मुस्ताङ, ०५, बैशाख ।
यहाँ स्थित उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले तीन किस्ता गरी वन्यजन्तुबाट भएको क्षति राहत रकम उपलब्ध गराएको जनाएको छ । एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट पशुधनमा भएको क्षतिको राहत रकम पैतालिस लाख ९९ हजार रुपैया तीन चरणमा गरी सम्वन्धि पीडित किसानको बैंक खातामा पठाएको जनाईएको छ ।
उपल्लो मुस्ताङमा हिउँ चितुवा र ब्वासोको आक्रमणबाट स्थानीय पशुपालक किसानको पशुचौपाया क्षति हुने गरेको एक्यापको तथ्यांकले देखाउँछ । आ.व. २०८०÷०८१मा उपल्लो मुस्ताङमा हिउँ चितुवा र ब्वासोबाट क्षति भएका वन्यजन्तु पीडित पशुपालक किसानलाई एक्याप लोमान्थाङ कार्यालयबाट उन्नाईस लाख ५ हजार रुपैया राहत रकम उपलब्ध गराएको थियो । यसैगरी आ.व. २०८१÷०८२ मा हिउँ चितुवा र ब्वासोबाट क्षति भएका पीडित किसानलाई चालु आ.व.को मंसिर महिनामा दोस्रो चरणको वन्यजन्तु क्षति राहत स्वरुप एघार लाख १५ हजार रुपैया उपलब्ध गराईएको थियो ।
एक्याप लोमान्थाङले शनिबार उपल्लो मुस्ताङका हिउँ चितुवा तथा ब्वासोको आक्रमणबाट गत वर्ष र चालु आर्थिक वर्षमा क्षति भएका पशुधनको सम्वन्धित पीडित किसानलाई तेस्रो चरणको क्षति राहत रकम वितरण गरेको जनाएको छ । एक्याप कार्यालय लोमान्थाङमा आयोजित वन्य जन्तु क्षति राहत वितरण कार्यक्रममा त्यहाँका २७ घरधुरी पीडित किसानलाई राहत स्वरुप पन्ध्र लाख ७९ हजार रुपैया हस्तान्तरण गरिएको हो । क्षति राहत वितरण गरिएको बैंक भौचर एक्याप प्रमुख उमेश पौडेलले सम्वन्धित वन्यजन्तु पीडित किसानलाई हस्तान्तरण गर्नुभएको हो ।
एक्याप लोमान्थाङका अनुसार चालु आ.व.को साउनदेखि चैत्रसम्मको नौ महिना अवधिमा हिउँ चितुवा लगायतका वन्यजन्तुबाट ६२ वटा घटना घटेको हो । कार्यालय प्रमुख पौडेलले चालु आ.व.मा हिउँ चितुवा र ब्वासोको आक्रमणबाट घोडा १४,च्यांग्रा ९८,भेडा २६ र याक १४ वटा गरी १५२ वटा पशुधनमा क्षति पुगेको बताउँनुभयो ।
एक्यापले हिउँ चितुवा लगायतका वन्यजन्तुबाट पशुधनमा भएको हालसम्मको राहत रकम वितरण गरी शून्यमा झारिएको बताउँनुभयो ।‘अब पछिल्ला एकाध घटनाहरुको कागजी प्रक्रियामा छन्, प्रक्रिया पुरा गरिएका सबै पशुधन क्षतिको राहत वितरण गरेर सक्यौै, प्रमुख पौडेलले भन्नुभयो, अब पशुधन क्षतिको राहत समुदायमा समयमै उपलब्ध गराउने गरी अघि बढेका छौं, एक्यापले क्षतिको कागजी पुरा गरेका पशुधनको तीन महिना भित्रै क्षति राहत वितरण गराईने लक्ष्य राखेको छ ।’
एक्यापले यसपटक उपल्लो मुस्ताङमा घटना घटेको एक वन्यजन्तु पीडितलाई १० दिनमै पशुधनको क्षति राहत उपलब्ध गराएको जनाएको छ । गत चैत्र २१ गते लोमान्थाङ—४ न्याम्डोका पशुपालक किसान घ्याचो गुरुङको सोही वडाको समजुङमा रहेको च्यांग्रा खोरमा हिउँ चितुवाले आक्रमण गर्दा २१ च्यांग्रा मरेका थिए । एक्याप लोमान्थाङले उक्त घटनाको पाँचदिनमै कागजी प्रक्रिया पुरा गरी सम्वन्धित पशुपालक किसान गुरुङले राहत रकम उपलब्ध गराएको प्रमुख पौडेलले बताउँनुभयो ।
एक्यापले वन्यजन्तु पीडित किसानलाई छिटोछरितो र कागजी प्रक्रिया पुरा गरी राहत रकम उपलब्ध गराउन उच्च प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । हिउँ चितुवा र मानवबीच सहअस्तित्व निर्माण गरी परम्परागत पशुपालन व्यवसायको संरक्षण गर्न एक्याप लोमान्थाङले वन्यजन्तुबाट हुने क्षतिको रकम वितरण गर्न राहत कोष समेत व्यवस्था गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु विभागबाट उपलब्ध राहत रकम उपलब्ध हुने समय लाग्ने भएकाले एक्यापले आफ्नै आन्तरिक राहत कोष खडा गरेको हो । यसबाट पीडित किसानले पशुधन क्षतिको राहत पाउँन धेरै समय पर्खिनु नपर्ने प्रमुख पौडेलको भनाई छ ।
पशुधन क्षति भएको १० दिनमै राहत रकम पाएकोमा लोमान्थाङ—४ न्याम्डोका पशुपालक घ्याचो गुरुङ खुसी भएका छन् । राहत रकम पाएकोमा गुरुङले भने वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम नियमानुसार राहत पाएको र यसले पशुपालन व्यवसायी अपनाएका किसानलाई थोरै भएपनि सान्तना दिलाएको बताउँनुभयो ।
हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँ चितुवा र ब्वासो लगायतका वन्यजन्तुले स्थानीय पशुपालक किसानले पालेका पशुचौपाया क्षति बनाउने घटनाहरु बढ्दै जान थालेका छन् । एक्याप लोमान्थाङका अनुसार हिउँ चितुवा लगायतका वन्यजन्तुहरुले पछिल्लो तीन आर्थिक वर्षमा २६ वटा घटना पशुपालकको खोरमा,२५ वटा घटना बस्तीमा र ७० वटा घटना चरनक्षेत्रमा घटेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली