जोमसोम ।
दसै पर्व अघिको सोह्र श्राद्ध तिथि चलिरहँदा यहाँको वारागुङ मुक्तिक्षेत्र—४ स्थित कागबेनीधाममा दिवंगत पितृहरुको नाम पुजाअर्चना गर्ने भक्तजनहरुको रौनक देखिदैन । देसमा पछिल्लो राजनीतिक घटनाक्रम र उत्पन्न परिस्थितीका कारण यसवर्ष यहाँ अवस्थित पवित्र धार्मिक कालिगण्डकी संगम स्थलमा श्रद्धालु भक्तजनहरुको उपस्थिती ज्यादै कम भएको हो ।
यहाँको कागबेनीधाममा बर्सेनि बडादसै र चैत दसै औसीमा स्वदेश तथा विदेशबाट हजारौ श्रद्धालु भक्तजनहरु यहाँको कागबेनी स्थित कालिगण्डकी दोभानमा दिवंगत पितृ उद्दारका लागि कर्म गर्न आउँथे । दसैको सोह्र श्राद्ध प्रारम्भ भएदेखि औसी तिथिसम्म यहाँ भक्तजनहरुको आगमनले थेगिनसक्नु हुन्थ्यो । सामान्य अवस्थामा यहाँको कागबेनीमा कागबेनी बजार र त्यस आसपासका क्षेत्रमा भक्तजनको भीडले भक्तजनहरुको व्यवस्थापन गर्न समेत निकै हम्मेहम्मे पथ्र्यो ।तर ,यसपालि त्यो अवस्था कागबेनीमा देखिएको छैन ।
यहाँको पवित्र पावन भूमी कागबेनीधाममा विगतका वर्षहरुमा हजारौं भक्तजनहरु दिवंगत पितृहरुको नाममा श्राद्ध,तर्पण र पिण्डदान गर्न आउँथे । सोह्र श्राद्धको औसीमा एकैदिन २० हजार भन्दा बढी भक्तजनहरुले कागबनीमा श्राद्ध गर्न आउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।तर, यसपटक भने जेनजी युवा आन्दोलनका कारण उत्पन्न परिस्थिती र बेनी—जोमसोम सडकमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँको कागबेनी धाममा श्राद्ध गर्न आउँने भक्तजनहरुको उपस्थिती ज्यादैनै नगण्य रहेको कागबेनीधामका पुजारी ईश्वर रेग्मीले जानकारी दिनुभयो । देसको समसामयिक उत्पन्न परिस्थितीका कारण विगत वर्षको भन्दा अहिले पाँच प्रतिशत मात्रै भक्तजन यहाँ आईरहेको पुजारी रेग्मीले उल्लेख गर्नुभयो ।
यसवर्षको सोह्र श्राद्ध चलिरहँदा भक्तजनहरुको उपस्थित नहुँदा त्यहाँको कागबेनी धाममा श्राद्ध गर्ने पुजारीहरु समेत निरास भएको देखिन्छ । कागबेनीमा झन्डै चार दर्जन पुजारीहरु भक्तजनहरुले गर्ने कर्मका लागि खटिएको भएपनि त्यहाँका पुजारी फुर्सदिला बनेका छन् । कागबेनीका होटल व्यवसायी सन्त तामाङका अनुसार यसवर्ष कागबेनी धाममा सोह्र श्राद्ध चलिरहँदा पनि भक्तजनहरुको उपस्थिती शून्य रहेको बताउँनुभयो । यो एकदमै धार्मिक पर्यटनको समय भएको भएपनि सर्वसाधारण भक्तजनहरुको देसको विद्यमान परिस्थितीका कारण यहाँ आउन नसकेको उल्लेख गर्नुभयो । ‘विगतका वर्षहरुमा यहाँ आउने भक्तजनहरुलाई उम्काउन निकै हम्मे पर्ने गथ्र्यो, यसपटक सुनसान जस्तै छ,’ ब्यवसायी तामाङले भने,‘ यो वर्ष त ब्यापार व्यवसायनै धरापमा प¥र्यो,धार्मिक पर्यटक आउँलान् जस्तो लाग्दैन ।’
यसवर्षको दसै सोह्र श्राद्ध तिथिको एघारौ दिन कटिसक्दा समेत कागबेनीमा श्राद्ध गर्न आउनेको संख्या निकै कम भएको हो । कागबेनीमा भक्तजन सवार बस,जिप र मोटरसाईकलले त्यहाँको कागबेनी बगरमा पुरै भरिन्थ्यो । यसपटक त्यस्तो अवस्था नरहेको त्यहाँका पुजारीहरु बताउँछन् ।
दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथ बग्ने गण्डकी नदीको संगम स्थल मुस्ताङको कागबेनी धामको तटीय क्षेत्रमा दिवंगत पितृहरुको नाममा श्राद्ध ,तर्पण र पिण्डदान गर्नाले दिवगत पितृहरुलाई हजारौ गुणा फल प्राप्ति हुने हिन्दु शास्त्रहरुमा उल्लेख छ । यहाँको कागबेनीमा श्राद्ध गर्न आउने भक्तजनहरु यहाँ कर्म गरी मुक्तिनाथ मन्दिरको दर्शन गरि फर्कन्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली