मुस्ताङमा किसानलाई रैथाने बाली ‘फापर’ स्याहार्ने चटारो

मुस्ताङ, २१, असोज ।

  दसैं पर्वसंगै यहाँका किसानलाई परम्परागत रैथाने बाली स्याहार्ने  चटारो चलेको । यहाँको तल्लो क्षेत्र घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका अन्तर्गतका किसानलाई परम्परागत रैथाने खाद्य बाली ‘फापर’ स्याहार्ने चटारो चलेको हो । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिईन्छ ।

घरायसी प्रयोजन, धार्मिक अनुष्ठान,व्वसायिक प्रयोजन  तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोशेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले परम्परागत रैथाने फापर खेती सदिंयौकालदेखि पछ्याउँदै आइरहेका छन् ।

खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ—५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताउँनुभयो । फापर काटेर डाठसंगै लगातार ३ दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको प्रमिलाले बताउँनुभयो । फापरको डाँठ परालका रूपमा पशु चौपायालाई खुवाउन र घाँस नपाईने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको प्रमिलाको भनाई छ । 

मुस्ताङमा मिठे फापर र तिते फापर खेती हुने गरेपनि मुख्य रुपमा मिठे फापरबाली बढी मात्रामा लगाउने गरिएको किसान प्रमिलाले उल्लेख गर्नुभयो । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा संकलन गर्न थालेका उहाँको भनाई छ । 

मुस्ताङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले सदिंयौं वर्षदेखि रैथाने फापर खेती अपनाउँदै आइरहेका छन्।  यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमी लगायत फापर खेती पनि यहाँको मुख्य ब्रान्ड बनेको छ।  

 समुन्द्री सतहको एक हजार ९८४ मिटरदेखि तीन हजार ९०० सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापर खेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ।

फापर बाली अन्तर्गत मिठे फापरको खेती तलो मुस्ताङमा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर  असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ। सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भएपनि फापर बाली तीन महिनामा पाक्ने किसानले प्रमिलाले जनाईन् । उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर  कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याईन्छ । यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याईने प्रचलन रहेको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरु देखा पर्न थालेको घरपझोङ—५ ठिनीका किसान पाल्साङ गुरुङले बताउँनुभयो । यसवर्ष यहाँको फापर बालीमा खुम्ले किराको प्रकोप देखा परेको उहाँको भनाई छ । गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पु¥याएको उहाँले जनाउँनुभयो । यहाँको रैथाने बाली स्याउ बगैचा भित्र समेत अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गर्नुभयो । फापर बालीमा ढिडो, रोटी लगायत विभिन्न परिकारहरु निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउँने गरेको किसान गुरुङको भनाई छ । जलवायु संकटका कारण परम्परागत रैथाने बाली अन्य बाली भन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उहाँले जनाउँनुभयो । सहर बजारका भान्साघरहरुमा यहाँको फापरको ढिडो मुख्य भेराईटी भएकाले यसको माग बढी हुने गरेको उहाँले खुलाउँनुभयो ।

अक्सर फापर बोटको औसत १०० सेमीदेखि ११० सेमीसम्म लम्बाई हुने गर्छ। फापर बाली अन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रंगको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रंगको हुन्छ। तिते फापरको सेतो रंगको फूलहरू फल्दछ। फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ। यहाँ एक माथि फापरको मिठोको मुल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ।

 यहाँका किसानले फापर खेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन। हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ। घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवद्र्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकैले सम्बन्धित किसानहरूलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताउँनुभयो ।

फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुने बताईन्छ। फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ। यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुन्छ । 


प्रतिक्रिया