मुस्ताङमा आयोजित पाँचौं राष्ट्रिय स्की प्रतियोगिता शनिबार सकिएको छ । नेपाल स्की संघको आयोजनामा शनिबार सम्पन्न अल्पाईन स्की अन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाईन स्की प्रतियोगितातर्फ दोलखाका साम्देन गेल्बु शेर्पा च्याम्पियन बनेका छन् ।
यसैगरी महिलातर्फको अल्पाईन स्की प्रतियोगिता अन्तर्गत महिलातर्फ नुवाकोटका संगिता लामा र महिला जुनियर अल्पाईन स्कीतर्फ काठमान्डौंका नैना शाक्य च्याम्पियन बनेको नेपाल स्की संघले बताएको छ ।
यसैगरी सिनियर अल्पाईन स्की प्रतियोगितामा काठमान्डौंका समिप लामिछाने दोस्रो हुँदा दोलखाका पुण्डरिक पाण्डे तेस्रो हुनुभयो । पुरुष जुनियर स्कीतर्फ भक्तपुरका अर्थसिंह बोहरा दोस्रो भए भने मुस्ताङका केसाङ गुरुङले तेस्रो स्थान हासिल गर्नुभयो ।
यसैगरी महिला अल्पाईन स्कीतर्फ काठमाँडौंका आयुशी महर्जन दोस्रो हुनुभयो । महिला जुनियर स्कीतर्फ महोत्तरीका मेन्का कुमारी आले दोस्रो हुँदा काठमान्डौंकी आशिया तामाङ तेस्रो हुनुभयो । प्रतियोगिताको पुरुष र महिला सिनियर÷जुनियर च्याम्पियन बनेका स्की खेलाडीहरुले स्वर्ण पदक पाएका छन् । यसैगरी पुरुष र महिलातर्फ दोस्रो स्थान हासिल गरेका स्की खेलाडीहरुले रजत र तेस्रो स्थान हासिल गरेका खेलाडीहरुले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरुष र महिलातर्फको सिनियर र जुनिएर विजेता खेलाडीहरुले नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठ, महासचिव विजय श्रेष्ठ र मुस्ताङ स्की संघका अध्यक्ष सुरज गुरुङ लगायत नेपाल स्की संघका पदाधिकारी तथा सदस्यहरुले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरी पाँचौ राष्ट्रिय स्की प्रतियोगितामा सहभागि खेलाडी तथा कोच लगायतलाई नेपाल स्की संघले प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल स्की संघका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा आयोजित पाँचौ संस्करणमा जुनियर खेलाडी १५ जना र सिनियर खेलाडी १० जनाको सहभागिता रहेको जनाएको छ । यसैगरी यसपटक आयोजना भएको स्की प्रतियोगितामा ५ जना जुनियर खेलाडी मुस्ताङका स्थानीयको सहभागित रहेको संघले बताएको छ । प्रतियोगिता अन्तर्गतका जुनियर स्कीतर्फ मुस्ताङले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
मुस्ताङमा दुई वर्षपछि आयोजना भएको प्रतियोगिता संञ्चालनका लागि काठमान्डौंबाट खेलाडी र अफिसियल टोली गरी ५० जना बढी बुधबार मुस्ताङ आईपुगेका थिए । पाँचौ राष्ट्रिय स्की प्रतियोगिताका लागि संघले दुईदिनसम्म यहाँ खेलाडीहरुलाई अभ्यास प्रशिक्षण तालिम दिएको थियो । तालिम प्रशिक्षणका लागि मुख्य प्रशिक्षकका रुपमा स्वराज श्रेष्ठसहित प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई ,आयुसी महर्जन र शारिरीक प्रशिक्षकको रुपमा बिमन्थ अधिकारी खटिएका थिए ।
संघले योसंगै मुस्ताङमा लगातार चौथो पटक यहाँका स्की प्रतियोगिता आयोजना गरेको हो । संघले पहिलो स्की प्रतियोगिता २०१६ मा रसुवाको क्यान्जेन भ्यालीमा सुरु गरेको थियो ।
मुक्तिनाथ स्थित सेताम्मे भिरालो हिउँले भरिएको पाँखोमा स्की प्रतियोगिता आयोजना भएको मुस्ताङ स्की संघका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो । हिउँले भरिएको करिव २०० मिटर दुरीमा दुई वटा मोड राखेर स्की प्रतियोगिता संञ्चालन गरिएको थियो ।
यसपटक स्की खेलको विकास प्रर्वद्धन गर्दै नेपाली खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्की प्रतियोगितामा भाग लिन सकुन भन्ने उद्देश्यले १८ वर्ष मुनिका जुनियर खेलाडीहरुलाई प्रतियोगितामा सामेल गरिएको नेपाल स्की संघले जनाएको छ ।
प्रतियोगिताको समापनमा बोल्दै नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठले संघले यातायातको सहजताका कारण पछिल्लो चार संस्करण मुस्ताङमा स्की प्रतियोगिता आयोजना गरेको बताउँनुभयो । स्की खेललाई राज्यले उपेक्षा गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब यसप्रकारका हिउँमा खेलिने साहसिक खेलको विकास तथा प्रर्वद्धन गर्न स्थानीय स्तरको प्रयाससंगै राज्यका तीन तहका सरकारले ध्यानदिनु पर्ने बताउँनुभयो ।
यसैगरी स्की संघ मुस्ताङका अध्यक्ष सुरज गुरुङले हिउँमा खेलिने यसप्रकारको प्रतियोगिता पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउने र यसले यहाँका व्यवसायहरुलाई बैमसमे घाटा कम गर्न योगदान पु¥याउने गरेको बताउँनुभयो ।
सेताम्मे हिउँमा खुट्टामा लगाउने प्लेट बोर्ड जडान गरी चश्मा, लौरी, हेलिमेट लगायतका उपकरण लगाएर हिउँमा चिप्लेटी खेल्ने खेललाई स्की प्रतियोगिता भनिन्छ । मुस्ताङमा आयोजित स्की प्रतियोगितामा सहभागि खेलाडीहरु हिउँमा साहसिक खेल खेल्न पाउँदा गौरान्वित भएको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली