सरेबुङ पासका १४ पदयात्री सम्पर्कमा आए

यहाँको लोघेकर दामोदरकुण्ड—४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास निस्किएका १४ जना पर्यटक पदयात्री केहीबेर अघि मुस्ताङ प्रशासनको सम्पर्कमा आएका छन् ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार सरेबुङ पास प्रस्थान गरेको तीन जना अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि मात्रै सम्पर्कमा आएका हुन् ।

दुई साता अघि हिमालयन एडभेन्चर ट्राभल्स मार्फत काठमान्डौंबाट सरेबुङ हुँदै मनाङको फु गाउँको पदयात्रामा निस्किएका उनीहरु अक्टोबर २६ तारिखमा लोघेकर दामोदरकुण्ड—४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए । त्यसपछि उनीहरु तीनदिनसम्म फोन सम्पर्कमा नरहेको हिमालयन एडभेन्चरले जनाएको थियो । जिल्ला प्रशासन कार्यालयलाई पनि बिहिबार साँझ सेरबुङ पदयात्री सम्पर्कविहिन रहेको जानकारी गराईएको थियो ।

त्यसपछि शुक्रबार मात्रै उक्त पदयात्री टोलीका पथप्रर्दशक टोली मध्येका एक जनाले हिमालयन एडभेँन्चरका प्रतिनिधिलाई टेलिफोन सम्पर्क गरिएतापनि कुराकानी स्पष्ट नभएको जनाईएको थियो ।समुन्द्री सतहको ६ हजार मिटरको सरेबुङ पास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजना बनाएका उक्त पदयात्री टोली लोघेकर दामोदरकुण्ड—४ याराबाट दामोदरकुण्ड प्रस्थान गर्दाकैदिन मंगलबार भारी हिमपात भएको थियो ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार सरेबुङ पदयात्रामा निस्किएका तीन विदेशीसहित १४ जना पदयात्री भारी हिमपातका कारण तीनदिनसम्म दामोदरकुण्ड धर्मशालामा सुरक्षित बसेको र शुक्रबार साँझ मात्रै दामोदरकुण्डबाट सरेबुङ पास जान नसकी पुनः सुरक्षित रुपमा पैदल हिडेर यारा गाउँमा आईपुगेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुसालले उच्च स्थानमा रहेको धार्मिक तिर्थस्थल दामोदरकुण्डमा रहेको तिर्थयात्री धर्मशालामा खाने र बस्ने सुविधा भएकाले सम्पर्कविहिन रहेका पदयात्रीहरुलाई सुरक्षित रहन सहज भएको बताउँनुभयो । त्यहाँको धर्मशालामा तिर्थ यात्रीहरुका लागि त्यहाँ बसेर खानका लागि बन्दोवस्तीका सामाग्री राखिएकाले अप्ठ्यारो परिस्थितीको सामना गर्न  सजिलो भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया