जोमसोम— ऐतिहाँसिक, धार्मिक तथा सास्कृतिक पर्व यार्तुङ हिमाली जिल्ला मुस्ताङको एक महत्वपूर्ण पर्व हो । यो पर्व उपल्लो मुस्ताङ र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विशेष महत्वका साथ मनाउने प्रचलन छ ।
यारको अर्थ बर्खा र तुङको अर्थ अन्त्य । हिउँदयामको समाप्तिसंगै हिउँदयामको पूर्वसन्ध्यामा मनाईने भएकाले यसपर्वलाई स्थानीय भाषामा यार्तुङ भन्ने गरिएको हो । यो पर्व परापूर्वकालदेखिनै सांस्कृतिक पर्वको रुपमा अनुशरण गर्दैआईको पाईन्छ । बर्खायाम सकिएर हिउँयामको समयमा मनाईने यार्तुङ पर्व मुख्यतया यहाँका गुरुङ,बिष्ट र लोवा समुदायका मानिसहरुले हर्षउल्लासका साथ मनाउने गर्छन । बर्सेनि बर्खायामको उत्तरार्धमा उवा,जौ लगायतका बाली घरमा भित्र्याएर खेतबारीमा फापर लगायतका बाली छरेपछि मुस्ताङका किसान फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा ईष्टमित्र,आफन्तजन,साथीभाई र गाउँसमाज एक थलोमा भेला भएर एकआपसमा सम्वन्धलाई प्रगाढ बनाउन यार्तुङ पर्व मनाउने प्रचलन रहेको हो ।
हिमाली आदीबासी जनसमुदायको मौलिक धार्मिक तथा सास्कृतिक पर्व यार्तुङसंग घोडा र तारा खेल अर्थात धनुषबाणको ऐतिहाँसिक तथा धार्मिक कनेक्टिभिटी रहेको छ । यसपर्वमा घोडा दौडाउने र तारा नखेल्ने हो पर्वनै अर्थविहिन हुन्छ । यसैले पनि लोपोन्मुख अवस्था रहेका घोडाहरु अझै यसप्रकारका चाडपर्वलाई भनेर संरक्षित गरिपालन गरिएको छ ।
यार्तुङ पर्वकै अवसरमा जनप्रिय युवाक्लव मुक्तिनाथले पर्व जोगाउन यार्तुङ मेला आयोजना ग¥यो । यो पर्व बिहिबार सुरु भएर मंगलबार सकिएको छ । यार्तुङ पर्वमा यसवर्ष मुस्ताङकै ईतिहाँसमा कदम घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । छिमेकी जिल्ला मनाङसहित सिंगो मुस्ताङ जिल्लाबाट सहभागी रहेको यस प्रतियोगितामा कुल १८ जना घोडा धनीले सहभागिता जनाएका । मुक्तिनाथ स्थित पुराङ रानीपौवा बजार क्षेत्रमा घोडा दौडको रोमाञ्चक प्रतिस्पर्धा हेर्न सयौं दर्शकहरु मुक्तिनाथ क्षेत्रमा पुगे । जनप्रिय युवाक्लवको आयोजना तथा व्यवस्थापन भएको कदम घोडा दौडमा ५ जना निर्णायक खटाईएको थियो । जसममा उपल्लो मुस्ताङ र मनाङसहित वारागुङ मुक्तिक्षेत्रका गरी ५ जना निर्णायकले कदम घोडा दौडको मूल्यांकन गरेका थिए । ५० पूर्णाङकको उक्त प्रतिस्पर्धामा मनाङका भुजुङ गुरुङको साक्पा नामक घोडा च्याम्पियन बन्यो ।
सोही दिन भएको अर्को खुल्ला घोडा दौड प्रतियोगितामा वारागुङ—१ झारकोटका नम्डु गुरुङको सिंकी घोडा च्याम्पियन बनेको थियो । घोडा दौडका पुरस्कृति प्रतियोगिहरुलाई जनप्रिय युवाक्लवले आर्कषक पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान ग¥यो ।
यार्तुङ पर्व मुख्यदिन मुक्तिनाथ पुराङ रानीपौवाका अंग्रज ज्येष्ठ नागरिक तथा युवाहरुमा आफ्नो जातीय भेषभुषासहितको पहिरनमा घोडामा सवार हुँदै मुक्तिनाथमा पुजा गर्न गए । यसरी जाँदा मौलिक सांस्कृतिक भाषामा यार्तुङ सम्वन्धि स्थानीय गीत गाउँदै मुक्तिनाथ पुगे । मुक्तिनाथमा पुजा र बत्ती बालेर उक्त टोली रानीपौवामा गाउँमा फर्किएको थियो । यसको केही समयपछि सोही क्षेत्रको अर्को गाउँ झारकोटका पुरुष तथा महिलाहरु पनि मौलिक भेषभुषामा सजिएर स्थानीय भाषामा यार्तुङ गीग गाउँदै मुक्तिनाथमा पुजाआजा र बत्ती बाल्न पुगे । यसरी पुराङ रानीपौवा र झारकोटको टोली रानीपौवामा फर्किएपछि उनीहरुको यार्तुङ पर्व सुरु गरिएको थियो ।
विशेष यार्तुङ पर्वको दिन झारकोट र पुराङ रानीपौवाका स्थानीय नागरिकले मौलिक भेषभुषा पहिरिएर रानीपौवा बजारक्षेत्रमा घोडा दौडको कलाकौशल प्रर्दशन गरिएको थियो । हिमालीक्षेत्रमा शिकार खेल्दा र युद्ध अभ्यास गर्दा घोडाको प्रयोगले निकै ठुलो अर्थ राख्दछ । यही शाहसिक घोडा दौडको महत्वले यार्तुङ पर्वको सास्कृतिक धरोहरलाई जिवन्त तुल्याएको छ । यार्तुङ पर्वमा घोडा दौडाउने ,घोडा चढेर जम.जमिनमा राखिएको खाँदा टिप्ने र घोडा दौडाउँदै धनुषवाण प्रहार गर्ने हिमाली कलासंस्कृति मुक्तिनाथ यार्तुङ मेलामा प्रर्दशन गरिएको थियो । यार्तुङ पर्वको अन्तिमदिन घोडा दौडाउन कलाकौशलको प्रर्दशन सकिएपछि झारकोट र पुराङ रानीपौवाका स्थानीय नागरिकहरुले संयुक्त रुपमा गोलबन्द भई स्थानीय भाषामा गीत गाउँदै स्याब्रो नाच देखाईएको थियो ।
यसअघि यार्तुङ पर्वको अवसरमा जनप्रिय युवाक्लवले ताराखेल ,हाईअल्टिच्युड फुटबल र डोरी तान्ने लगायतका खेलहरु आयोजना गरेको थियो । डेढ दशक अघि वारागुङ मुक्तिक्षेत्रका विभिन्न गाउँहरु मुक्तिनाथमा भेला भएर संयुक्त रुपमा यार्तुङ पर्व मनाउने गरेतापनि अहिले कतिपय गाउँहरुले यार्तुङ पर्वमा सहभागि हुन छोडेको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । बैदेशिक युवा पलायन,बसाईसराई र पाश्चात्य संस्कृति पछ्याउने परिपाटीका कारण हिमाली संस्कृति र मौलिकता धरापमा पर्न आटेको अध्यक्ष ठकुरीको दावी छ । उनले हिमाली क्षेत्रको संस्कृति र मौलिकता गुमेमा यहाँको जातीय पहिचान र मुस्ताङ जिल्लाका सांस्कृतिक पहिचान गुम्नसक्ने बताए ।
वारागुङका अंग्रज व्यक्तित्व गोम्वो गुरुङले युवाहरुले संस्कृति पछ्याउन छोडेको बताए । ‘अब पुराना पुस्ताका ज्येष्ठ नागरिक बितेर गईसकेका छन्, अब नयाँले सिक्ने चेष्ठा राख्दैन,’उनले भने,‘ अब संस्कृतिक संरक्षण गर्न नयाँ ढंगले सोच्नु पर्ने बेला आएको छ, मैले युटुबमा समेत सांस्कृतिक गीतहरु अपलोड गरी राखेको छु ।
जनप्रिय युवाक्लवले संकटमा पर्दै गईरहेको लोपन्मुख धर्मसस्कृति जोगाउन र युवापुस्ताहरुलाई मेलाको रुपमा आयोजना गरी एकआपसमा जोड्न मेला चलाएर युवालाई जोड्ने प्रयास गर्दैआईरहेको छ । गाउँघरका युवालाई पर्वका माध्यमबाट आत्मिय सम्वन्ध तथा आपसी भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले यार्तुङ पर्व मेलाको रुपमा विस्तार भईरहेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली