मुस्ताङको छेङ्गुरमा बन्यो हाईअल्टिच्युड खेल मैदान

जोमसोम—  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ छेङ्गुरमा हाईअल्टिच्युड खेलमैदान निर्माण गरिएको छ । त्यहाँ हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेलकुद मैदान निर्माण गरिएको हो ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत चालु वर्ष विनियोजित तीस लाख बजेट मार्फत समून्द्री सतहको तीन हजार नौ सय मिटर उच्चउचाईको वारागुङ—२ छेङ्गुर गाउँ माथिको पाखोमा हाईअल्टिच्युड खेलमैदान निर्माण गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । ‘‘चालु आर्थिक वर्षमा विनियोजित बजेटले त्यहाँ हाईअल्टिच्युड खेलकुद मैदान निर्माण गरिएको हो, त्यहाँ स्थानीय उपभोक्ता समिति मार्फत खेलमैदान निर्माणको काम भएको हो,’कार्यालय प्रमुख दर्जीले भन्नुभयो,‘ कार्यालयको सीमित बजेटले त्यहाँ खेलकुद मैदानको को लागि जमिन सम्याउने, फिलिङ गर्ने,कटिङ गर्ने र खेल मैदानको ग्रेड मिलाउने काम सम्पन्न भएको हो ।’

 छेङ्गुर हाईअल्टिच्युड खेलमैदान निर्माण उपभोक्ता समितिका सचिव  गमबहादुर गुरुङले सामाजिक विकास कार्यालयको बजेट मार्फत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ छेङ्गुरमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माण गरिएको बताउँनुभयो । कार्यालयको सीमित बजेटले प्रारम्भिक चरणमा खेलकुद पूर्वाधार निर्माण अन्तर्गत फुटबल मैदान निर्माण भएको उपभोक्ता समितिका सचिव गुरुङको भनाई छ ।

‘यहाँ खेलकुद मैदान निर्माण भएपनि त्यसका लागि थुप्रै पूर्वाधारहरु निर्माण गर्न बाँकी छन्,’उहाँले भन्नुभयो,‘ खेलकुद स्टेज निर्माण,प्याराफिट निर्माण ,ड्रेन निर्माण र रंगरोगन लगायतका काम बाँकी छ ।’’ उनले सरकारले यहाँ हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने जनाएपनि सीमित मात्रको बजेटले त्यो तत्काल संम्भव नरहेको बताउँनुभयो । यसका लागि यहाँ ठुलै आकारको बजेट विनियोजन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 मुस्ताङको छेङ्गुरमा हाईअल्टिच्युड खेलमैदान निर्माण भएसंगै त्यहाँ बृहत्त प्रकारको हाईअल्टिच्युड फुटबल खेल सञ्चालन गर्न सकिने स्थानीय धावा छिरिङ गुरुङले उल्लेख गर्नुभयो । यहाँको खेलमैदान निर्माण गण्डकी प्रदेश सरकारले हाईअल्टिच्युड अन्तराष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्य अनुरुप बनेको स्थानीय धावा छिरिङ गुरुङको भनाई छ । यसका लागि यहाँको ५७० रोपनी जग्गा सरकारको नाममा दर्ज भईसकेको बताउँनुभयो ।

 यहाँ प्रारम्भिक चरणमा फुटबल खेल मैदान बनेको र अब क्रमशः यसस्थानमा कहाँ कहाँ खेलका लागि कुन कुन स्थान उपयुक्त हुन्छ सोही अनुसार पूर्वाधार निर्माण हुँदै जाने स्थानीय गुरुङले विश्वाश व्यक्त गर्नुभयो ।

 यहाँको ठाउँ सबै हिसाबले पर्वतीय हाईअल्टिच्युड खेलकुद ट्रेनिङ सेन्टरका लागि उपयुक्त स्थान रहेको स्थानीय गुरुङको भनाई छ । यहाँ नजिकै मुक्तिनाथ मन्दिर र राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत विश्वकै अग्लो उचाईमा रहेको थोरङ्लापास यसै स्थान नजिकै रहेको र सडक यातायातको पहुँच समेत सहज भएकाले यहाँ अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले उल्लेख गर्नुभयो । यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिने सकिने र यसका लागि सरकारले छिटो भन्दा छिटो पुर्वाधार निर्माणमा जोड दिनुपर्ने अध्यक्ष गुरुङले सुझाउँनुभयो ।

 मुक्तिनाथ क्षेत्रमा अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गर्नुभयो ।

 यता,  सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ छेङ्गुरमा  हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्ती र डीपीआर निर्माणको काम अघि बढाउने जनाएको छ । मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले मुक्तिनाथ क्षेत्रको छेङ्गुरमा हाईअल्टिच्युड ट्रेनिङ सेन्टरको जग्गा प्राप्ति र डीपीआर निर्माण गर्न आगामी आर्थिक वर्षका लागि पन्ध्र लाख बजेट विनियोजन भईसकेको बताउँनुभयो ।


प्रतिक्रिया