कागबेनीमा महाआरती (गंगा आरती) शुभारम्भ



जोमसोम— पितृ उद्दारका लागि प्रसिद्ध मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा बिहिबारदेखि बडा दशैको अवसर पारेर महाआरती (गंगा आरती) शुभारम्भ भएको छ ।  कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिद्वारा बडा दशैंको अवसरमा दीप प्रज्वलनसहित महाआरती शुभारम्भ गरिएको हो ।

 जलवायु परिवर्तनका कारण अघिल्लो वर्षको साउन २८ गतेको कागखोला बाढीले मुस्ताङको कागबेनीमा ठुलो भौतिक सम्पती क्षति भएको थियो । बाढीले स्थानीयकोे घरहरु क्षति बनाएको थियो भने स्याउ बारी र पशुचौपायमा समेत क्षति तुल्याएको थियो । यसैका कारण पनि प्राकृतिक विपद् नहोस्,रोगब्याधि नलागोस् ,अनिष्ट नहोस् र नकारात्मक सोच र चिन्तनहरु हराएर जाओस भन्ने कामना गर्दै कागबेनीमा महाआरती प्रारम्भ गरिएको बताईएको छ । धार्मिक अनुष्ठानका माध्यमबाट प्राणी जगतको भलो ,जिवजन्तु र वनस्पतीहरुको रक्षाका लागि महाआरती (गंगा आरती) धार्मिक कर्मले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीको विशेष उपस्थितीमा  बडा दशै नवरात्र महाआरती शुभारम्भ गरिएको हो । प्रतिनिधि सभा सदस्य गौचनले कागबेनीधाममा आयोजित महाआरती धार्मिक अनुष्ठानकार्यले यहाँको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न महत्वपूर्ण टेवा पुग्ने बताए । मुस्ताङको कागबेनीधाम पितृ उद्दारका लागि निकै प्रसिद्ध धार्मिक स्थल भएकाले यस महत्व अन्य स्थान भन्दा पृथक रहेको सांसद थकालीको कथन छ ।

वारागुङ मुक्तिक्षेत्रकी उपाध्यक्ष डिकी गुरुङले कागबेनी र मुक्तिनाथको आर्शिवादले मुस्ताङको पर्यटन धानिएको उल्लेख गरिन् । धार्मिक स्थलको संरक्षण तथा प्रर्वद्धनका लागि यसप्रकारका धार्मिक गतिविधिले ठुलो पुग्ने उपाध्यक्ष गुरुङको भनाई छ । महाआरतीकार्यमा कागबेनीधाम मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति, पुजारी,भक्तजन,स्थानीय नागरिक कर्मचारी,जनप्रतिनिधि लगायतको उपस्थिती थियो ।

महाआरतीमा दुर्गापूजन,रुद्राभिषेक,दुर्गा सप्तशती पाठ,नर्वाण मन्त्र जप,शृंगारिक महाआरती  लगायत धार्मिक पुजापाठ हुने जनाईएको छ । महाआरती कागबेनी स्थित कालिगण्डकी नदी र मुक्तिक्षेत्रबाट बग्ने कालिगण्डकी नदीको दोभानमा शुभारम्भ गरिएको हो । महाआरती दीप प्रज्वलनमा कागबेनीधामका पुजारीले नियमित महाआरतीको स्तुती र पुजा गर्न खटिएका छन् ।

कागबेनीधामको महत्व र यस पवित्र स्थलको ब्यापक प्रचार÷प्रसार गरी यस क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महाआरतीकार्य शुभारम्भ गरिएको कागबेनी श्राद्धस्थल ब्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिए । उनले महाआरती कार्यलाई निरन्तर गर्ने लक्ष्य रहेको जनाईन् ।

मुस्ताङको कागबेनीधाम धार्मिक तथा ऐतिहाँसिक दृष्ट्रिकोणले निकै महत्व बोकेको स्थानको रुपमा लिने गरिन्छ । परापूर्व कालमा कागभुसुन्डे ऋषिले मनाङको तिलिचो तालमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा श्राद्ध,तर्पण र पिण्डदान गरेको हुनाले कागबेनीधाम पितृ उद्दारका लागि प्रसिद्ध मानिएको हो । यहाँ बर्सेनि चैते दशै र बडा दशै अघिको सोह्र श्राद्ध तिथिमा हजारौ तिर्थालु भक्तजनहरु कागबेनीमा पुगेर श्राद्ध,तर्पण र पिण्ड दिने गर्छन ।



प्रतिक्रिया