थासाङको चौरी मेलाले बढ्यो मुस्ताङमा पर्यटन

जोमसोम—हिमालपारिको जिल्ला मुस्ताङमा चौरीको  रगत खाने मेलाले मुस्ताङमा पर्यटक आगमनलाई थप वृद्धि गरेको पाईएको छ  । हिमालयन चौरी पालक तथा संरक्षण उपसमिति कोवाङले शुक्रबारदेखि याकचौरीको आलो रगत खाने मेला आयोजना गरेपछि मुस्ताङमा पर्यटक बढेका हुन् ।

प्राकृतिक उपचार पद्यती मध्येको एक उपचार पद्यती मानिएको चौरीको रगत खाँदा स्वास्थ्यवद्र्धक हुने भन्दै बर्सेनि सयौं सर्वसाधारण चौरीको रगत खान मुस्ताङ आउने गर्छन ।

 मुस्ताङमा चौरीको रगत खाने प्रचलन नयाँ होईन। यहाँ सदिंयौं वर्षदेखि स्थानीय तथा जिल्ला बाहिरका मानिस बन्दोवस्तीका सामान लिएर मुस्ताङ आउने गर्छन । मुस्ताङमा परम्परागत रुपमा सदिंयौं वर्षदेखि याकचौरी पालन गरिएको छ । यसलाई पछिल्लो पुस्ताका किसानले समेत निरन्तर पछ्याईरहेका छन् । हिमाली क्षेत्रमा पाईने याकचौरी यहाँकेो  सांस्कृतिक विशेषता मानिन्छ । यद्यपी यसलाई व्यवसायिक रुपमा समेत लगिएको छ ।

 हिमाली तथा उच्चपहाडी लेंक तथा खर्कहरुमा गोठै खडा गरेर पालन गरिने याकचौरीले उच्चलेंकमा वन्य जटीबुटी खाने भएकाले याकचौरी रगत स्वास्थ्यका लागि फाईदाजनक मानिएको हो । उच्चलेंकमा पाईने यार्सा गुम्बा,जटामसी,निरमसी,पाँच औले लगायतका जटीबुटी याकचौरीले सेवन गर्ने भएकाले चौरीको रगत खाँदा शारिरीक स्फूर्ती बढ्ने र यसले पेट संम्वन्धि सम्पूर्ण रोगको निको हुने भनाई छ ।

समून्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाईमा याकचौरी पालन गर्ने गरिएको छ । हिउँदयामको जाडोमा वस्ती नजिक झार्ने र बर्खायाममा उच्चलेंकको चरन क्षेत्रमा छाडिन्छ । चिसो हावापानीमा हुकाईने भएकाले याकचौरीको रगत स्वादिलो र पोषिलो हुने गर्छ ।

याकचौरी पालनबाट मुस्ताङका याकचौरी पालकले चौरी गाईको दुध,दही,घ्यू  छुर्पी बनाएर बिक्री गर्छन । याकचौरीको पाठापाठी हुर्काएर वयस्क बनाएपछि मासुका लागि पनि याकचौरीको मासु बिक्री गर्ने गरिन्छ । याकचौरीको छाला र पुच्छर समेत महङ्गो मूल्यमा बिक्री हुन्छ । वैष्णव धर्मालम्बीहरुले पुजा कोठामा राख्न याकचौरीको पुच्छर समेत किनेर लैजाने गरेको पाईन्छ । याकचौरी पालक व्यवसायीले याकचौरीबाट दोहोरो फाईदा लिन गरेका छन् । याकचौरीको रगत निकालरे बिक्री गर्दै याकचौरी पालकले मनग्ये आम्दानी समेत लिने गरेका छन् । 

हिमालयन चौरी पालन तथा संरक्षण उपसमितिले बर्सेनि बैशाख र साउन महिनामा याकचौरीको आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने गरेको उपसमिति सदस्य भीमप्रसाद थकालीले जानकारी दिए । संरक्षण उपसमितिले थासाङ—२ घट्टेखोलामा चौरीको आलो रगत खाने बेला संञ्चालन गरेको उनले बताए । समितिले बैशाख ८ गतेदेखि बैशाख १५ गतेसम्म रगत खाने मेला संञ्चालन हुनेछ । यसपटक याकचौरीको आलो रगत प्रति गिलास ३ सय रुपैयाका दरले बिक्री वितरण भएको सदस्य थकालीले बताए । मेलाको पहिलोदिन जिल्ला भित्र र जिल्ला बाहिरका १५० जना सर्वसाधारण चौरीको रगत खान घट्टे खोला पुगेका थिए । मेलाको दोश्रोदिन आज शनिबार २५ समुहका झन्डै २५० जना भन्दा बढी सर्वसाधारण चौरीको रगत खान त्यहाँ पुगेका छन् । चौरीको रगत खाने गएका सर्वसाधारणले नाचगान गर्ने र तारो खेल खेलेर मनोरञ्जन लिने गर्छन । रगत खाने मेलामा याकचौरीको मासु समेत खान पाईन्छ ।

थासाङको घट्टे खोला स्थित चौरीको रगत खाने मेलामा सर्वसाधारणलाई खान र बस्नको सुविधा प्रदान गर्न झन्डै एक दर्जन त्रिपालका अस्थायी टहराहरु निर्माण गरिएको सदस्य थकालीको भनाई छ ।

अनुकुल मौसमका साथै बेनी —जोमसोम राष्ट्रिय राजमार्ग नजिकै भएकाले पनि थासाङको घट्टे खोलामा चौरीको रगत खान सर्वसाधारणको भीड लागेको हो । रगत खाने मेलाले मुस्ताङको पर्यटन प्रर्वद्धनमा समेत निकै ठुलो टेवा पुगेको छ ।यसपटक प्रत्येक दिन बिहान एक पटक मात्र चौरीको रगत निकालेर बिक्री गर्ने गरिएको छ ।

चौरीको आलो रगत निकाल्नु अघि सम्वन्धित पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि मात्र चौरीको रगत निकाल्ने गरिएको समिति सदस्य शेरचनले उल्लेख गरे । सियो जस्तो आकारको हुपले याकचौरीको घाँटी छेउको नशामा कोपेर  चौरीको रगत निकाल्ने गरिन्छ । चौरीको रगत निकालेपछि याकचौरी थप स्वस्थ्य हुने उनले सुनाए ।

थासाङ—२ मा ९ घरधुरीको ९ गोठको करिव ८ सय याकचौरीको रगत निकाल्ने गरिएको छ । बर्खायाममा थासाङको मार्चेलेंक र घरपझोङको नमखुलेंकमा पनि बर्सेनि याकचौरीको आलो रगत निकाल्ने मेला लाग्दछ । मुस्ताङमा याकचौरीको आलो रगत खान अधिकाँश छिमेकी जिल्लाबाट मानिसहरु आउने गरेको सौरुको याकचौरी पालक सोजन हिराचनले जानकारी दिए । यसका अलावा चौरीको रगत खान काठमान्डौं,पोखरा, बाग्लुङ र पर्वतबाट सर्वसाधारण मुस्ताङ आउने गरेको उनको भनाई छ ।


प्रतिक्रिया