मुस्ताङ,५,असोज ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आईतबारदेखि स्याउ टिप्ने खाने मेला उत्सव चलिरहेको छ । मुस्ताङ कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रले असोज तीन गतेदेखि पन्ध्र गतेसम्म स्याउ टिप्ने खाने मेला उत्सव सञ्चालन गरिएको हो ।
पर्यटकीय अनुकुल यामसंगै स्याउको राजधानी समेत रहेको हिमालपारि मुस्ताङमा धमाधम स्याउको पोस्ट हार्भेस्ट चलिरहँदा केन्द्रले कृषि पर्यटन प्रवद्र्धन गर्नका लागि यसप्रकारको स्याउ टिप्ने खाने मेला उत्सव चलाएको हो ।
केन्द्र प्रमुख प्रकाश पन्थका अनुसार मुस्ताङमा गुणस्तरीय रसिलो स्याउको स्वादिष्टता पस्कन र स्याउको थप आर्कषण वृद्धि गर्ने उद्देश्यले यसप्रकारको मेला उत्सव सुरु गरिएको बताउँनुभयो ।
केन्द्रले पर्यटक तथा स्थानीयलाई लक्षित गरी स्याउ टिप्ने खाने मेला सुरु गरेपछि केन्द्रको स्याउ बारीमा पर्यटक तथा स्थानीयको लर्को लाग्न सुरु भईरहेको छ । स्याउको बजारिकरणको सिजन सुरु भईसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई स्याउ बारी रम्ने महत्वपूर्ण अवसरको सृजना भएको छ । पर्यटकहरु बगैचा भित्रै भौतिक रुपमा उपस्थित भई मुस्ताङको स्वादिष्ट स्याउ टिपेर चाख्न पाउने व्यवस्था गरिएपछि मेला उत्सवको रोनकता थपिएको छ । केन्द्रको आफ्नो ए ब्लक स्याउ बगैचालाई स्याउ टिप्ने खाने मेला उत्सवको स्थलको रुपमा तोकिएको छ ।
मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले सञ्चालन गरेको स्याउ टिप्ने खाने मेला उत्सवमा सहभागी हुने पर्यटक तथा स्थानीयले रु. २०० रुपैयाको राजश्व वापतको रसिद काँटेर स्याउ बगैचामा प्रवेश गर्न पाईने व्यवस्था गरिएको केन्द्र प्रमुख प्रकाश पन्थले जानकारी दिनुभयो ।
मेला उत्सवमा सहभागी भई केन्द्रले तोकेको स्याउ बगैचामा जाँदा विभिन्न नियमहरु समेत राखिएको छ । रु २०० को रसिद काँटेर स्याउ बगैचा भित्र पसेका पर्यटकले स्याउ बगैचा भित्र आनन्दले घण्टौसम्म रम्न पाउँने छन् । स्याउ टिपाई गर्दा स्याउको बोट र हाँगाबिगालाई नोक्सानी नहुँने गरी होशियारीपूर्वक स्याउ टिपाई गर्नुपर्ने हुन्छ ।
स्याउ टिप्ने खाने मेला उत्सवमा सहभागी हुने व्यक्तिले बगैचा भित्र धित मरुन्जेल आफुले सकेजति बगैचाको स्याउ टिपेर खान पाउँने छन् । तर, बगैचा भित्र पसेको व्यक्तिले झोला, खल्ती र हातमा समातेर बगैचाबाट बाहिर लैजान नपाईने नियम बनाईएको छ ।
केन्द्रले तोकेको शुल्क तिरेर रसिद काँटेका पर्यटकहरुले स्याउबारीमा स्याउ टिप्न,खान, फोटो र भिडियो खिच्न पाउनेछन् । स्याउ टिपाई गर्दा कारणवश हाँगा भाँच्न र बोटलाई कुनै किसिमको क्षति पुगेमा रु हजार रुपैया जरिवाना केन्द्रलाई बुझाउँनु पर्ने प्रावधान राखिएको छ ।
असोज पन्ध्र गतेसम्म सञ्चालन हुने स्याउ टिप्ने खाने मेला उत्सवका माध्यमबाट मुस्ताङको कृषि पर्यटनलाई प्रवद्र्धन गर्नमा निकै ठुलो योगदान पुग्ने अपेक्षा गरिएको केन्द्र प्रमुख पन्थको भनाई छ । मेला उत्सवमा उल्लेख्य मात्रामा मुस्ताङ आएका पर्यटक र स्थानीयले सहभागीता जनाएका छन् ।
बेनी—जोमसोम सडकमार्ग नजिकै रहेको केन्द्रको स्याउ बारीमा मेला उत्सव चलाईएकाले बगैचामै पुगेर स्याउ टिप्ने खाने मेलामा सहभागी हुन पाउँने सुविधाले पर्यटकलाई मुस्ताङको स्याउबारी र स्याउको स्वाद चाख्न पाउने अवसर मिलेको छ ।
विस २०२३ सालमा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण फलफूल तथा तरकारी र अन्य बालीहरुको विरुवाहरुको बिक्री वितरण तथा उत्पादनतर्फ जोड दिदैआईरहेको छ । स्याउ लगायतका शीतोष्ण फलफूल तथा तरकारीहरु खेतीको उत्पादन तथा प्रविधी हस्तान्तरणतर्फ योगदान गर्दै आईरहेको केन्द्रको स्थापना छ दशक पुरा भईसकेको छ ।केन्द्रले आफ्नो अन्य ब्लकहरुमा उत्पादन भएको स्याउलाई ठेक्का मार्फत बिक्री वितरण गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली