नेपाल—चिन मुस्ताङको उत्तरी कोरलानाकाको दशगजा क्षेत्रमा अतिआवश्यक भौतिक पूर्वाधार नहुँदा त्यहाँ हाट बजार गरी बस्ने स्थानीय व्यापारी तथा कोरलानाका अवलोकन गर्न जाने पर्यटकहरुलाई समस्या हुने गरेको छ । वि.स. २०८० साल कार्तिक २७ गते औपचारिक रुपमा संञ्चालनमा आएको (नेपाल—चिन) उत्तरी कोरलानाकामा हालसम्म पनि पूर्वाधार नहुँदा विभिन्न प्रकारका समस्या र चुनौतिहरु विद्यमान रहेको छ ।
दुई वर्षअघि माथिल्लो मुस्ताङका नागरिकहरुका लागि सञ्चालनमा आएको कोरलानाका गत भदौं ३१ गतेदेखि भन्सार विभागले पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो । तर, नाका पूर्ण रुपमा संञ्चालनमा आएपनि कोरलानाकामा बाह्रै महिना ब्यापार चलाएर बस्ने व्यापारी तथा सर्वसाधारण पर्यटकहरुलाई आवश्यक भौतिक संरचना निर्माण नहुँदा विभिन्न प्रकारका समस्याहरु देखा परेको हो ।
कोरलानाका संञ्चालन नहुँदा सामान्य खेतीपाती तथा पशुपालन व्यवसायी गरी बसेका त्यसक्षेत्रका सीमावर्ती बासिन्दाहरुको आयआर्जनको ढोका उघ्रिएको छ । यद्यपी सरकारले अन्तरदेशीय कोरलानाकालाई समय सापेक्षिक ढंगले आवश्यक व्यवस्थापन तथा भौतिक संरचनामा चाँसो दिन नसक्दा त्यहाँ बसेका स्थानीय ब्यापारी र कोरलानाका पुग्ने पर्यटकहरुलाई अनेकन समस्या र चुनौतिहरु व्यवहोर्नु परेको हो ।
नेपाल—चिन कोरलानाकाको दशगजा क्षेत्रको सुख्खा पठार क्षेत्रमा सीमावर्ती क्षेत्रका स्थानीय नागरिकहरुले त्रिपाल टाँगेर बैकल्पिक पेशा व्यवसाय चलाएर बसेका छन् । कोरलानाकामा लोमान्थाङ गाउँपालिकाका ५ वटै वडा करिव एक सय घरधुरीले त्रिपाल (टेन्ट) टाँगेर व्यापारिक प्रयोजनार्थ पसल चलाएर बसेको कोरला स्थित त्रिपाल व्यवसायी समितिका अध्यक्ष ङवाङ खेटु गुरुङले जानकारी दिनुभयो । यसैगरी लोघेकर दामोदरकुण्डबाट एक घरधुरी पनि कोरलानाकामा त्रिपाल टाँगेर व्यापार चलाएर बसेको समिति अध्यक्ष गुरुङको भनाई छ । कोरलानाका सञ्चालनमा आएपछि झन्डै पाँच सय बढी स्थानीय नागरिकहरुले रोजगारी प्राप्त गरिरहेको समिति अध्यक्ष गुरुङले बताउँनुभयो ।
यसैगरी कोरलानाकामा त्रिपाल टाँगेर बस्ने एक सय घरधुरी बाहेक सिमापारी चिनतर्फको लिजी बजारमा नेपालतर्फको करिव ६० घरधुरीले नेपाली उत्पादन बिक्री गर्न हाट बजार चलाएर बसेका हुन् । नाका पूर्ण रुपमा सञ्चालनमा आएपछि झन्डै ७० भन्दा बढी स्थानीय युवाहरुले ट्रक चलाउने काम पाएका छन् । कोरलानाकाबाट चिन प्रवेश गर्ने पास भएका व्यक्तिलाई मात्र चिनले प्रवेश अनुमति दिईने भएकाले सिमावर्ती युवाहरुले नेपाल—चिन आयात÷निर्यात गरिने ट्रक तथा कन्टेनर भित्र बाहिर निकाल्ने अस्थायी रोजगारी पाएका हुन् । नाकामा मालवाहक कन्टेनरहरुलाई लाने ल्याउने स्थानीय ट्रक चालकलाई व्यस्थित गर्न कोरला ट्रक डाईभर (सिजी) समुह गठन गरी व्यवस्थित गरिएको छ । यसैगरी कोरलानामा आयात÷निर्यात गरिने सामानहरुको लोड अनलोडका लागि झन्डै ८० भन्दा स्थानीय नागरिकहरुले वैकल्पिक रोजगारी प्राप्त गरेका छन् ।
हिउँदयामको प्रतिकूल मौसम बाहेक जोमसोम÷कोरला सडकमार्ग हुँदै अनुकुल याममा दैनिक तीन सय देखि तीन हजार सम्म आन्तरिक पर्यटक कोरलानाकाको अवलोकन गर्न पुग्छन् । कोरलानाका अवलोकन गर्न आएका नेपाली पर्यटकहरुलाई चिनिया सामान कोशेलीको रुपमा बिक्री गर्न त्रिपाल टाँगेर हाटबजार संञ्चालन भईरहेको हाट बजार व्यवस्थापन समिति अध्यक्ष ङवाङ खेटु गुरुङको भनाई छ । सिमापारी नेपालीहरुले स्वदेशी उत्पादन गर्न हाट बजार चलाएर बस्ने गरेको समिति अध्यक्ष गुरुङको भनाई छ ।
नेपाल—चिन कोरलानाकाको दशगजा क्षेत्रदेखि दक्षिण १४ किमी यता लोमान्थाङ—२ न्हेचुङमा मुस्ताङ भन्सार कार्यालय छ । त्यहाँ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र छोसेर प्रहरी चौकी बसेको छ । न्हेचुङमा बसेका सशस्त्र प्रहरी र जनपथ प्रहरीले आलोपालो २÷४ जनाको समुह मिलाएर कोरलानाकाको दशगजा क्षेत्रमा सुरक्षाका लागि खटिने गरेको पाईएको छ । कोरला क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती गर्ने गरेको छ ।
कोरलानाको दशगजा क्षेत्रको सिमापारी चिनले भन्सार अध्यागमन लगायत ठुला ठुला व्यापारिक प्रतिष्ठान भवन निर्माण गरिसक्दा समेत नेपालतर्फ कोरलानाकाको दश गजा क्षेत्रमा कुनै पनि स्थायी भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । नाकामा केही वर्षअघि प्रदेश सरकारले ५० लाख बजेट खर्चिएर एसवाई प्यानलको अध्यामन कार्यालय निर्माण गरेको छ । तर, त्यहाँ कुनै पनि कर्मचारी बस्ने गरेका छैनन् भने, अध्यागमन कार्यालय पनि खासै सञ्चालनमा आउन सकेको छैन ।
नेपाल—चिन कोरलानाकामा सयौ स्थानीय ब्यापारीहरुले ब्यापार गर्न हाट बजार चलाएर बस्ने गरेको र कोरलानाकामा दिनहु सयौ पर्यटक अवलोकनका लागि जाने गरेको भएपनि नाकामा भरपर्दो बिद्युत सेवा ,खानेपानी र शौचालयको व्यवस्था हुन नसक्दा विभिन्न प्रकारका समस्या र चुनौति झेल्नु पर्ने अवस्था रहेको हाट बजार व्यवस्थापन समिति अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । नाकामा खानेपानीको सुविधा नहुँदा १४ किलोमिटर यता न्हेचुङबाट खानेपानी ढुवानी गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष गुरुङको भनाई छ ।
यसैगरी नाकामा व्यवस्थित शौचालयको सुविधा नहुँदा स्थानीय ब्यापारी तथा पर्यटकहरुलाई सास्ती हुने गरेको र यसले सिमानाका क्षेत्रमा फोहोर प्रदुषण बढाउने गरेको उहाँको भनाई छ । यस्तै, नेपाल बिद्युत प्राधिकरणले कोरलानाकासम्म बिद्युत लाईन बिस्तार गरेको भएपनि हाफ लाईन बिद्युत प्रवाह र हाट बजार चलाउने ब्यवसायी बसेको त्रिपालमा बिद्युत वितरण हुन नसकेको अध्यक्ष ङवाङ खेटु गुरुङको दुःखेसो छ ।
विगत दुई वर्षदेखि कोरलानाकामा हाट बजार चलाएर बसेका स्थानीयले हाट बजार सञ्चालनका लागि व्यवस्थित पूर्वाधार नहुँदा हावाहुरी,धुलोमैलो र हिमपात लगायतको सामना गर्नुपर्ने अवस्था रहेको छ । नाकाको व्यवस्थित पूर्वाधार निर्माणका लागि लोमान्थाङ गाउँपालिका र प्रदेश सरकारको ध्यानाकर्ष गराईएको समिति अध्यक्ष गुरुङको भनाई छ । कोरलानाकामा दिनहु सयौै पर्यटकहरु आउने भएकाले त्यहाँ आएका पर्यटकहरुलाई हाईअल्टिच्युड लाग्ने समस्या रहेकाले नाकामा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गर्नुपर्ने आवश्यक रहेको स्थानीय व्यवसायी पेमा युटिन गुरुङले औल्याउनु भयो । समून्द्री सतहको (४६१०) मिटरको उचाईमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्यटक तथा आयात÷निर्यातमा आउने जनशक्तिको स्वास्थ्य रक्षाका लागि हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गर्न सम्वन्धित निकायमा जानकारी गराईएको हाटबजार व्यवसायी गुरुङको भनाई छ ।
नेपाल—चिन उत्तरी कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले मुस्ताङको फलफूल तथा कृषि उपजको बजारिकरणलाई असर नपुग्ने गरी नेपाल—चिन फलफूल तथा कृषि उपजको आयात÷निर्यातलाई सहज बनाउन सकेमा सिमावर्ती क्षेत्रमा काम गरेका ट्रक चालक समुहलाई थप आयआर्जनको अवसर प्राप्त हुने उहाँको भनाई छ ।
यता, लोमान्थाङ गाउँपालिकाले चालु वर्षका लागि नेपाल—चिन कोरलानाकामा बोरिङ गरेर खानेपानीको ब्यवस्था मिलाउन ३५ लाख लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । यसैगरी नाकामा व्यवसायी र पर्यटकहरुको सुविधाका लागि व्यवस्थित शौचालय निर्माण गर्न १० लाख बजेट विनियोजन भएको अध्यक्ष गुरुङको भनाई छ ।
यसैगरी कोरलानामा ब्यापार गरी बस्ने हाट बजार व्यवसायीहरुलाई व्यवस्थित गर्न चालु वर्ष ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवईन्जिनीयर जगदीशचन्द्र जोशीले जानकारी दिनुभयो । सवईन्जिनीयर जोशीले कोरलानाकाको दश गजा क्षेत्रमा एक हजार रोपनि जग्गा भन्सार कार्यालयको नाम दर्ता भईसकेकाले प्रदेश सरकारले निर्माण गर्ने हाट बजार पूर्वाधार निर्माण गर्न भन्सार विभागको सहमति आवश्यक रहेको औल्याउनु भयो । यसका लागि भन्सार विभागको स्वीकृती लिन गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयलाई मौखिक जानकारी गराईएको सवईन्जिनीयर जोशीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली