अवरुद्ध (कागबेनी— मुक्तिनाथ) सडकको हिउँ पन्छ्याईदै

भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको (कागबेनी—मुक्तिनाथ) सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको सडक खन्ने उपकरण डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितीमा अवरुद्ध कागबेनी—मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी—मुक्तिनाथ सडकको बाँक्लो हिउँ पन्छ्याउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । कागबेनी—मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहेपनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छ्याउन डोजर पठाईसकेको आयोजना प्रमुख शर्माको भनाई छ ।

मंगलबारको भारी हिमपातले अवरुद्ध कागबेनी—मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन डोजर परिचालन गरिएको वारागुङ—४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिनुभयो । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छ्याउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाई छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाँक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छ्याएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताउँनुभयो । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउने कार्य भर्खरै सुरु भएको उहाँको भनाई छ ।

यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी—मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँ स्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भएपनि हिमपात नरोकिएका कारण हिउँ पन्छ्याउन कार्यलाई स्थगित गरेको थियो । बिहिबार जिल्ला स्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छ्याउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र—१ का अर्का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।

 यसैगरी कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले मुक्तिनाथ सडकको हिउँ पन्छ्याएपछि कागबेनी—कोरला सडकको हिउँ पन्छ्याउन सुरु गरिने बताएको छ ।  आयोजनाले कागबेनी—कोरला सडकको हिउँ पन्छ्याउन ३÷४ दिन समय लाग्ने बताएको छ । आयोजनाको कार्यक्षेत्र भएकाले अवरुद्ध कोरला सडक सञ्चालन गरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी कार्यलाई सहज पार्ने गरी अघि बढेको आयोजनाको भनाई छ ।

 भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौं दर्शनार्थी भक्तजनहरु बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छ्याएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थीहरु बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् ।

 हिमपातका कारण कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिर समेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पुजापाठमै सीमित हुन पुगेको छ ।

प्रतिक्रिया