कोवाङ—सौरु पुलको लठ्ठो तान्न गाउँले श्रमदान

मुस्ताङ, २७, जेठ ।

वर्षौवर्षदेखि कालिगण्डकी नदीको सामना गर्दैआईरहेका मुस्ताङको थासाङ गाउँपालिका—२ सौरु र सिर्कुमबासी गाउँलेले त्यहाँको कालिगण्डकी नदीमा निर्माणधिन पुलको लठ्ठो तान्नकार्यमा सामुहिक श्रमदान गरेका छन् । त्यहाँका करिव ९० जना स्थानीयको समुहले दुईदिनसम्म स्वत स्फूर्त रुपमा पुलको लाट्ठो तान्नेकाममा श्रमदान गरेको निर्माण कम्पनीले जनाएको छ ।

 मुस्ताङको थासाङ—२ को कालिगण्डकी नदी वारिपारी कोवाङ—सौरु जोड्ने  ५ सय ७० मिटर लम्बाईको सस्पेन्सन पुल निर्माणको लागि सामुहिक रुपमा स्वेच्छिक श्रमदान गरेको सौरु गाउँका स्थानीय सोजन हिराचनले जानकारी दिनुभयो  । कोवाङ—सौरु संस्पेन्सन पुल निर्माणका लागि सौरु, सिर्कुम र कोवाङ खन्ती गाउँका जनताले भौतिक श्रमदान गरेको सौरुका स्थानीय हिराचनको भनाई छ ।

 कालिगण्डकी नदीमा पुल नहुँदा सदिंयौ वर्षदेखि निकै ठुलो सास्ती भोग्दैआईरहेका सौरु र सिर्कुमबासीको सपना अब भने पुरा हुने संकेत देखिएको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले उल्लेख गर्नुभयो । ‘यहाँ पुल नहुँदा बर्खायामको साउन र भदौ महिनामा पुरै नाकाबन्दी लगाए जस्तै हुन्थ्यो, सौरु र सिंकुम गाउँका जनता मुख्य सडक र पालिका कार्यालयमा आउनु पर्दा पनि कोखेठाँटी पुलबाट घण्टौ यात्रा गर्नुपर्ने थियो’, वडाध्यक्ष शेरचनले भन्नुभयो,‘ अब त लगभग पुल बन्ने छेकछन्द मिलेको छ, पुल बनेपछि बाह्रै महिना कालिगण्डकी वारिपारी आउजाउ गर्न निकै सहज हुने भयो ।’

‘कहिले पुल बन्ला र बर्खायाममा पनि कालिगण्डकी वारपार गर्न पाईला भन्ने सोचेका थियौं’, सौरुका स्थानीय दीपक तुलाचनले भने,‘ ढिलै भएपनि अब भने पक्का पुल बन्ला जस्तो लागेको छ, पुल बनेपछि त हामीलाई हरेक काममा निकै ठुलो सहयोग पुग्नेछ ।’ उनले पुल बनेपछि स्वास्थ्य,शिक्षा र सरकारी कामकाजका साथै यहाँको कृषि उपजको बजारिकरण गर्नमा समेत पुलले योगदान पु¥याउने स्थानीय तुलाचनले बताउँनुभयो ।

थासाङको कोवाङ—सौरु संस्पेन्सन पुलको सिभिलको काम सकिएर अहिले फिनिसिंङका कामहरु सुरु भईरहेको निर्मार्ण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले जानकारी दिए । अहिले पुलको लाठ्ठो तान्ने र लाठ्ठो फिटिङ गर्ने कामहरु भईरहेको छ , जनशक्ति पनि खटाईएको छ,’ प्रतिनिधि श्रेष्ठले भन्नुुभयो,‘ हामीहरु पुल सम्पन्न गर्ने दिशामा लागेका छौं, चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्नेतर्फ जुटेका छौं ।’ प्रतिनिधि श्रेष्ठले पुलको स्याकिङको काम भईरहेको बताउँनुभयो ।

यसअघि संस्पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७७ साल ३० बैशाखमा ईलाईट रुविना कन्ट्रक्सन जेभीसंग (कोवाङ—सौरु) जोड्ने पुलको  ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा जोईन कम्पनीको रुविनाले पुल निर्माणको काम बिचैमा अलपत्र पारेको थियो । ३० महिनामा सकिनु पर्ने पुल निर्माण कम्पनीका कारण पटक÷पटक म्याद थप हुँदै आएको थियो । त्यसपछि ईलाईटले अलपत्र पारेको पुलको काम सम्हालेको थियो । २०७९ साल कार्तिकमा सकिनुपर्ने (कोवाङ—सौरु) जोड्ने पुल सम्झौता अवधि सकिएको तीन वर्षको फेरोमा पुल निर्माणको कामले गति लिएको हो ।


प्रतिक्रिया