मुस्ताङ प्रशासनमा दर खाने कार्यक्रम सम्पन्न

जोमसोम—नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार साँझ शुभ—कामना आदान÷प्रदान तथा दरखाने कार्यक्रम आयोजना गरेको छ ।

तीजको अवसरमा माईती जान नपाई कार्यस्थलमै व्यस्त रहेका निजामती सेवामा कार्यरत महिलाहरुलाई अभिभावकत्व ग्रहण गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले दरखाने कार्यक्रम तथा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लामा पहिलो पटक निजामती सेवामा कार्यरत महिलाहरुलाई माईतीको अभिभावकत्व गर्दै कार्यालय बन्द भएपछि साँझ दरखाने कार्यक्रम राखेको हो । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाकोआर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले दरखाने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिसस प्रमुख माया गुरुङले धर्मसंस्कृति र परम्परालाई कसैले बिर्सन नहुने बताईन ।  वर्षभरी कार्यस्थल र चुलाचौकामा व्यस्त हुने नारी समुदायलाई हरितालिका तीज पर्व दुख बिर्सने चौतारी बनेको उल्लेख गरिन् । आफु हिमाली सस्कृति र समुदायको नागरिक भएपनि धार्मिक सद्भाव र संस्कृतिलाई आत्मसाथ गर्दै विशुद्ध नारी पोषाकमा उपस्थित भएको जनाईन् ।

मुस्ताङका प्रजिअ जनकराज पन्तले नारीहरुलाई सम्मान गर्दै हरितालिका तीज पर्वमा घर जान नपाई कार्यस्थलमा खटिएका महिला कर्मचारीको भावनालाई आत्मसाथ गर्दै दरखाने कार्यक्रम तथा शुभ—कामना आदान—प्रदान कार्यक्रम गरिएको बताए । निजामती सेवा कहिले काँहा कहिले काँहा हुनुपर्छ, अनुकुल समयको बिदा मिल्दैन,प्रजिअ पन्तले भने,‘ तीजमा माईती लिन आउने र त्यहाँ पुगेर दुख बिर्साउने पर्व तीज हो ,तर कार्यस्थलमा खटिएका महिलाहरु यसबाट दुखित हुनुपर्छ,यसैलाई हामीले सम्वोधन मात्रै गरेका हौं ।’

पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले तीज पर्वलाई अनुशासित र मर्यादित बनाउनु पर्ने बताए । अध्यक्ष थकालीले विगतका तीजमा दुख र वेदनाका गीतका आवान गुन्जिने गरेकोमा पछिल्लो अवस्थामाा तीजलाई भड्किलो र भद्दा मजाक बनाउने संस्कृति हावी भईरहेको टिप्पणी गरे ।

 जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित दरखाने कार्यक्रम र शुभ—कामना आदान प्रदान कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत झन्डै २ सय महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुले उपस्थिती जनाएका थिए ।


प्रतिक्रिया