थकाली पाँडेको ह्रव वाचन स्थल‘ पुङक्युङ ओडार’


जोमसोम—मुस्ताङको थाक ७ सय क्षेत्र थासाङ थकाली ४ चन समुमुदायको उद्गमस्थल मानिन्छ । यो समुदाय परापूर्वकालमा पश्चिम जुम्लाको सिंजाबाट बासस्थान छोडेर त्यहाँ आईपुगेको हो । जुम्लाको सिंजामा बसेका थकालीले किन बासस्थान छोडेर मुस्ताङ पसे भन्ने बिषयमा रहस्यमय र मार्मिक किंवदन्ती छ ।

घरेलु हातहतियार र धनुषवाण लिएर शिकार खेल्दै जुम्लाबाट उचित बासस्थान खोज्दै मुस्ताङ पसेका थकालीहरुले त्यसबेला  निलगिरी र धौलागिरीको छत्रछाँया,बनजंगल र पानीको श्रोत लगायत सबैथोकले उपयुक्त ठानेपछि थाक ७ सय क्षेत्रमै बाँसस्थान जमाएर बसे ।

थाक ७ सय क्षेत्रमा बस्ने थकाली ४ चनको ४ वटा देवतालाई पुज्छन् । गौचन,भट्टचन,शेरचन  र तुलाचन गरी  ४ चन थकालीहरुले ४ वटा रंगको आकृतिमा ४ देवताको पुजाआजा गर्छन । थकाली ४ चन समुदायले प्रत्येक १२ वर्षको फेरोमा १२ वर्षीय मेला आयोजना गर्छन । यि मेलामा ४ चन देवतालाई सार्वजनिक गरेर प्रत्यक्ष दर्शन गर्ने गर्छन ।  त्यसो त थकाली ४ चनले ९ वर्षको फेरोमा पनि ९ वर्षीय मेला पर्व चलाउँदै आईरहेका छन् ।

 थकाली ४ चनले निकाल्ने १२ वर्षीय मेलामा  ४ वटै पाँडेको महत्वपूर्ण भूमिका रहन्छ । थकाली ४ चनले आफ्ना  पाँडेहरुलाई पुरोहितको रुपमा मान्ने परम्परा छ । थकाली ४ चन पाँडे पुरोहितहरुले प्रत्येक १२ वर्षमा आयोजना हुने १२ वर्षीय मेलामा पौराणिक ग्रन्थ पुस्तक (ह्रव) वाचन गर्छन । यही थकाली पाँडेहरुले ह्रव वाचन गर्ने स्थलको नाम हो पुङक्युङ ओडार । यहाँ सदियौ वर्षदेखि थाक ७ सय क्षेत्रका थकालीहरुका पाँडेले यही पुङक्युङमा बसेर आप्mना ४ देवताहरुको स्तुतीगान गर्छन । थकाली ह््रव वाचन गर्दा ४ इष्देवी देवताहरुलाई सम्झदै पाँडेहरुले पुजापाठ गर्ने प्रचलन रहेको थकाली सेवा समिति नेपाल थाक ७ सय क्षेत्रका केन्द्रिय सदस्य कृष्णकुमार शेरचनले उल्लेख गरे । थकाली पाँडेहरुले ह्रव वाचन गर्ने स्थल सयौं वर्ष पुरानो ईतिहाँस रहेको केन्द्रिय सदस्य शेरचनको भनाई छ ।

पाँडेहरुद्वारा  १२ वर्षीय मेलामा पुजाआजा गर्ने पुङक्युङ ओडारको भित्री भित्ताको एक शिलामा थकाली ४ चनको पहिचान उदृध गरिएको छ । सदियौं वर्ष पुरानो शिलामा कोरिएर लेखिएका अक्षरहरु समेत अहिले मेटिसकेको अवस्था छ । त्यसबेला बासस्थान जमाएर बसेका थकालीले ४ देवताको ह्रव वाचन गर्ने स्थल ओडारको भित्तामा बनाएका थिए । सदिंयौ वर्षदेखि भित्ताको पुङक्युङ ओडारमा पुजाआजा गर्दैआईरहेका थकाली पाँडेहरुले ओढार भित्रै बसेर ४ देवताको पुजाआजा स्वरुप ह्रव वाचन गर्ने प्रचलन छ ।

 थकाली ४ चारचन समुदायले २०६१ सालमा थासाङको लार्जुङ स्थित भित्ताको पुङक्युङ ओडारलाई संगै जोडेर ह्रव वाचन स्थललाई व्यवस्थित बनाए । त्यहाँ एक तले भवन निर्माण गरेर ह्रव वाचन केन्द्र तथा सभा हल निर्माण गरे । २०६१ सालमा निर्माण गरिएको ह्रव वाचन केन्द्र सभा भवनको पूननिर्माण गरिएको छ ।

 थकाली समुदाय अन्तर्गत स्वदेश तथा विदेशमा बस्ने थकालीहरुबाट चन्दा संकलन गरी २५ लाख लागतमा ह्रव वाचन स्थल भवन पूननिर्माण गरिएको  १३ गाउँका मिरमुखिया जुहार भट्टनले जानकारी दिए । भवन निर्माण भएसंगै १२ वर्षीय मेलामा पाँडेहरुलाई ह्रव वाचन गर्न सहज हुने मिर मुखिया भट्टचनको भनाई छ । त्यहाँ बैठक बस्ने र खानपान बनाएर खाने व्यवस्थाको समेत सुविधा प्राप्त भएको उनले सुनाए ।

सोमबार पुननिर्माण गरिएको भवन थकाली थाक ७ सय क्षेत्रलाई हस्तान्तरण गरिएको हो । पूननिर्माण गरिएको भवन उक्त समुदायका थासाङ—३ लेत निवासी नरसिंह शेरचनले ठेक्का लिएर निर्माण गरेका थिए । उनलाई भवन निर्माण गरेको भन्दै थाक ७ सय क्षेत्रले ९ हातको फेदाले सम्मान गरेको छ ।


प्रतिक्रिया