कोरला सडकको हिउँ पन्छ्याउँदै सशस्त्र प्रहरी

जोमसोम ।

शनिबार बिहान परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ स्थित कोरला सडक अवरुद्ध भएको छ । सडकमा दुई फिट बढी हिउँ जमेका कारण कोरला सडक अवरुद्ध भएको हो ।

कोरला सडकमा बाक्लो हिउँ जमेका कारण त्यहाँ स्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल नेपालको (बिओपी)का सुरक्षाकर्मीले सडकको हिउँ पन्छ्याएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का निमित्त ईञ्चार्ज सशस्त्र प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ११ जना सशस्त्र प्रहरी टोलीले कोरला सडकमा जमेको हिउँ पन्छ्याएका सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गुल्मपति प्रहरी नायव निरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरीले लोमान्थाङ—२ छोसेर न्हेचुङ स्थित सडकबाट कोरलानाकाको २४ नंं सीमास्तम्भसम्मको १४ किलोमिटर दुरीमा जमेर बसेको हिउँ पन्छ्याईएको हो । बिओपीका सशस्त्र प्रहरीका सुरक्षाकर्मीको टोली घरेलु उपकरण साबेल,गैची र अन्य सामग्री प्रयोग गरेर अवरुद्ध सडक संञ्चालनमा ल्याएको छ ।

यसैगरी गरी छोसेर स्थित बिओपीका सशस्त्र प्रहरी टोलीले मुस्ताङ भन्सार कार्यालय र बिओपी भवन परिसरमा थुप्रिएको हिउँ पन्छ्याएर सफा गरेको प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ ।

यसैगरी माथिल्लो मुस्ताङमा भारी हिमपात भएका कारण उपल्लो मुस्ताङ क्षेत्रमा यात्रा गर्ने पर्यटक यात्रुहरुलाई उच्च सर्तकता अपनाएर मात्रै यात्रा गर्न सूचित अनुरोध गरेको छ ।

शनिबार बिहान माथिल्लो मुस्ताङका दुई पालिकामा भारी हिमपात भएको छ भने तल्लो मुस्ताङ क्षेत्रमा आशिंक हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।





प्रतिक्रिया