सन् २०२६ को अगस्टसम्म दुई लाख ६४ हजार बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

सन् २०२६ को जनवरीदेखि अगस्ट सम्मको आठ महिना अवधिमा दुई  लाख ६४ हजार ३३७ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण क्षेत्र कार्यालय (एक्याप) जोमसोम चेक पोस्टको विवरण अनुसार सन् २०२५ को अगस्टसम्मको तुलनामा सन् २०२६ को अगस्टसम्म मुस्ताङमा एक लाख ४७ हजार ५५० जना अर्थात (१२६.३४) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको पाईएको हो ।

 एक्याप जोमसोम कार्यालय अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट आठ महिना अवधिमा एक लाख १६ हजार ७८७ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । एक्यापका निमित्त कार्यालय प्रमुख एवं प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार सन् २०२५ को आठ महिनाको पर्यटकीय तथ्यांक तुलना गर्दा  पचास प्रतिशत भन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिएको बताउँनुभयो ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा सन् २०२६ को जनवरीदेखि अगस्टसम्म  सार्क राष्ट्रबाट दुई लाख ४७ हजार ७८ जना र अन्य राष्ट्रबाट  सत्र हजार २५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप निमित्त प्रमुख थकालीले मुस्ताङ भित्रिएका सार्क राष्ट्रका विदेशी पर्यटकहरु मध्ये ९५ प्रतिशत पर्यटक भारतीय रहेको जानकारी दिनुभयो । सन् २०२६ को गर्मीयामको मौसममा भारतीय पर्यटकहरु गर्मी छल्ने गरी  मुक्तिनाथ दर्शन गर्न ओईरिएका थिए ।

 पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग सहज हुँदै जान थालेपछि भारतीय पर्यटकहरु सडकमार्ग हुँदै मुस्ताङ आउने गरेका छन् । मुक्तिनाथ मन्दिरप्रति भारतीय दर्शनार्थी पर्यटकको आस्था र विश्वाश अधिक हुने गरेकाले मुस्ताङमा भारतीय पर्यटकको आगमन अप्रत्याशित रुपमा वृद्धि हुँदै गईरहेको एक्याप निमित्त प्रमुख थकालीको भनाई छ ।

 एक्याप जोमसोमका अनुसार सन् २०२६ को अगस्ट महिनामा  चौध हजार ४२१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अगस्ट महिनामा सार्क राष्ट्रबाट चौध हजार ४२० जना र अन्य राष्ट्रबाट एक हजार १०१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । 

एक्यापको तथ्यांक अनुसार सन् २०२५ को अगस्ट महिनामा  सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गतवर्ष र चालु वर्षको अगस्ट महिनाको मात्रै तुलना गर्दा सात हजार ८३४ जना अर्थात (१०१.९) प्रतिशतले विदेशी पर्यटकको संख्या वृद्धि भएको निमित्त प्रमुख थकालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया