जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा अवस्थित जनहित माध्यमिक बिद्यालयको अध्यक्ष पूर्व प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली सर्वसम्वत निर्वाचित भएका छन् । सोमबार सम्पन्न विद्यालय व्यवस्थापन समिति पूर्नगठनमा पूर्व प्रदेश सभा सदस्य थकाली आगामी ३ वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
जनहित माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्यमा रजनी शेरचन,प्रजु गुरुङ,सम्झना राना थकाली,पूर्व विक र महेन्द्र प्रसाद थकाली चयन भए । विद्यालय व्यवस्थापन गठन मापदण्ड कार्यविधि अनुसार सम्वन्धित वडाका वडाध्ध्यक्ष पदेन सदस्य र बिद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान छ ।
यसअघि जनहित माध्यमिक विद्यालय व्यवस्थापन समिति पुर्नगठन कार्यविधि अनुसार अभिभावककातर्फबाट ४ जना सदस्य चयन गरिएको थियो । २ जना पुरुष र २ जना महिला सदस्य रहने गरी चयन गरिएको सदस्यमा प्रजु गुरुङ,सम्झना राना थकाली,महेन्द्र प्रसाद थकाली र पूर्ण विक सर्वसम्वत चयन भए । चयन भएका ४ जना सदस्यको सिफारिसमा शिक्षा क्षेत्रमा योगदान दिएका पूर्व प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकाली र गैसस महासंघ मुस्ताङकी अध्क्ष रजनी शेरचन सदस्यमा चयन भए ।
सर्वसम्वत नवनिर्वाचित तथा मनोनित विद्यालय व्यवस्थापन समितिबाट विद्यालयको नेतृत्व चयन भएको जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले ई.मुस्ताङ न्युज डटकमलाई जानकारी दिए ।
जनहितका नवनिर्वाचित अध्यक्ष महेन्द्रबहादुर थकालीसंग जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा काम गरेको अनुभव छ । उनी २०७४ सालमा भएको प्रदेश सभा सदस्य मुस्ताङ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष थकाली जनहित माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको पूर्व सदस्य हुन् ।

जनहित माध्यमिक बिद्यालयको अध्यक्षमा चुनिएसंगै थकालीले विद्यालयको बृहतविकास तथा शैक्षिक सुधारमा समर्पित भएर लाग्ने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित अध्यक्ष थकालीलाई निवर्तमान अध्यक्ष जयन्द्रलाल थकाली,संविघान सभा सदस्य चन्द्रबहादुर गुरुङ,घरपझोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमलाल शर्मा र जनहितका प्रधानाध्यापक रामचन्द्र अधिकारीले कार्यसफलताको शुभ—कामना दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली