माईनस डिग्री तापक्रमका बावजुद मुस्ताङमा निर्वाचन सरगर्मी ब्यापक रुपमा चलेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै यहाँ राजनीतिक दल र तीनका उम्मेदवारहरुको निर्वाचन प्रचार÷प्रसारको दौडधुप उत्कर्षमा पुगेको छ ।
अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माईनस २० डिग्री पुगेपनि फागुन महिनामा भने त्यहाँको तापक्रम माईनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माईसन ३ डिग्रीमा छ । यद्यपी मौसम चिसो र प्रतिकूल बनेपनि मुस्ताङमा निर्वाचन प्रचार÷प्रसारको राजनीतिक दल र उम्मेदवारहरु व्यस्त देखिएका छन् । तल्लो मुस्ताङको घाँसादेखि नेपाल—चिन सिमाना कोरलानाकासम्मै निर्वाचनको माहोल ताँतिएको हो ।
जिल्लामा उम्मेदवारी दर्ता गराएका ८ राजनीतक दल मध्ये ६ वटा राजनीतिक दल र तिनका उम्मेदवारहरुले निर्वाचनको माहोल तताएका छन् । नेकपा (एमाले),नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी,रास्वपा,राप्रपा र उज्यालो नेपाल पार्टीले फागुन २१ गतेको निवाचनका लागि प्रचार÷प्रसार अभियानलाई तीब्रता दिएका हुन् । मंगोल नेपाल अर्गानाईजेसन र आम जनता पार्टी र तिनका उम्मेदवारहरुले भने निर्वाचन प्रचार÷प्रसार अभियान अहिलेसम्म अगाडी बढाउन सकेका छैनन् ।
निर्वाचनको मिति नजिकिंदै गर्दा समेत मुस्ताङमा बेसीमा जाडो छल्न बेसी झरेका अधिकाँश मतदाता जिल्ला फर्किएका छैनन् । निर्वाचनमा मतदाना गर्ने उद्देश्यले केही मतदाताहरु भने हिमालतर्फ उक्लिन थालेका छन् । मुस्ताङमा उम्मेदवारी दिएका उम्मेदवारहरुले फागुन लागेसंगै निर्वाचन कार्यक्रमलाई अघि बढाएका हुन् । जिल्लामा राजनीतक पार्टीको प्रचार÷प्रसार र घरदैलो कार्यक्रम सुरु भएसंगै मुस्ताङका ग्रामिण वस्तीमा निर्वाचनको रौनक बढेको हो ।
यहाँको निर्वाचन प्रतिस्पर्धामा भाग लिएका राजनीतिक दल र तिनका उम्मेदवारहरुले मतदाता समक्ष पूर्वाधार निर्माण,कृषि,पर्यटन र शिक्षा लगायत मुस्ताङ जिल्लाको समग्र विकास योजनाहरुलाई प्राथमिकतामा राखेर निर्वाचनका कार्यक्रम अघि बढाएको पाईएको छ । नेपाल—चिन उत्तरी कोरलानाकाको भन्सार अध्यागमन तथा एकिकृत सुरक्षा पोस्ट लगायतका भौतिक पूर्वाधार,निर्माण,कोरलानाका हुँदै चिनको स्वशासित क्षेत्र तिब्बतको मानसरोबरको पर्यटन मार्ग तथा पर्यटन विकास, माथिल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रको खारेजी, कृषि क्षेत्रमा आधुनीकरण तथा खेर गईरहेका जग्गाहरुको समुचित व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा ब्याचलर सम्मको सबै बिषयमा शैक्षिक सुविधा,सडक पुल, मुस्ताङ—डोल्पा सडकको पूर्णता र मुस्ताङ—मनाङ सडकमार्ग, जलवायु संकटको न्यूनिकरण ,सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापन लगायतका प्रतिवद्धता लिएर जनता समक्ष पुगेका छन् ।
यसैगरी जिल्लामा अलपत्र विकास योजनाहरुलाई अघि बढाउने, युवा उद्यमशीलताको विकास गर्ने तथा मुस्ताङको समग्र पर्यटन विकासको सम्भावनाको खोजी गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिने लगायतका राजनीतिक घोषणापत्र लिएर जनता समक्ष घरदैलो अभियानमा जुटेका छन् ।
यसैगरी निर्वाचन प्रचार—प्रसारका क्रममा मतदाता रिझाउन यहाँका उम्मेदवारहरुले भूमीहिन सुकुम्बासी तथा अव्यस्थित जग्गाहरुलाई लालपूर्जा दिलाउन पहल गर्ने तथा मुस्ताङमा २०३० सालमा नापी हुन छुटेका जग्गाहरुलाइ पूनः नापनक्सा गराउन पहल गर्ने लगायतका प्रतिवद्धता समेटेका छन् ।
वि.स. २०७९ सालको निर्वाचनमा एमाले र कांग्रेसका मुख्य प्रतिस्पर्धा हुने गरेकोमा यसपटक भने चार राजनीतिक पार्टीको मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेपाली कांग्रेस,एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्यसो त मतदाताहरुलाई आफ्नो पक्षमा पार्न उज्यालो नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा मुख्य प्रतिस्पर्धी पार्टीलाई चुनौति दिने आँकलन गरिएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयार अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनका लागि कर्मचारीहरुको व्यवस्थापन तथा कार्यविभाजन, मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई तालिम प्रशिक्षण लगायतका कामहरु सकिएको बताउनुभयो । यसैगरी निर्वाचनका लागि जिल्लामा एकिकृत सुरक्षा योजना तयारी भई कार्यान्वयनमा ल्याईएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट निर्वाचन प्रहरीसहित ५०१ जना र सशस्त्र प्रहरीबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको छ । यसैगरी नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी निर्वाचन गस्तीलाई अघि बढाईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली