माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ मुस्ताङमा
जोमसोम— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ लगायतका नेताहरु बुधबार म्याग्दीको बेनी हुँदै मुस्ताङ आउँनु भएको छ । नेकपा (माओवादी केन्द्रको जनतासंग माओवादी (जनजागरण) अभियानका क्रममा अध्यक्ष ‘प्रचण्ड‘ र महासचिव देव गुरुङ लगायतका दर्जनौ नेता कार्यकर्ताहरु सडकमार्ग हुँदै मुस्ताङ आउँनु भएको हो ।
अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ लगायत माओवादी केन्द्रका शिर्ष नेताहरुलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल र माओवादी जिल्ला समन्वय समिति ईञ्चार्ज धिरेन्द्र बिक लगायत जिल्ला स्थित चार वटै सुरक्षा निकाय प्रमुखहरुले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गर्नु भएको थियो ।
अध्यक्ष दाहालले सोही क्रममा राष्ट्रिय गौरवको बेनी—जोमसोम ७४ किमी सडकको समेत स्थलगत अवलोकन गर्नु भएको छ । त्यस क्रममा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लगायतका नेताहरुले लामो समयदेखि निर्माणकार्य अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका ३ र ्५ जोड्ने लेते—कुञ्जो मोटरेबल पुलको स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भएको माओवादी केन्द्र जिल्ला समिति ईञ्चार्ज धिरेन्द्र विकले जानकारी दिनुभयो । अध्यक्ष ‘प्रचण्ड’लाई थासाङ स्थित कुञ्जो ताक्लुङ लगायतका जनताले पुल नबेकोप्रति गुनासो राखेका थिए । अध्यक्ष ‘प्रचण्ड’ले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफु र पार्टीले अधिकतम पहल गर्ने बताउँनुभयो ।
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लगायतका नेताहरुले गण्डकी प्रदेशकै पहिलो धौलागिरी प्राविधिक शिक्षालयको अवलोकन तथा निरीक्षण गर्नु भएको शिक्षालयका प्रिन्सिपल खड्गबहादुर सुब्बाले जानकारी दिनुभयो । अध्यक्ष ‘प्रचण्ड’ लगायतका नेताहरुलाई शिक्षालयको विस्तृत जानकारी दिदै शिक्षालयका प्रिन्सिपल सुब्बाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । अध्यक्ष ‘प्रचण्ड’ शिक्षालय प्रवेश गर्दा त्यहाँबाट देखिने धौलागिरि हिमाल र निलगिरी हिमालको दृष्यावलोकन गर्न पाउँदा मोहित हुनु भएको प्रिन्सिपल सुब्बाको भनाई छ ।
यसैक्रममा अध्यक्ष ‘प्रचण्ड’लाई थासाङ गाउँपालिकाको कोवाङ, टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फा र स्याङ लगायतका गाउँहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय नागरिकहरुले भव्य स्वागत गरेका थिए । मुस्ताङको माफौ स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको समेत स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ड’लाई माओवादी केन्द्रका मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामा लगायतका जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । अध्यक्ष‘प्रचण्ड’ले आजै नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी (जनजागरण) अभियानका क्रममा माओवादीको मुस्ताङ जिल्ला समन्वय समिति तथा पालिका समन्वय समितिलाई शपथग्रहण तथा पार्टी प्रशिक्षण गर्नु हुने ईञ्चार्ज कपिल लामाले बताउँनुभयो ।
यसै क्रममा अध्यक्ष प्रचण्डले जिल्ला स्थित कार्यालयहरुसंग छलफल तथा अन्तरक्रियाका साथै नागरिक सम्वाद गर्नु हुने कार्यक्रम रहेको ईञ्चार्ज लामाले उल्लेख गर्नुभयो । अध्यक्ष ‘प्रचण्ड’ले बिहिबार नेकपा (माओवादी केन्द्र) मुस्ताङको पार्टी कार्यालय भवन शिलन्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ङुटुक गुरुङ (टाईगर)ले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली