जोमसोम ।
नेपाल—चिन उत्तरी कोरलानाका स्थित लोमान्थाङ—२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलो पटक यहाँ सोमबार ७४ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाएको छ । प्रतिकूल मौसमका कारण मुस्ताङ भन्सार कार्यालयले मुस्ताङको जोमसोम स्थित होटल प्राईडमा एक औपचारिक कार्यक्रम गरी ७४ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाएको हो ।
भन्सार दिवसका अवसरमा यहाँको मुस्ताङ भन्सार कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई प्रमाणपत्र विभागले प्रमाणपत्रद्वारा सम्मान गरेको छ । नेपाल—चिन सीमानाको कठिन भूगोलमा रहेर भन्सार प्रशासनको कार्यसम्पादन,लगनशील र कर्तव्यनिष्ट भएर सेवाग्राहीमैत्री कार्य उल्लेख गर्दै भन्सार विभागले सम्मान अर्पण गरेको हो ।
यसैगरी यहाँको मुस्ताङ भन्सार कार्यालय भन्सार दिवसको अवसर पारेर सबैभन्दा धेरै निकासी तथा पैठारी गर्ने व्यवसायीहरुलाई सम्मान गरेको छ । व्यवसायीहरुको मनोबल उच्च राख्ने र मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याउने उद्देश्यले पुस मशान्तसम्म मुस्ताङ भन्सारबाट सबैभन्दा धेरै मुल्यको माल वस्तु निकासी गर्ने अष्ठ मंगल प्राईभेट कम्पनीलाई प्रमाणपत्रद्वारा सम्मान गरेको मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । निमित्त प्रमुख खड्का अनुसार नेपाल—चिन उत्तरी कोरलानाकाबाट सबै भन्दा बढी मालवस्तु पैठारी गर्ने मेनल्यान्ड सिपिंङ एण्ड लजिस्टिक कम्पनीलाई पनि प्रमाणपत्रद्वारा सम्मान अर्पण गरिएको हो ।
मुस्ताङका प्रजिअ अजिता शर्मा र मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख रमेश खड्का लगायतका सम्मानित व्यवसायी तथा कर्मचारीलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
मुस्ताङ भन्सार कार्यालयद्वारा सबैभन्दा बढी पैठारी गर्ने साईमेक्स ईन्क प्रा.लि.ले गत भदौ ३१ गतेदेखि हालसम्म ४ अर्ब २३ करोड ४२ लाखको मालवस्तु पैठारी गरेको थियो । जसवापतको पैठारी भन्सार राजश्व २ अर्ब ४७ करोड ७४ लाख रुपैया राजश्व संकलन भएको थियो । यसैगरी निकासीतर्फ अष्टा मंगल कम्पनीले ६ करोड ५६ लाख ९४ हजार रुपैया बराबरको कारोबार गरेको मुस्ताङ भन्सारले उल्लेख गरेको छ ।नेपालबाट चिनतर्फ हस्तकला, गार्मेन्ट र नेपाली उत्पादनका मालवस्तु रहेको जनाईएको छ ।
मुस्ताङ भन्सार कार्यालयद्वारा आयोजित दिवस कार्यक्रमको उद्घाटन गर्दै मुस्ताङका प्रजिअ अजिता शर्माले मुस्ताङ भन्सार कार्यालयलाई थप गतिशील र सेवामैत्री तुल्याउन सबै सरोकारवाला निकायहरुमा महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । भन्सारलाई थप जिम्मेवार र उत्तरदायी बनाउँदै आगामी दिनमा भन्सार प्रशासनलाई थप सुधार गर्दै लैजान प्रविधि रुपान्तरणमा जोड दिनुपर्ने प्रजिअ शर्माको भनाई छ ।
नेपाल—चिन कोरला सीमानाकाबाट हुनसक्ने अवैंध ओसार÷पोसार नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न भन्सार कार्यालय जवाफदेही भएर कार्यसम्पादन गर्नुपर्ने सुझाउनु भयो । सीमानाकाबाट बैधानिक ढंगलको आर्थिक कारोबारलाई भन्सार कार्यालयले ब्यापार प्रर्वद्धनका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बताउँनुभयो ।
यहाँ माथिल्लो मुस्ताङ स्थित न्हेचुङमा २०१३ सालमा मुस्ताङ भन्सार कार्यालय स्थापना भएको बताउँनुभयो । यहाँको मुस्ताङ भन्सारलाई राज्यपक्षले उपेक्षा गरेजस्तो खासै चाँसो नदिएको र यहाँको भन्सार छोटी भन्सार जस्तै चलेकोमा पछिल्लो समय भन्सार कार्यालय पूर्ण रुपमा आउन सफल भएको निमित्त भन्सार प्रमुख खड्काले बताउँनुभयो । रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण कोरलानाका बैकल्पिक नाकाको रुपमा प्रयोग भएको भन्सार विभागले यहाँको नाकालाई पूर्ण रुपमा खुलाएपछि आर्थिक राजश्व वृद्धि र व्यवसायी समेतलाई निकै सहज भएको निमित्त भन्सार प्रमुख खड्काको भनाई छ ।
यसैगरी व्यवसायी प्रभु अधिकारीले तातोपानी र रसुवागढी नाका बन्द हुँदा व्यवसायीहरुकै जोडबलमा कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएको र यहाँको नाकाबाट व्यवसायीलाई ठुलो राहत पु¥याएको बताउँनुभयो । मुस्ताङमा जनसंख्या कम र भएका युवाहरु पनि विदेश पलायन भएकाले व्यवसायीहरुको लागि लोड अनलोड र सवारी चलाउने चालक व्यवस्थापनमा निकै गाह्रो परेको बताउँनुभयो । व्यवसायी अधिकारीले व्यवसायीहरुको मालवस्तु आयात÷निर्यातलाई सहज तुल्याउन लोड अनलोड र चालक व्यवस्थापन गर्न जिल्ला बाहिरका जनशक्तिलाई अनुमतिको व्यवस्था भएमा व्यवसायीहरुलाई धेरैनै सुविधा हुने भएकाले यसतर्फ पहल गर्न अनुरोध गर्नुभयो ।
मुस्ताङ उद्योग वाणिज्य संघका सचिव तिलक बि.क.ले कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपनि भन्सार कार्यालय र कोरलानाकाको सम्पूर्ण व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । कोरलानाकाबाट मालवस्तु निकासी तथा पैठारी गर्ने व्यवसायीहरुलाई परेको अप्ठ्यारो र चुनौतिको गाँठो फुकाउन मुस्ताङ उद्योग वाणिज्य संघले संस्थागत रुपमा पहल र समन्वय गर्ने सचिव बि.क.को भनाई छ ।
गत भदौं ३१ गतेबाट पूर्ण रुपमा संञ्चालनमा आएको यहाँको नेपाल—चिन कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले ५ अर्ब ५४ करोड ३ लाख रुपैया राजश्व संकलन गरेको छ । भन्सारका निमित्त प्रमुख रमेश खड्का अनुसार कोरलानाकाबाट ११ करोड ९१ लाख बराबरको मालवस्तुको निकासी पैठारी भएको छ ।
मुस्ताङ भन्सारबाट हालसम्म ११ अर्ब ७१ करोड ४० लाख रुपैया बराबरको पैठारी र २० करोड ३० लाख बराबरको मालवस्तु निकासी भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ । चिनबाट कोरलानाका हुँदै हालसम्म दुई हजार ३२९ वटा बिद्युतीय सवारी नेपाल भित्रिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली