अत्यधिक चिसो बढेसंगै मुस्ताङका शैक्षिक संस्था दुई महिनाका लागि बन्द

हिउँदयाम मौसमसंगै को अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा संञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँ स्थित माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन् ।

 अत्यधिक चिसो बढेसंगै यहाँका तीनपालिकामा संञ्चालनमा रहेका सरकारी सामुदायिक,संस्थागत र गुम्बा विद्यालयहरुमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिनुभयो । ईकाई प्रमुख लामिछानेका अनुसार यहाँ स्थित माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कार्तिक अगावै घुम्ती कक्षा चलाउन बेसी झरेको र यहाँको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द भएको छ । ईकाई प्रमुख लामिछानेले बताएअनुसार यहाँको तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन संञ्चालन गरिने छ । तर, माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरुले बिद्यार्थीहरुलाई बेसीको पारिलो स्थानमा राखेर शैक्षिक पठनपाठन संञ्चालन गरिराखेको ईकाई प्रमुख लामिछानेले उल्लेख गर्नुभयो ।

यहाँका शैक्षिक संस्थाहरुले हिउँदयामको जाडो मौसममा संम्भावित हिमपात र अत्यधिक चिसोका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाहरुले हिउँदयाममा दुई महिना बिद्यालय बन्द गरी बिद्यार्थीहरुलाई हिउँदे जाडो बिदा दिने प्रचलन रहेको छ ।

 यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख  रेखा पन्तका अनुसार यहाँ पालिकामा रहेका तीन सरकारी सामुदायिक र एक गुम्बा विद्यालय गरी चार वटा सरकारी तथा गुम्बा बिद्यालयहरु अत्यधिक चिसोका कारण दुई महिना अर्थात साठी दिनका लागि हिउँदे बिदा दिने अनुमति प्रदान गरिएको बताउँनुभयो । प्रमुख पन्तका अनुसार यहाँका सरकारी विद्यालयहरु पुसको ८ गतेदेखि फागुन ८ गतेसम्मका लागि जाडो बिदा दिने गरी छुसाङ, कागबेनी, र झारकोटमा रहेका शैक्षिक संस्था पूर्ण रुपमा बन्द भईसकेको जनाउँनुभयो । यहाँ शिक्षकहरुका लागि सरकारी बिदा ४५ दिन , ५ दिन स्थानीय बिदा र १० दिन सार्वजनिक बिदामा समेत अध्यापन गराए वापत दुई महिना बिद्यालय बन्द गर्ने प्रस्ताव स्वीकृत गरिएको उहाँको भनाई छ ।

यहाँ स्थित घरपझोङ गाउँपालिकामा संञ्चालनमा रहेका सरकारी सामुदायिक,निजी संस्थागत र गुम्बा बिद्यालयहरु अत्यधिक चिसो बढेका कारण दुई महिनाका लागि बिद्यालय बन्द गरेको शिक्षा शाखा प्रमुख शिव पुरीले बताउँनुभयो । प्रमुख पुरीका अनुसार घरपझोङ गाउँपालिकामा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सकेर  पुस १५ गतेदेखि फागुन २० गतेसम्मका लागि बिद्यार्थीहरुलाई हिउँदे बिदा दिईएको बताउनुभयो । यहाँ बिद्यालयहरुमा बिद्यार्थीलाई जाडो बिदा दिएतापनित यहाँका शिक्षक÷शिक्षिका र शैक्षिक प्रशासन शाखा भने पुस २० गतेपछि मात्रै बन्द हुने शिक्षा शाखा प्रमुख गिरीको भनाई छ ।

यसैगरी यहाँको थासाङ गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था पनि अत्यधिक चिसोका कारण बन्द भएको त्यहाँका शिक्षा शाखा प्रमुख धर्म खनालले जानकारी दिनुभयो । यहाँका सामुदायिक निजी र गुम्बा बिद्यालयहरुलाई  फागुन एक गतेदेखि बिद्यालय खुल्ने गरी ४५ दिनका लागि हिउँदे बिदा दिइएको उहाँको भनाई छ ।

योसंगै यहाँ स्थित घुम्ती कक्षा संञ्चालनका लागि बेसी नझरेका मुस्ताङको तीन पालिकाका गरी  १९ वटा सरकारी सामुदायिक,निजी र धार्मिक गुम्बा बिद्यालयहरु अत्यधिक चिसोका कारण बन्द भएका हुन् । यहाँको वारागुङ मुक्तिक्षेत्रमा ४ वटा, घरपझोङमा ८ वटा र थासाङ गाउँपालिकामा ७ वटा बिद्यालयहरु चिसो मौसमका कारण बन्द भएका हुन् ।

यसअघि माथिल्लो मुस्ताङ स्थित लोमान्थाङ गाउँपालिकाका तीन सामुदायिक र चार  वटा गुम्बा बिद्यालय अत्यधिक चिसोका कारण कार्तिक अगावै साविक स्थानको बिद्यालयले छोडेर पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा चलाईरहेका छन् । माथिल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका तीन सामुदायिक र दुई धार्मिक गुम्बा बिद्यालय पनि जाडो छल्न बेसी झरिसकेका छन् ।

प्रतिक्रिया