कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ,९,असोज ।

समून्द्री सतहको ४६१० मिटरको उचाईमा अवस्थित नेपाल—चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहिबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहिबारदेखि निरन्तर वर्षा भईरहँदा उपल्लो मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको हो । उक्त क्षेत्रमा पाँच दुई ईञ्च बढी हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

 कोरलानाका क्षेत्रमा हिमपात भएसंग ै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनहरुलाई समेत आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै बेमौसमी हिमपात भएको हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँढाहरु हिउँले सेताम्मे बनेका छन् ।

 यसैगरी उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भईरहँदा लोमान्थाङ आसपासका वस्ती क्षेत्रमा वर्षा भएको छ भने वस्तीदेखि माथिका उच्चलेंकमा आशिंक हिमपात भईरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । वर्षा र हिमपातसंगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाई छ ।

 राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण,  मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाको पूर्व सूचना अनुसार बिहिबारदेखि लगातार चारदिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो । मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 मौसम प्रतिकूलताका कारण बाढी पहिरो,नदी कटान लगायतका कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभीरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी सचित गरेको छ ।सम्भावित विपद तथा क्षति न्यूनिकरणका लागि बिहिबार राति देखि चारदिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिनुभयो  ।

 यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालिगण्डकी नदीको उच्चभई जोखिम सृजना हुनसक्ने भएकाले कालिगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माईकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध गरेको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

 यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुंगा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरुमा वर्षाले जोखिम बढाएको । घरपझोङ—५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुंगा र माटोले बनेका घरहरु निरन्तर वर्षा हुन थालेको सास्ती तुल्याएको बताउँनुभयो । वर्षाले पुराना घरहरु चुहिने र भत्किने डर भएकाले वर्षाबाट जोगाउँन स्थानीयले घरहरुको छत र गाह्रोहरुमा त्रिपाल र प्लास्टिकले ढाँकेको जानकारी दिनुभयो ।


प्रतिक्रिया