हिमपातले अवरुद्ध मुक्तिनाथ सडक सञ्चालन

जोमसोम ।

भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुस्ताङको (कागबेनी—मुक्तिनाथ) सडक शुक्रबार बिहानदेखि सूचारु भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा (कागबेनी—मुक्तिनाथ) अवरुद्ध सडक संञ्चालनमा ल्यार्ईएको हो ।

मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहिबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ सडकमा जमेको बाँक्लो हिउँ सफा गर्न कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको जेसीबी डोजर परिचालन गरिएको छ । 

यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याए सडक सूचारु गराउन मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त सुरक्षा टोली परिचालित गरिएको थियो । यसैगरी अवरुद्ध सडक खुलाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङ, र वडाध्यक्ष कर्माघ्याचो गुरुङ लगायतका स्थानीय जनप्रतिनिधि परिचालित भएका थिए ।

भारी हिमपातका कारण अवरुद्ध सडक संञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार अवरुद्ध सडक खुलाईएको भएपनि कतिपय घाम नलाग्ने ओसिलो स्थानमा हिउँ ढुंगा जस्तै सारो हुने गरी जमेकाले टु ह्वीलर सवारी र हेभी सवारी साधनलाई मुक्तिनाथ उक्लिन समस्या रहेको बताउँनुभयो ।

 जिल्ला प्रहरी कार्यालय बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारी साधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारी लैजान अनुरोध गरेको छ ।

 भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुक्तिनाथ सडक संञ्चालनमा आएसंगै मुस्ताङको कागबेनीमा रोकिएका सवारी साधनहरु गन्तब्यमा प्रस्थान गरेका छन् । पून ः हिमपात नभएमा केहीदिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र—४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिनुभयो ।


प्रतिक्रिया