सातौं पटक म्याद थपिंदा समेत (कोवाङ—जोमसोम) सडक अलपत्र

यहाँ स्थित उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङदेखि घरपझोङ—४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नतिकार्य फेरी अलपत्र परेको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला ) सडक आयोजना अन्तर्गत सुरु गरिएको (बेनी—जोमसोम)७४ किलोमिटर सडकको चौथो सडक खण्ड निर्माण कम्पनीको पटक पटकको चरम ढिलासुस्ती र वेवास्ताका कारण सडक स्तरोन्नतिको काम फेरी पनि अलपत्र पर्दैआईरहेको हो ।

बेनी—जोमसोम सडक अन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भईसकेर आयोजनालाई हस्तान्तरण भईसकेको छ । तर, यहाँको कोरलानाका जोड्ने कोवाङ—जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भईसक्दा निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य अलपत्र पारेको आयोजनाले जनाएको छ ।

त्रिदेशीय व्यापारिक मार्गको रुपमा विस्तार गर्ने उद्देश्यले तत्कालिन सरकारले नेपाल—चिन कोरलानाका जोड्ने बेनी—जोमसोम—कोरला सडक आ.व. २०७३÷०७४ सालदेखि सुरु गरेको थियो । सोही अनुसार यहाँ स्थित कोवाङ—जोमसोम १७ किमी चौथो खण्ड ७० करोड लागतमा आयोजनासंग ठेक्का सम्झौता भई काम अघि बढाईएको थियो ।

यहाँ स्थित निर्माणधिन कोवाङ—जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिकार्यका लागि पप्पु गौरी पार्वती ,कोशी एण्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने भनिएको भएपनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दा समेत निर्माण कम्पनीले सडक स्तरोन्नति कार्य सम्पन्न गर्न सकेको छैन ।

ठेक्का सम्झौता हुँदाको सुरुवाती अवस्थामा जोईन पार्टनर कोशी एण्ड न्यौपानेले कोवाङ—जोमसोम सडक निर्माणको जिम्मा लिएको भएपनि उक्त जोईन पार्टनरले सडक निर्माणको कामलाई गति दिन नसकेपछि जेभीको जोईन मुख्य पार्टनर पप्पु गौरी पार्वती सडक निर्माण सम्पन्न गर्न काममा फर्किएको थियो । तर, पप्पु गौरी पार्वती काममा फर्किएको दुई वर्ष बितिसक्दा समेत आकल झुकल काम गरेको जस्तो देखिएपनि उक्त कोवाङ—जोमसोम सडक फेरी अलपत्र परेको हो ।

कोवाङ —जोमसोम सडक स्तरोन्नतिकार्य ठेक्का सम्झौता भएदेखि हालसम्म खन्तीदेखि—टुकुचे स्थित थापाखोलासम्म ,टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्रेकार्य सकिएको आयोजनाले जनाएको छ । यसैगरी मुस्ताङको  स्याङ गाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको सडक सकिएको छ । जोमसोम प्रादेशिक अस्पतालदेखि जोमसोम पक्की पुलसम्मको समग्र करिव १५ किलोमिटर सडकको कालापत्रे विस्तारकार्य सम्पन्न भईसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङको टुकुचे गाउँ भित्रको सडक, मार्फा पुलदेखि स्याङ पुछारसम्म र जोमसोम बजारको नेपाली सेनाको ब्यारेक अगाडीको सडक गरी करिव २ किलोमिटर सडक निर्माणधिन अवस्थामा रहेको भएपनि काम अघि बढ्न नसकेको आयोजना प्रमुख शर्माको भनाई छ ।

निर्माधिन सडक अन्तर्गत जोमसोमको नेपाली सेनाको ब्यारेक अगाडी कालोपत्रका लागि फिलिङका गर्न माटो थुपारिएकाले सवारी आवागमन समेत समस्या परेको छ । यसैगरी कालोपत्र ढिलाई हुँदा त्यहाँ स्थित नेपाली सेनालाई धुवा धुलोले समेत असर पु¥याएको देखिन्छ ।

 यसअघि कोरलानाका जोड्ने (कोवाङ—जोमसोम¬) सडक निर्माण बैशाख महिना भित्र सम्पन्न गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । तर, प्रशासनको उक्त निर्देशनलाई  बेवास्ता गर्दै निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र पारेको हो ।

यहाँको कोवाङ—जोमसोम सडकको निर्माण कम्पनीले गत कार्तिक महिनादेखि कुल ठेक्का सम्झौताको (०.०५) प्रतिशत हुने गरी दैनिक हर्जाना लाग्ने गरी जरिवाना रकम तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । यहाँको (कोवाङ—जोमसोम) खण्डको सातौं पटक म्याद थप भईसकेको र हर्जाना जरिवाना रकमको अवधि २०० दिने रहने बताउँनुभयो । ‘चैत्र महिनासम्म अन्तिम डेढ लाईन छ, त्यो अवधिसम्म जरिवाना रकम बुझाएर सडकको अधुरो काम सुरु गर्नुपर्ने हुन्छ, आयोजना प्रमुख शर्माले भन्नुभयो,‘ यदी त्यसो हुन नसकेमा निर्माण कम्पनीसंगको ठेक्का सम्झौता भंग हुन्छ र नयाँ ठेक्का प्रक्रियामा जानेछ ।’

 निर्माण कम्पनीको चरम ढिलासुस्तीले अलपत्र परेको (कोवाङ—जोमसोम) सडकलाई छिटो भन्दा छिटो सम्पन्न गर्न आयोजनाले ठेक्का सहमति तोडेर नयाँ ठेक्का खुलाउन विभागसंग सहमति माग भएपनि सहमति प्राप्त नभएको आयोजना प्रमुख शर्माको भनाई छ । दैनिक हर्जाना तोकिएको कोवाङ—जोमसोम अलपत्र सडकको सरकारले सार्वजनिक खरिद ऐन संशोधन नल्याएमा निर्माण कम्पनीले ठेक्का सम्झौता लागत १० प्रतिशत जरिवाना आयोजनालाई बुझाउनु पर्ने आयोजना प्रमुख शर्माको भनाई छ ।

 निर्माणधिन अलपत्र कोवाङ—जोमसोम सडक निर्माणमा प्रयोग भएका उपकरणहरु थन्क्याएको अवस्थामा रहेको छ । सडक निर्माणकार्यका लागि खटिएका जनशक्तिहरु काममा फर्किएका छैनन् ।


प्रतिक्रिया