मुस्ताङमा १५ बोरा शालिग्राम बरामद

जोमसोम—मुस्ताङमा १५ बोरामा रहेको ३३७९ वटा शालिग्राम मुस्ताङ  प्रहरीले बरामद गरिएको छ ।उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१  चराङबाट  लुकाई छिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको  प्रहरी चाकी घमीले शालिग्राम बरामद गरेको हो ।


प्रहरी चौकी घमीले लुकाई छिपाई व्यवसायिक प्रयोजनका लागि ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर ल्याएको १५ वटा बोरामा जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा  उक्त परिमाणको शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । प्रहरीले बरामद गरेको शालिग्रामहरु आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमलाई बुझाईएको डिएसपी पाण्डेयले उल्लेख गरे ।


 एक्याप जोमसोमले मुस्ताङमा ठुलो परिणाममा व्यवसायिक प्रयोजनका लागि ओसार÷पोसार गर्ने उद्देश्य लुकाईछिपाई जोमसोम ल्याउँदै गरेको शालिग्राम प्रहरीले बरामद गरी कार्यालयमा पेश भएको जनाएको छ ।एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैंध रुपमा लुकाईछिपाई लैजान लागिएको शालिग्राम कस्को हो भन्ने अझै खुल्न नसकेको जानकारी दिए ।

एक्याप जोमसोमले बरामद गरिएको शालिग्रामहरु आवश्यक कारबाहीका लागि एक्याप जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाएको छ । मुस्ताङमा यति ठुलो संख्यामा शालिग्राम बरामद भएको योनै पहिलो घटना मानिएको छ ।


 अन्नपूर्ण संरक्षणको स्वामित्वमा रहेको मुस्ताङमा प्राकृतिक श्रोत साधनको बिना अनुमती ओसार पोसार गर्न पाईदैन । तर, शालिग्रामको हकमा भने एक्याप र जिम्मेवार निकायहरुले व्यवसायिक प्रयोजनका निम्ति शालिग्राम छोडपूर्जी दिने कानुनमा उल्लेख छैन । तर ,घरायसी व्यक्तिगत रुपमा भने एक÷दुई वटा शालिग्राम लैजानेलाई रोक लगाईएको छैन ।


हिन्दु धर्मालम्वीहरुले शालिग्रामलाई भगवान बिष्णुको प्रतिकको रुपमा लिने गर्छन् । हिन्दुहरुले भगवान बिष्णुको प्रतिक शालिग्रामलाई पुजा कोठामा राखेर पुजाआजा गर्ने भएकाले यसको महत्व निकै छ ।हिन्दुु धर्म शास्त्रमा ज्वालान्धरकी धर्मपत्नी वृन्दाको बिष्णु भगवानले सतित्व डगाएपछि वृन्दाको श्रापले ढुंगै भएस् भनी श्राप दिएकाले  शालिग्रामलाई बिष्णुको प्रतिकको रुपमा मानिएको हो ।

मुस्ताङमा दामोदरकुण्डको फेंद कालिगण्डकी नदीको तटीय क्षेत्रमा शालिग्राम पाईने गर्छ । 


प्रतिक्रिया