जोमसोम— हिमाली जिल्ला मुस्ताङका बगैचामा अहिले लटरम्म राताम्मे स्याउ फलेको दृष्य देख्न पाईन्छ । गतवर्ष मुस्ताङमा स्याउका लागि मौसम अनुकुल नहुँदा स्याउ उत्पादन घट्दो रहेकोमा यसवर्ष भने स्याउ उत्पादन वृद्धि हुने छनक देखिएको हो ।
जिल्लामा जलवायु परिवर्तनका कारण स्याउ बोटमा विभिन्न रोगकिराको संक्रमण देखिएको भएपनि जिल्लाका सम्वन्धित स्थानीय तह,कृषि ज्ञान केन्द्र ,कृषि प्राविधिक र स्थानीय किसानको पहलमा स्याउमा देखा परेको रोगकिरा नियन्त्रण एक साता भित्रै नियन्त्रणमा लिन सक्दा स्याउ उत्पादनमा कुनै असर नपरेको कृषि ज्ञान केन्द्र मुस्ताङले उल्लेख गरेको छ । गतवर्ष मुस्ताङका बगैचामा स्याउको परागसेचन अर्थात पोलिनेसन हुने समयमा मौसम अनुकुल नहुँदा स्याउ उत्पादनमा ह्रास आएको थियो । अहिले मुस्ताङको मुख्य स्याउ उत्पादन हुने क्षेत्र जिल्लाको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका विभिन्न स्याउ बगैचामा राताम्मे स्याल फलेका छन् । यसवर्ष स्याउको परागसेचन हुने समय चैत्र÷बैशाख महिनामा स्याउ परागसेचनलाई कुनै असर नपुगेका कारण स्याउ उत्पादन अपेक्षित रुपमा वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउ खेती यहाँका प्रमुख नगदेबालीको रुपमा लिईन्छ । बर्सेनि स्याउ उत्पादन गरेर लाखौ रुपैया आम्दानी लिन सकिने भएकाले मुस्ताङका किसानको स्याउ खेतीतर्फको आर्कषण बढेको हो । सहरबजारका पारखीहरु मुस्ताङको स्याउ भन्ने बिक्तिकै हुरुक्कै हुने गर्छन । गण्डकी प्रदेशकै पर्यटकीय लाईफ लाईन मानिएको हिमाली जिल्ला मुस्ताङका स्थानीयहरु स्याउ खेतीतर्फ आर्कर्षि हुँदा यहाँ स्याउ खेतीको क्षेत्र विस्तार र उत्पादकत्व समेत वृृद्धि हुने क्रममा रहेको जनाईन्छ ।
अक्सर मुस्ताङको स्याउ असोज÷कार्तिक महिनामा टिपेर स्थानीय बजार र पोखरा ÷काठमान्डौं सम्म पू¥याईने गरिएको छ । यहाँका स्याउ बगैचामा भदौ नलाग्दै बगैचामा स्याउ फलेर राताम्मे दखिन थालेको हो । अनुकुल मौसम र स्याउ बगैचाको उचित हेरचाह र स्याहार सुसार गर्दा स्याउको उत्पादनको प्रतिफल राम्रो हुने केन्द्र प्रमुख बस्ताकोटीले बताए । मुस्ताङको स्याउ खेतीले उत्पादन तथा बिक्री वितरणमा मात्रै होईन यहाँका राताम्मे स्याउ बगैचाले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कर्षित गर्ने गरेको छ । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमणमा आउने पर्यटकले यहाँको स्याउ बगैचा अवलोकन गर्ने, बगैचामै पुगेर स्याउको स्वाद चाख्न पाउने र स्याउ बगैचामै बसेर फोटो ÷भिडियो तस्विर कैंद गर्न पाईने भएकाले मुस्ताङ भित्रिएका पर्यटकले बेग्लै र फरक खालको अनुभुती गर्ने गर्छन । पछिल्लो समय मुस्ताङका पालिकाहरुले कृषि र पर्यटनलाई संगैसंर्गै लिएर पर्यटन र कृषि रणनीति अख्तियार गर्दैआईरहेको पाईन्छ । जिल्लाको थासाङ—२ कोवाङदेखि लोमान्थाङसम्म स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये सबै भन्दा स्याउ उत्पादनको हब मुस्ताङको घरपझोङ गाउँपालिका रहेको कृषि ज्ञानकेन्द्र मुस्ताङको तथ्यांकले देखउाँछ । यसका अलावा क्रमशः वारागुङ मुत्तिक्षेत्र ,थासाङ, लोेघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्याउ उत्पादन हुन्छ ।
मुस्ताङका किसानले बर्सेनि बगैचाबाट स्याउ टिपेर मंसिर,पुस र माघ महिनामा बगैचा पतझड विहिन बगैचालाई अर्को वर्षका लागि बगैचा व्यवस्थापनकार्यमा जुट्ने गर्छन । स्याउ बोटको अनाधिकृत हाँगाबिगा काँटछाट गर्ने,सिचाईको पहुँच पू¥याउने, स्याउ बगैचा मलजल र गोडमेल गर्ने र स्याउ बगैचमा लाग्ने विभिन्न रोगकिरा नियन्त्रण गर्न विषादी छर्किन आदी कार्यमा मुस्ताङका किसान व्यस्त हुने गर्छन् ।
मुस्ताङमा बर्सेनि स्याउ खरिद गर्न जिल्ला बाहिरका उल्लेख्य स्याउ ब्यापारीहरु मुस्ताङ आउने गर्छन । जिल्लाका स्थानीय ब्यापारीले पनि मुस्ताङका किसानले उत्पादन गरेको स्याउ खरिद गरी बजारसम्म पू¥याउने गर्छन । मुस्ताङमा स्याउ फल्ने सिजन भदौ महिनामा जिल्ला भित्र र जिल्ला बाहिरका ब्यापारीहरुले स्याउ किसानलाई पेश्की अर्थात स्याउ बगैचा ठेक्का लगाउन बैनापट्टा गर्ने प्रचलन रहेको जोमसोमका किसान अजित थकालीले जानकारी दिए । मुस्ताङमा केहीवर्ष अघि स्याउ नपाक्दै बगैचाबाट स्याउ टिपेर बजार पू¥याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताको गुनासो चुलिएको थियो । पछिल्ला ३ आर्थिक वर्षमा मुस्ताङमा असोज अगावै बगैचाबाट स्याउ टिप्न नपाउने नियमलाई पनि कार्यान्वयनमा ल्याउन थालिएको थकालीले उल्लेख गरे । स्याउमा रस भरिएर मात्रै बजारिकरण गर्दा स्याउको गुणस्तर राम्रो हुने किसान थकालीको भनाई छ ।
गत वर्ष मुस्ताङमा स्याउ बोटमा अनुकुल समयमा परागसेचन हुन नपउँदा जिल्लामा स्याउ उत्पादन (२४.५८) प्रतिशत अर्थात १ हजार ६२१ मेट्रिक टन स्याउ उत्पादन कम भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएकोमा गतवर्ष ४ हजार ९७५ मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो । तर, यसवर्ष स्याउ उत्पादन क्षमता पुरानै लयमा फर्किने छनक देखिएको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए । पोहोर साल ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन हुँदा ५९ करोड ३७ लाख रुपैया मुस्ताङ भित्रिएको कृषि अधिकृत थकालीले स्मरण गरे । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा ४ र ५ स्याउ उत्पादनमा कुनै समस्या नरहेपनि पालिकाको वडा १ र ३ मा जलवायु परिवर्तनको असरका कारण रोगकिराको संक्रमण देखिएकाले स्याउको गुणस्तर उत्पादनमा असर पुगेको वारागुङका कृषि शाखा अधिकृत विकास पाण्डेले उल्लेख गरे । गतवर्ष स्याउ उत्पादन राम्रो भएको छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादनमा रोगकिराको प्रकोपले समस्या उत्पन्न भएको जनाए ।
मुस्ताङमा उत्पादन हुने स्याउ मध्ये २० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । गुणस्तरीय स्याउ बजार पठाईने गरिएको छ भने कम गुणस्तरका स्याउलाई प्रशोधन गरी स्याउको सुकुटी,जाम,जुस र ब्रान्डी बनाईने गरिन्छ ।
मुस्ताङका ५ स्थानीय तहमा कुल १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये पछिल्लो समय ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले मात्रै उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्र मुस्ताङले जनाएको छ । केन्द्रमा स्याउ उत्पादन गर्ने १५० भन्दा बढी कृषि फर्म,सहकारी र समुह आवद्ध भईसकेका छन् । जिल्लाको ५ वटै स्थानीय तहमा सडक संञ्जालको पहुँच पुगिसकेकाले स्याउको बजारिकरणमा कुनै समस्या नरहेको केन्द्रको ठम्याई छ ।
मुस्ताङमा परम्परागत स्थानीय उन्नत जातका लोकल स्याउका अलावा ईटालीबाट आयात गरिएको उच्चघनत्वको (हाईब्रिट) स्याउ खेतीतर्फ स्थानीय कृषकको आर्कषण बढेको हो । सार्वजनिक खेर गईरहेका बाँझो जग्गा र कालिगण्डकी नदीको तटीय खोली जग्गामा सामुहिक स्याउ खेती विस्तार भईरहेको छ । जिल्लामा स्थानीय उन्नत जातका रेड डेलिसियस,रोयल डेलिसियस,गोल्डेन डेलिसियस,रिचारेड डेलिसियस लगायतको व्यवसायिक स्याउ खेती गरिएको छ । यस्तै, लगाएको पहिलो वर्षमै उत्पादन दिने उच्चघनत्वको (हाईब्रिट) स्याउ खेतीतर्फ गाला,फुजी,गोल्डेन डेलिसियस,किङरोड ,रेड डेलिसियस र जोना प्रिन्स जातका स्याउ खेती गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता