नेपाल—चीन सिमाना उत्तरी कोरलानाका स्थित दशगजा क्षेत्रमा स्थानीय हाट बजार पूर्वाधार निर्माण गरिने जनाईएको छ ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी अन्तर्ग पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीय हाट बजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने बताएको छ ।
नेपाल—चीन कोरलानाकामा स्थानीय हाट बजार पूर्वाधार निर्माणका लागि चालु आ.व. २०८२÷०८२ मा ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका ईन्जिनीयर जगदीश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला स्थित सीमानाकामा स्थानीय हाट बजार पूर्वाधार निर्माणका लागि प्रारम्भिक सर्वे अध्ययन गरिएको उल्लेख गर्नुभयो ।‘ स्थानीय हाट बजार पूर्वाधारका लागि सर्वे अध्ययन, लागत स्टमेट र डिजाईनको काम सुरु गरेका छौं,’स्थानीय जनप्रतिनिधिहरु र स्थानीय हाट बजार चलाउने व्यापारीहरुको धारणा बुझ्दै छौं,’उहाँले भन्नुभयो,‘ यसलाई कस्तो डिजाईनको पूर्वाधार बनाउने भन्ने अहिल्यै एकिन भईसकेको छैन ।’
यहाँको नेपाल—चीन उत्तरी कोरलानाका वि.स. २०८० कार्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका नागरिकहरुका लागि खुल्ला गरिएको थियो । त्यहाँ सीमावर्ती स्थानीय नागरिकहरुका लागि बाह्रै महिना कोरलानाकाको ढोका खुल्ला गरिएसंगै त्यहाँका सीमावर्ती स्थानीय नागरिकहरुले चिनियाँ मालसामान बिक्री गर्न अस्थायी रुपमा त्रिपाल टाँगेर हाट बजार संञ्चालन गर्दैआईरहेका छन् ।
नाका आसपास करिव दुई दर्जन बढी सीमावर्ती स्थानीय नागरिकहरुले हाट बजार चलाएर बसेका छन् । समुन्द्री सतहको ४६२० मिटरको अग्लो उचाईमा अवस्थित नेपाल—चीन सिमाना कोरलानाकामा हाट बजार चलाउनेदेखि सीमावर्ती स्थानीय युवाहरुलाई बैकल्पिक ब्यापार व्यवसाय चलाएर आर्थिक जिविकोपार्जनमा योगदान पुगेको छ । तर, नाकामा हाट बजार चलाउने स्थानीयका लागि भरपर्दो पुर्वाधार नहुँदा हिमपात,चिसो र हावाहुरीको सामाना गर्नुपर्ने बाध्यता रहेको छ ।
यता पुर्वाधार विकास कार्यालयका ईन्जिनीयर जगदीश जोशीका अनुसार कोरलानाकामा स्थानीय हाट बजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसंग थप बजेटको माग गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो ।
वि.स. २०८१ कार्तिक १४ गते नेपाल —चीन सिमाना कोरला स्थित अध्यागमन कार्यालयको उद्घाटन कार्यक्रममा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकामा अव्यवस्थित रुपमा संञ्चालन भएको स्थानीय हाट बजारलाई व्यवस्थित गर्ने बताउँनु भएको थियो । मुख्य मन्त्री पाण्डेले त्यसपछि यहाँको नाकामा हाट बजार व्यवस्थापन गर्न आशिंक बजेट विनियोजन गर्नुभएको हो । तर, प्रदेश सरकारबाट विनियोजित बजेट ज्यादै न्यून भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।
पछिल्लो समय नेपाल—चीन कोरलानाका ब्यापारिक केन्द्रका रुपमा मात्रै नभई पर्यटकीय गन्तब्य समेत बनेको छ । नाकामा अनुकुल मौसममा दिनहु संयौ र्पर्यटकहरु कोरलानाका पुग्ने गरेका छन् । गत ३० भदौमा यहाँको कोरलानाका पूर्व रुपमा संञ्चालनमा आएसंगै कोरलानाकामा पर्यटकीय चहलपहल बढेको हो । कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै दिनहु दर्जनौं मालबाहक ढुवानीका साधन कोरलानाका पुग्ने गरेका छन् ।
तर, कोरलानाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधारहरु निर्माण नहुदा त्यहाँ पुग्ने पर्यटक तथा स्थानीय हाट बजार चलाएर बस्ने नागरिकहरुलाई निकै सास्ती पुगेको छ । नाकामा खानेपानी,शौचालय र हाट बजारका स्टल लगायतका पूर्वाधार नहुँदा निकै ठुलो समस्या विद्यमान रहेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो रहेको अध्यक्ष गुरुङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली