कोरला सडक अवरुद्ध हुँदा बिचल्लीमा परेका २५ यात्रुको उद्दार

जोमसोम— कोरला सडक अवरुद्ध हुँदा बिचल्लीमा परेका २५ जना यात्रुको उद्दार गरिएको छ ।वारागुङ—४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङ र वारागुङ—३ का वडाध्यक्ष बिनोद गरुङसहित सुरक्षा निकायको पहलमा कोरला सडकमा बिचल्लीमा परेका यात्रुहरुको सकुशल उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यहाँका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको पहलमा वारागुङ—३ ताङ्वेबाट १७ जना र छुसाङबाट ८ जना यात्रुहरुको रातिको समयमा सकुशल उद्दार गरिएको हो । सडक अवरुद्धका कारण सडकमा अलपत्र परी बिचल्लीमा परेका यात्रुहरुको उद्दार गरी गन्तब्यतर्फ पठाईएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।

बुधबार बिहानबाट निरन्तर परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । जोमसोम—कोरला सडकखण्ड अन्तर्गत ताङ्वे र एक्लेभट्टी स्थित कोरला सडकमा पहिरो खसेपछि पूर्ण रुपमा सडक अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।

मुस्ताङमा बिहानैदेखि निरन्तर वर्षा भईरहेको र यहाँको दुई स्थानका सडकमा पहिरोले सडक अवरुद्ध भएको हुँदा जोखिम मोलेर यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय अनुरोध गरेको छ । 


प्रतिक्रिया