाटोमा छप्पनी ढुंगा बिच्याईएको छ । गाउभित्र एक दर्जन बढी पर्यटक लक्षित होटलहरु संञ्चालनमा छन् । छैरो तिब्बती शरणार्थीहरुले पनि त्यहाँ समथिङ पसलहरु संञ्चालन गरी व्यवसाय चलाएका छन् ।  

संघीयताको पहिलो कार्यकालमा घरपझोङ गाउँपालिकाले गाउभित्रको अनाधिकृत बिद्युत र टेलिफोन लाईनलाई भूमिगत रुपमा विस्तार गरी मार्फाको सौन्दर्यतालाई  वृद्धि गरेको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मार्फालाई थप पर्यटकीय हबको रुपमा विकास गर्न भित्री गल्लीहरुको बाटोमा सडक बत्ती जडान गरिसकेका छन् । मुस्ताङ भ्रमण गर्न आएका पर्यटकहरु साँझपख मार्फाको भित्री गाउँ पसेपछि झलमल्ल बिजुली बत्तीको उज्यालोले मार्फाको दृष्य गुल्जार देखिन्छ । गाउँपालिका अध्यक्षले आफ्नो गाउ मार्फालाई मुस्ताङको ठमेलको संज्ञा दिएका छन्  । साँच्चै अनुकुल मौसममा सूर्यास्तपछि मार्फा गाउँ काठमान्डौंको ठमेल जस्तै झिलिमिली र पर्यटक चहलपहल पर्यटकीय रौनकता थपिने  अध्यक्ष लालचनले सुनाए ।

मार्फा गाउँभित्रको गल्लीका घरहरुमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरुले सजाईएको छ । कतिपय होटलहरुमा थकाली संस्कृति रहनसहन र परम्परा झल्किने वस्तुहरुले होटलको आर्कषण बढाइएको पाईन्छ । मार्फामा दर्जनौ स्वदेशी तथा विदेशी चलचित्र छायांकन भईसकेकाले पनि मार्फा गाउको पर्यटकीय क्रेज बढेको हो । गाउँ भित्रको   गोरेटो भित्री गल्लीलाई जेरी र कबड्डी गल्ली भनेर समेत नामाकरण गरिएको छ ।

मार्फा गाउँको पश्चिमतर्फको पहाडको भित्तामा कुदिएका कलात्मक रक संस्कृति देख्न पाईन्छ । गाउँभित्र  सम्तेलिङ मार्फा गुम्बा अवस्थित छ । मार्फाको गाउमा माथिको भिरालो सतहमा अर्को भीर गुम्बा पनि छ । यो गुम्बा करिव ३ सय वर्ष पुरानो मानिएको छ । गुम्बामा क्षमा पुजा गरिन्छ । गुम्बामा १ जना अवतारी लामा बस्ने गर्छन।   भीर गुम्बामा गोन्पो भन्ने देवता रहेको धार्मिक जनविश्वास छ ।

 मार्फा गाउभित्र जापानिज भिक्षु बौद्ध धार्मिक यात्री तथा अन्वेषक ईकाई कावागुची बसेको घर छ । सन् १८८८मा तिब्बतमा बुद्ध धर्मको अध्ययनको सिलसिलामा मार्फा गाउँमा  कावागुची बाँस बसेको ऐतिहाँसिक घर छ । बुद्ध धार्मिक यात्री ईकाई कावागुची नेपाल— जापान सम्वन्धका अंग्रदुतको रुपमा लिने गरिन्छ ।

स्याउको राजधानीको रुपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । यहाँका अधिकाँश किसानले व्यवसायिक रुपमा स्याउ खेती अपनाउँदै आईरहेका छन् । निकै मेहनत र परिश्रम गर्न रुचाउने मार्फाली समुदायले स्याउ बारी भित्र अन्तरबालीका रुपमा उवा ,जौ,आलु ,फापर, डाबर र तरकारी बाली उत्पादन गर्ने गर्छन् । 

मार्फा गाउको केही पर शितोष्ण बागवानी विकास केन्द्र अवस्थित छ । स्याउ तथा शितोष्ण फलफूल तथा तरकारी खेतीको उत्पादन,प्रर्वद्धन र विकासका लागि स्थापना भएको यो केन्द्र अहिले नेपालकै एक प्रसिद्ध कृषि तालिम केन्द्र पाठशालाको रुपमा विकशित भईरहेको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुले मार्फा कृषि फार्मको अवलोकन गर्न छुटाउँदैनन् । मार्फामा ६ वटा स्याउको ब्रान्डी बनाउने उद्योगहरु संञ्चालनमा छन् ।  त्यसो त मार्फामा स्याउ भण्डार गर्ने ठुलो स्पेसको कोल्ड स्टोर समेत निर्माण भईसकेकाले पर्यटकले बेमौसममा समेत स्याउको स्वाद चाख्न पाईने व्यवस्था मिलाईएको छ । स्याउ लगायत,खुर्पानी,चिचि र आरुबखडा लगायतका फलफुलहरुको प्रशोधन गरी वाईन र जुसहरु निर्माण गरिन्छ । बगैचामा खेर जाने स्याउलाई सकुटी बनाएर बिक्री गर्ने गरिन्छ ।

बर्सेनि भदौ÷असोजमा मार्फाका स्याउ बगानमा लटरम्म स्याउ फलेकेो दृष्यले पर्यटकहरु निकै उत्साहित हुने गर्छन् । पछिल्लो समय केहीले सडकमार्ग आसपासको स्याउ खेती मासेर पर्यटक लक्षित होटलहरु निर्माण गरिसकेका छन् ।


प्रतिक्रिया