गत बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य राजनीतिक दललाई प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फ कम परेको छ । यहाँ नेपाली कांग्रेस,एमाले,नेकपा र राप्रपाका उम्मेदवारले प्राप्त गरेको मत भन्दा समानुपातिकतर्फको मत परिणाम कम परेको हो ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा रास्वपाले समानुपातिकतर्फ दुई हजार ३१३ मत पाएको छ । रास्वपा उम्मेदवारले प्राप्त गरेको मत संख्या भन्दा रास्वपाको समानुपातिक मत संख्या एक हजार ५५४ मत अर्थात ६७ प्रतिशत बढी हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काँगेसका उम्मेदवार योगेश गौचन थकालीले तीन हजार ३०७ प्राप्त गरी विजयी हुँदा कांग्रेसले प्रत्यक्ष भन्दा समानुपातिकतर्फ कम मत पाएको छ । यहाँ काँगेसको प्रत्यक्ष मत परिणाम भन्दा समानुपातिकतर्फको मत परिणाम ७८६ अर्थात २३ प्रतिशत कम रहेको छ ।
नेकपा (एमाले) उम्मेदवार ईन्द्रधारा ढाडु बिष्टले प्रत्यक्षतर्फ एक हजार ८०६ मत प्राप्त गर्दा एमालेको समानुपातिक मत एक हजार २०४ छ । यहाँ एमालेका उम्मेदवार बिष्टले पाएको मत परिणाम भन्दा एमालेको समानुपातिक मत परिणाम ६०२अर्थात ३३ प्रतिशत कम खसेको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ङुटुक गुरुङ( टाईगर)ले १५१ मत प्राप्त गर्दा सो पार्टीको समानुपातिक मत परिणाम १२६ मत पाएको छ ।नेकपाको प्रत्यक्षतर्फको मत परिणाम भन्दा समानुपातिक तर्फ २६ मत अर्थात (१६.५५) प्रतिशत मत कम पाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि प्रत्यक्ष भन्दा समानुपातिकतर्फको मत परिणाम खस्किएको छ । यहाँ राप्रपा उम्मेदवार कमला लालचनले १६१ मत प्राप्त गर्दा सो पार्टीले समानुपातिकतर्फ जम्मा १२३ मत मात्रै पाएको छ । राप्रपाले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ ३८ मत अर्थात (२३.६०) प्रतिशत समानुपातिक मत कम पाएको हो ।
प्रत्यक्षतर्फ उम्मेदवारी नदिएको हर्कराज साम्पाङको श्रमसंस्कृति पार्टीले समानुपातिकतर्फ १३६ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङमा प्रत्यक्षतर्फ एघार हजार ३२८ मत संख्या रहेकोमा ६२९८ मत अर्थात (५६.४७) प्रतिशत मत खसेको थियो । जसमध्ये १०७ मत बदर भएको थियो ।
मुस्ताङमा नेपाली कांग्रेस,एमाले र रास्वपाबाहेक अन्य पाँच पार्टीका उम्मेदवारको जमानत जफत भएको छ । यहाँ प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारले (५२.५०) प्रतिशत ,एमाले उम्मेदवारले (२८.६२) प्रतिशत र रास्वपा उम्मेदवारले (१२.०५) प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ अन्य दलले खसेको मतको १० प्रतिशत कटाउन नसकेका कारण जमानत धरौटी जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ मुस्ताङमा ६ हजार ६७६ मत खसेको थियो । जसमध्ये ९० मत बदर भएको थियो । समानुपातिकतर्फ कुल खसेको मत मध्ये कांग्रेसले (३७.७६) प्रतिशत, रास्वपाले (३४.६४) प्रतिशत र एमालेले (१३.५४) प्रतिशत मत प्राप्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता