मुस्ताङ अस्पतालमा बढे बिरामी

 जिल्लाकै एक मात्र पच्चिस शैयाको प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सख्या दैनिक रुपमा वृद्धि हुन थालेको छ । अस्पतालमा आउने बिरामीको सख्या वृद्धिसंगै व्यवस्थापन पक्षमा समेत समस्या र चुनौति थपिन थालेको हो ।

हिउँदयामपछि गर्मीयाम सुरु भईसकेको र मुस्ताङ भ्रमण गर्ने पर्यटकीय अनुकूल याम  भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको संख्या अपेक्षाकृत रुपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमले जनाएको छ । गर्मीयाम भएकाले मुस्ताङका स्थानीयहरु बेसी छोडेर जिल्ला फर्किएको र यहाँका आएका पर्यटकहरु विभिन्न कारणले बिरामी पर्ने समस्याले अस्पतालमा बिरामी संख्या वृद्धि हुन पुगेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले जानकारी दिनुभयो ।

 मुस्ताङ आएका कतिपय पर्यटकहरुलाई हाईअल्टिच्युडका कारण लेंक लाग्ने भएकाले यस्ता प्रकृतिका बिरामीहरु सेवा लिन आउने गरेको डा. कडेलको भनाई छ । गर्मीयामका कारण हुने बिरामी नभई विभिन्न प्रकारका समस्याले पर्यटक,स्थानीय र ज्याला मजदुरी गर्ने सर्वसाधारण नागरिकहरु बिरामी हुने  भएकाले अस्पतालमा बिरामीको संख्या बढेको डा. कडेल बताउँनुहुन्छ ।

 प्रदेश अस्पताल २५ शैयाको भनिएपनि १५ शैयाको मात्रै छ । नयाँ बन्दै गरेको अस्पताल भवन पनि १५ शैयामै बनेको तर हस्तान्तरण हुन बाँकी छ । प्रदेश सरकारले शैया अपग्रेड गरेको भएपनि साविकै पूर्वाधारबाट सेवा प्रवाह हुँदा  बिरामीको चाप हुँदा व्यवस्थापनमा समस्या देखिन गरेको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनार्थीको संख्या बढेसंगै  अस्पतालको सेवा लिने पर्यटकको संख्या पनि बढ्दै जान थालेको अस्पतालले जनाएको छ ।

 हालको तीन कोठामा २५ शैयामा बिरामीहरुलाई वार्डमै राखेर ईमरजेन्सी सेवा प्रवाह गर्ने गरिएको छ । अस्पतालमा प्रसूती सेवासंगै अन्य सेवा उपलब्ध भएकाले बिरामीहरुको संख्याले अस्पताल खचाखच हुन पुगेको हो ।

 जोमसोम स्थित प्रदेश अस्पतालमा चालु वर्षको साउनदेखि बैशाख महिनासम्म  कुल आठ हजार ६६७ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । सेवा मध्ये ओपीडी सेवा छ हजार ३५६ जना र एमरजेन्सी सेवा दुई हजार ३१२ जनाले प्राप्त गरेका छन् ।

 यहाँको प्रदेश अस्पतालमा ४२ जनाको जनशक्ति रहेको अस्पतालले जनाएको छ ।  अस्पतालमा ३८ जना र मुक्तिनाथको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा ४ जना जनशक्ति रहेको निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले उल्लेख गर्नुभयो ।

 स्वास्थ्य सेवा प्रवाहतर्फ एक जना एमडीजीपी चिकित्सक सहित ६ जना, अस्पताल नर्सिङ निरीक्षक २, स्टाप नर्स २, नर्सिङ अधिकृत २, एच ए २ र  अनमी २ छन् । अस्पताल अन्तर्गत मुक्तिनाथमा एच ए ३ र कार्यालय सहयोग एक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया